प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३
ललितपुर । एक सयवर्ष पुराना सामग्री समेटेर हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) सङ्ग्रहालयमा परिणत हुने भएको छ ।
महाविहारको माथिल्लो तलामा स्थानीयवासीले बुझाएका बौद्ध र हिन्दू धर्मसँग सम्बन्धित धेरै बस्तु छन् । महाविहार संरक्षण समितिका अध्यक्ष विकासरत्न धाख्वाले भने , “दाजुभाई छुटिँदा पनि कतिपय धार्मिक सामग्री यहाँ नै राख्न दिएका छन् ।’’ निजी गुठीले पनि गुठीमा नियमित प्रयोगमा ल्याउन नसकेका सामग्री महाविहारमा नै बुझाउने गरेका छन् ।
महाविहारले झन्डै एक सताब्दिदेखि सङ्कलन गर्दै आएका सामग्रीे पर्यटकलाई समेत देखाउने उद्देश्य रहेको छ भन्दै उनले छोटो समयका लागि महाविहार आउने पर्यटकको बसाइ सङ्ग्रहालयले बढाउँछ भने ।
यो महाविहार उपत्यकाको तेस्रो पुरानो महाविहारमा पर्दछ । यो सबैभन्दा बढी संङ्घ(सदस्य) भएको महाविहार हो । पाटन दरबारस्क्वारमा आउने मात्रै नभएर भारत, चीन लगायतका मुलुकबाट महाविहार नै आउने धार्मिक पर्यटक पर्यटक कम्तीमा दुई घन्टा गोल्डेन टेम्पल घुम्ने आशा अध्यक्ष धाख्वाको छ ।
हिरण्य नामक मुसाले संरक्षण गरेकाले यो विहारलाई हिरण्यवर्ण महाविहार भनिएको किम्बदन्ती छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij