प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३
सुर्खेत । गाविस सचिव कार्यालयमा नबस्दा गाविसवासीहरु सामान्य भन्दा सामान्य सेवाको लागि पनि मर्कामा परेको गुनासो आउने गरेका छन् ।
गाविस सचिवहरु गाविस कार्यालयमा भन्दा सदरमुकाममै बढि बस्ने गरेकाले सामान्य कामका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको उनीहरुले गुनासो गरेका छन् । प्रशासनले दिएको आदेशलाई अटेर गर्दै गाविस सचिवहरु सदरमुकाममै बसेर सेवा दिने गरेका छन् ।
पछिल्लो समय यसको सिकार बनेका छन्, सुर्खेत जिल्ला पाम्का गाविसका डिलबहादुर खड्काका परिवार । डिलबहादुरका डेढ वर्षिय छोरा यमन खड्का शारीरिक रुपमा अशक्त छन् ।
डिलबहादुरले आफ्ना छोरा यमन खड्काको जन्मदर्ता बनाउनको लागि गाविसका सचिवलाई भेट्नका लागि पटकपटक गरेको प्रयास पनि असफल भएको छ । आफुले सेवा खोजेको समयमा पाम्का गाविसका सचिव कार्यालयमा उपस्थित नभएको डिलबहादुर खड्काले गुनासो गरेका छन् ।
आर्थिक अभावका कारण डिलबहादुरले आफ्नो छोरा यमनको उपचार गर्नका लागि उपर्युक्त अस्पतालमा लैजान नसकेको भन्दै, जन्मदर्ता बनाउन पाए छोराको उपचारमा केही सहुलियत मिल्थ्यो भन्ने आशा रहेको खत्रीको भनाई रहेको छ ।
उनले गाविस सचिव कार्यालयमा नबस्नुको पिडा पोख्दै भने, ‘आजसम्म गाविस सचिवको नाम के हो ? भन्ने पनि मलाई थाहा छैन, फोन नम्बर चाहिँ छ, फोन गर्दा हामी यहाँ वीरेन्द्रनगरको होटलमा बसेर सेवा दिन्छौँ, यतै आउनुस । यहिबाट सिफारीस तयार गर्दिउँला भनेर गाविस सचिवज्यूले भन्नुभएको छ’, उनले भने। डिलबहादुरका श्रीमान श्रीमती अहिले वीरेन्द्रनगरको व्यस्त शहरमा आफ्नो (पाम्का) गाविसका सचिवलाई खोज्दै हिँडेका छन् ।
जन्मदर्ता बिना महिला तथा बालबालिकाको कार्यालयले अपाङ्ग परिचयपत्र नदिने भएकाले डिलबहादुर छोरा यमनको जन्मदर्ता बनाउनका लागि गाविस सचिवको खोजीमा हिँडेका हुन् ।
यता पाम्का गाविसका सचिव भिमबहादुर ठाडाले भने, आफुहरु गाविसमै बसेर जनतालाई सेवा दिईरहेको भन्दै कहिलेकाही संयोगले भेट नहुनु स्वाभाविक रहेको बताएका छन् ।
गाविसवासीले सचिव गाविसमा नबस्दा सानासाना कामका लागि पनि सदरमुकाम धाउनुपरेको गुनासो गरिरहँदा ठाडाले गाविसमै बसेर सेवा दिने गरेको दाबी गरेका छन् ।
यता जिल्ला विकास समिति सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालले भने, तालिम, गोष्ठि लगायतका अनिवार्य कार्यक्रमहरु बाहेक अन्य समयमा गाविस सचिवहरुले गाविसमै बसेर सेवा दिनुपर्ने बताएका छन् । विनाकारण कुनै पनि गाविस सचिवहरु कार्यालयमा नगई सदरमुकाममा बसेर सेवाग्राहीहरुले सेवा नपाएको गुनासो गरेको खण्डमा आवश्यक छानबिन गरिने लम्सालको भनाई रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij