प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३
काठमाडौ । व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन प्रस्तावलाई स्वीकार नगर्ने अभिव्यक्ति दिएका मधेशी मोर्चाका नेताहरु यतिखेर रक्षात्मक अवस्थामा देखिएका छन् ।
मधेश आन्दोलनको भावना अनुरुप संशोधन प्रस्ताव नआएको भन्दै मोर्चाले आन्दोलनको धम्की समेत दिएको थियो । तर पछिल्लो समय भने मोर्चा संशोधन पास गराउन सकारात्मक बन्दै गएको हो ।
प्रस्तावमा असहमति जनाउँदा एमाललाई आन्दोलन गर्न सजिलो भएको मोर्चाको बुझाई छ।
मंसिर १८ गते विहान नेपालका लागि भारतीय राजदूत रञ्जित रायले र साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि मोर्चाका नेताहरु सकारात्मक बनेको बताइएको छ ।
प्रचण्डसँगको भेटमा मधेशी मोर्चाका नेताहरु अरु दिनको तुलनामा नरम देखिएका थिए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले सविधान संशोधन प्रस्ताव मधेशी मोर्चाले भनेकै जस्तो नआएपनि त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
उनले भने, ‘जेजे मधेशको हकमा आएको छ, त्यसको ‘अनर’ लिँदै बाँकी विषयका लागि संघर्ष गर्नुपर्छ ।’
उनको मात्र होइन, मधेशी मोर्चाका अन्य नेताहरुको पनि यस्तै धारणा आउन थालेको छ । यद्यपी पास गराउनुअघि पेस भएको संशोधन प्रस्ताव केहि परिमार्जन हुनुपर्ने उनीहरुको जोड छ ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले सरकारले ल्याएको प्रस्ताव पास हुनुपर्ने र बाँकीका लागि संघर्ष गर्नुपर्ने बताए ।
उनले भने, ‘मेरो व्यक्तिगत र पार्टीको धारणा सोध्नुहुन्छ भने प्रस्ताव पास हुनुपर्छ, मधेशका लागि सो प्रस्तावमा केही छैन भन्ने होइन, केही नकेही पक्कै छ, त्यो पास गराएर अरु के चाहिन्छ त्यसका लागि लड्नुपर्छ नत्र एउटा लिन खोज्दा अर्को हराउने जस्तो नहोस् ।’
स्रोतका अनुसार सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण समेत संशोधन प्रस्ताव पास हुनुपर्ने पक्षमा छन् ।
उनले आफ्नो पार्टीमा मात्र होइन, मोर्चा र गठबन्धनको बैठकमा समेत प्राप्त उपलब्धीलाई अपनाउँदै बाँकी विषयका लागि अगाडि बढ्नु पर्ने प्रस्ताव राख्दै आएका छन् ।
जानकारहरुका अुनसार प्राप्त उपलब्धीलाई लिँदै बाँकी मागका विषयमा कुरा गर्दै जाने रणनीतिमा मधेशी मोर्चा भएको भए पहिल्यै धेरै उपलब्धी प्राप्त हुन्थ्यो ।
मधेशी मोर्चाले प्रस्ताव पास गराउने कारण
–एमालेका कारण पनि यो प्रस्ताव पास गराउन मधेशी तयार हुने सरोकारवालाहरुले बताउँछन् ।
–जसरी एमाले नेतृत्वको सरकार ढाल्न मधेशी मोर्चा तयार भएर काँग्रेसका तत्कालिन सभापति सुशिल कोइराला र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मतहाल्न तयार भए त्यसरी नै एमालेलाई हराउनका लागि पनि मोर्चाले प्रस्ताव पारित गराउनेछ ।
– मधेशवादी दलले माग गर्दै आएका एक मधेश प्रदेशमध्ये अब पाँच जिल्लामात्रै छुटेको छ । यी पाँच जिल्लाको विवाद मिल्यो भने सिमांकनको विवाद मिल्ने छ ।
–अब पूर्वका झापा, मोरगं र सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुरको विवाद मिलाउन मात्र बाँकी छ ।
–हालको संशोधनमा मधेश जिल्लामा पर्ने नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई मिलाएर मधेशको छुट्टै प्रदेश बनाइएको छ ।
संशोधन प्रस्तावपछिकाे विज्ञप्ति
सरकारले संशोधन प्रस्तावको तयारी गरिरहेकै अवस्थामा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरी त्यसको विरोध जनाए ।
संयुक्त विज्ञप्तिमासंशोधनले राजनीतिमा ठोस समाधान हुनुपर्ने भनिएको थियो ।
सो विज्ञप्तिले मधेशी मोर्चामा मात्र होइन नेपाली राजनीतिमा तरङ्ग नै ल्यायो ।
मंसिर १४ गते सविधान संशोधनको प्रस्ताव दर्ता भएपछि मंसिर १५ मा अध्यक्ष यादवले आफ्नो पार्टीको तर्फबाट पनि संशोधनको प्रस्तावको विरुद्धमा विज्ञप्ति जारी गरे ।
त्यसपछि मात्र मोर्चाको बैठक बस्यो । मोर्चाको बैठकले पनि संशोधन प्रस्तावको विरोध गर्दै विज्ञप्ति जारी गर्यो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij