प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३
धनगढी । संविधान संशोधन प्रस्तावको बिरोध गर्दै आज कैलालीको धनगढीमा राँके जुलुस प्रदर्शन गरिएको छ । एमाले निकट किसान महासंघ, युवा संघ, अनेरास्ववियु तथा राष्ट्रिय जनमोर्चा नेपालले धनगढीको क्याम्पसदेखि एलएन चोकसम्म राँके जुलुस प्रर्दशन गरेका हुन् ।
प्रर्दशनका क्रममा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले प्रर्दशनकारीहरुले प्रयोग गरेका राँकालाई निभाउन खोज्दा झडप भएको हो ।
प्रर्दशनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रर्दशनकारीले भोली बुधबार मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म धनगढी बन्दको आब्हान गरेका छन् ।
जुलुसलाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय सदस्य मदनराज रेग्मीले वर्तमान सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले देशलाई टुक्राउन खोजेको भन्दै त्यो कुनै पनि हालतमा त्यो मान्ने नहुने बताए ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष लक्षीराम आचार्यले संशोधन प्रस्ताव देश र जनताको हितमा नभएको बताउँदै सडक र सदनबाट सशक्तरुपमा बिरोध गरी असफल पार्ने बताए ।
प्रर्दशनकारीहरुले भोलीदेखि धनगढीमा हुने सुदूरपश्चिम महोत्सव २०७३ को उद्घाटन गर्न आउने प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यक्रम बहिष्कार गर्नुका साथै कालो झण्डा देखाउने कार्यक्रम रहेको एमाले कैलालीका अध्यक्ष दीर्घराज सोडारीले बताए ।
महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री आउने र प्रमुख प्रतिपक्ष दल एमाले लगायतका दलले प्रधानमन्त्रीलाई कालो झण्डा देखाई कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेपछि धनगढीमा उच्च सुरक्षा सतकर्ता अपनाइएको कैलालीका प्रहरी प्रमुख अर्जुन चन्दले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij