शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

महिला हिंसा प्रतिवादका लागि आत्मसुरक्षा तालिम

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३



  • संयुक्त राष्ट्रसङ्घका अनुसार संसारका प्रत्येक ३ मध्ये १ महिला यौन तथा शारीरिक हिंसा भोग्न बाध्य छन् । हाम्रो जस्तो विकासशील देशमा हिंसा पीडित महिलाको आँकडा योभन्दा अझ बढी हुनसक्छ । महिला हिंसा न्यूनीकरणका लागि धेरै संस्थाहरु खुलेका छन्, धेरै प्रयासहरु भएका छन् । तर पनि हाम्रो समाजमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको छैन । हिंसा भएपछि उपचार खोज्नुभन्दा हिंसा हुनै नदिन सकिन्छ । महिलामाथिको हिंसालाई केही हदसम्म कम गर्न सकिन्छ भनेर हाम्रो संस्था, महिला सशक्तीकरण नेपालले महिला र बालबालिकाका लागि आत्मसुरक्षासम्बन्धी तालिम दिँदै आएका छ ।

    आत्मसुरक्षा भन्नाले कुनै पनि परिस्थितिमा आफूलाई सुरक्षित पार्ने क्षमताको विकास गर्नु हो । सामान्यतयाः मार्सल आटर्समा आत्मसुरक्षाका उपायहरु सिकाइन्छन् तर त्यो सिक्न वर्षौं लाग्छ, जुन सबैको पहुँचमा पनि हुँदैन । मार्सल आर्टसका केही प्रकारहरुबाट हामीले आत्मसुरक्षाका उपायहरु (steps)  तयार पारेका छौं जुन छोटो समयमा सामान्य मानिसले पनि सहजै सिक्न सक्छन् । बाटोमा हिँडिरहेका बेला हामीलाई जिस्क्याउने, बलात्कार गर्ने, घाँटी न्याक्ने र हतियारद्वारा आक्रमण गर्नेसम्मका घटनामा आत्म सुरक्षाका उपाय अपनाएर आफू र अरुलाई बचाउन सकिन्छ भनेर विभिन्न उपाय सिकाउने गर्दछौं । आत्म सुरक्षा तालिम आधारभूत र विशेष (एड्भान्स) गरी दुई चरणमा सिकाउँछौं । आधारभूत तालिममा तीन कुरा समावेश गर्छौं : जनचेतना जगाउनु (awareness), आवाज उठाउनु (raising voice) र शारीरिक तालिम (one to one training)  ।

    हिंसालाई चिनौँ

    आत्मसुरक्षा तालिमको पहिलो चरण जनचेतना जगाउनु हो । सबैभन्दा पहिले हिंसालाई चिन्नुपर्छ । हिंसा के हो ? किन हुन्छ ? भनेर थाहा पाएपछि मात्र त्यसलाई कसरी प्रतिवाद गर्न वा रोक्न सकिन्छ भन्ने कुरा आउँछ । महिलामाथि हुने, भइरहेका र हुनसक्ने हिंसाको जानकारी लिने; घरेलु हिंसा र बालबालिकामाथि हुने हिंसाका रुप के–के हुन् ? यौनहिंसा र यौन दुव्र्यवहार भनेको के हो ? यसका न्यूनीकरणका लागि के गर्न सकिन्छ ? यसलाई कसरी रोक्न सकिन्छ ? “मेरो शरीर मेरो अधिकार” आदि बारे अन्तक्र्रियात्मक रुपमा जानकारी दिइन्छ । यसमा महिलालाई मात्र नभएर पुरुषलाई पनि हामीले सहभागी गराउने गरेका छौं ।

    चरम हिंसा एकै पटकमा हुँदैन

    आत्मसुरक्षा तालिमको दोस्रो चरण आवश्यक ठाउँमा आवाज उठाउन घच्घच्याउनु हो । कोही पुरुषले एकै पटक कुनै पनि महिलामाथि चरम हिंसा गरेको हुँदैन । त्यो हदसम्म पुग्नुभन्दा अगाडि उसले हिंसाका केही चरणहरु पार गरेको हुन्छ । जस्तो कि बाटोमा, स्कुलमा या सार्वजनिक सवारी साधनमा बालिका वा महिला जिस्काउनेदेखि संवेदनशील अङ्गमा छुनेसम्मका हर्कत गर्दा पनि कसैले उसको प्रतिकार गरेन, कसैले केही भनेन भने उसको हौसला बढ्दै जान्छ र ऊ बलात्कार वा त्यस्तै केही ठूलो हिंसामा उत्रिएको हुन्छ । कुनै श्रीमानले श्रीमतीलाई एकै पटक मरणासन्न हुनेगरी पिटेको हुँदैन । पहिले सामान्य गालीगलौज गर्ला अनि सामान्य रुपमा हात उठाउला, उसको हिंसाको प्रतिवाद श्रीमतीले गरिन भने उसले गर्ने हिंसाकोे रुप बढ्दै जान्छ । त्यसैले हिंसा उन्मूलनका लागि हिंसालाई प्रारम्भिक चरणमा नै प्रतिकार गर्न जरुरी छ । आफू र अरुमाथि हुने कुनै पनि प्रकारका हिंसाविरुद्ध आवाज उठाउनु हिंसा उन्मूलनका लागि अत्यावश्यक छ ।

    बलभन्दा बुद्धि लगाऔं
    त्यसैगरी तेस्रो चरणमा आत्मसुरक्षाका लागि विविध शारीरिक तालिम दिने काम गरिन्छ । यसमा सबभन्दा पहिला आप्mनो शरीरलाई कसरी स्थिर बनाउने, कसरी प्रहारबाट बच्ने, आप्mनो शरीरको कुन भागलाई कसरी प्रयोग गर्नै आदि सिकाइन्छ । विविध परिस्थितिमा कसरी आफूलाई सुरक्षित पार्ने, अप्ठ्यारो परिस्थितिबाट कसरी आफूलाई निकाल्नेदेखि आवश्यक परेमा आफूलाई प्रहार गर्ने, हिंसा गर्न खोज्ने व्यक्तिलाई कसरी प्रतिवाद गर्ने र प्रतिकार गर्ने आदि सिकाइन्छ । प्रत्येक सहभागीलाई पालैपालो आत्मसुरक्षाका आधारभूत उपायहरु अभ्यास गर्न लगाइन्छ ।

    आफू योग्य हुँदाहुँदै र इमानदारीपूर्वक काम गर्दगर्दै विनाकसुर छ वर्ष काम गरेको जागिरबाट निकालिनु पर्यो कारण म एउटी महिला हुँ र मैले मेरो हाकिमले चाहेजस्तो शनिबार उनीसँग कतै घुम्न जान मानिन । मेरै समकक्षी पुरुष साथीहरु बढुवा भइरहँदा म भने कामबाटै निकालिनुपर्यो ।

    संस्था गठनको पृष्ठभूमि
    त्यतिबेला म काठमाडौं महानगरपालिकामा अधिकृतको रुपमा कार्यरत थिएँ । महानगरपालिकाका तत्कालीन मेयरले प्रमोसन गरिदिन्छु भनेर विभिन्न बहानामा मसँग नजिकिन खोजिरहन्थे । प्रमोसनका लागि शनिबारको दिनमा मिटिङ बसेर छलफल गर्ने र त्यो पनि काठमाडौंदेखि अलि टाढाको रिसोर्टमा जानुपर्ने प्रस्ताव उनले पटक पटक राखेका थिए । मेरो प्रमोसनकै लागि मिटिङ राख्ने भए उनले आफ्नै अफिसमा राख्ने थिए । शनिबारको दिन कतै टाढा रिसोर्टमा घुम्न जाने र मिटिङ बस्ने मेरो प्रमोसनकै लागि हो भन्नेमा म विश्वस्त थिइन । त्यसैले उनको प्रस्तावलाई विभिन्न बहाना बनाई अस्वीकार गर्दै आएकी थिएँ ।

    त्यतिबेला म एउटा एफएममा पनि कार्यक्रम प्रस्तोता थिएँ । शनिबारको दिन थियो । कार्यक्रम प्रस्तुत गरेर अफिसबाट बाहिरिन लाग्दा रिसेप्सनमा मेयरको फोन आयो । जरुरी कुरा भएकाले गाडी पठाएको छु, गाडीमा आउनू भने । मलाई निकै रिस उठ्यो । भोलिपल्ट अफिस पुग्न बित्तिकै मेयरको कार्यकक्षमा गएर एउटा जागिर खान र प्रमोसनका लागि तपाईंसँग रिसोर्ट धाउने महिलो होइन भनेँ । उनले त्यस्तो केही होइन, तिमै्र भलो गर्न खोजेथेँ भने । त्यो कुरो त्यतिकै साम्य भयो । पछि उनको कार्यकाल सकियो ।

    जागिरबाट विनाकारण निकालिएँ
    राजा ज्ञानेन्द्रको सिफारिसमा दोस्रोपटक उनै व्यक्ति मेयर भएर आए । आएको केही दिनमै मलाई जागिरबाट निकालिएको पत्र दिइयो । त्यस पत्रमा मलाई यो कारणले जागिरबाट निकालिएको हो भनेर केही पनि लेखिएको थिएन । के कारणले जागिरबाट निकालियो भनेर सोधिरहन मन लागेन । आवश्यक पनि ठानिन । उनले भनेजस्तो गर्न नमानेकै कारण मलाई जागिरबाट हटाइएको हो भन्नेमा म स्पष्ट थिएँ । आफू योग्य हुँदाहुँदै र इमानदारीपूर्वक काम गर्दगर्दै विनाकसुर छ वर्ष काम गरेको जागिरबाट निकालिनु पर्यो कारण म एउटी महिला हुँ र मैले मेरो हाकिमले चाहेजस्तो शनिबार उनीसँग कतै घुम्न जान मानिन । मेरै समकक्षी पुरुष साथीहरु बढुवा भइरहँदा म भने कामबाटै निकालिनुपर्यो ।

    न्याय पाउने कुरामा विश्वस्त हुन सकिएन
    न्याय खोज्न गएको भए हुन्थ्यो भन्ने अहिले लाग्छ तर त्यतिबेला मेरो विवाह भएको थिएन । अहिले जस्तो स्ट्रङ पनि थिइनँ । मेयर जस्तो ठूलो मान्छेसँग मुद्दा लड्दा उल्टै मलाई नै अरु तरिकाले फसाउने हुन् कि भन्ने डर लाग्यो । न्याय पाउने कुरामा विश्वस्त हुन सकिन र यत्तिकै चुप लागेर बसेँ ।

    मसँग जीवन निर्वाहका लागि अरु पनि विकल्प थिए । त्यसैले मलाई ठीक नलागेको कुरामा आवाज उठाउन सकेँ । कलेजमा पढाउथेँ, एफएममा काम गर्थें । मसँग जागिरको विकल्प थियो । नगरपालिकाको काम छाडेर पनि अरु काम गरेर बाँच्न सक्थेँ । त्यसैले बोल्न सकेँ । तर एउटा प्रश्नले सधैँ झस्काउँथ्यो; यदि मसँग कुनै विकल्प नभएको भए ? यदि नगरपालिकाको जागिरले मेरो घर चलाउनुपरेको भए ?

    सायद महिला भएकै कारण, आफ्नो हाकिमले भनेका कुराको प्रतिवाद गरेकै कारण मजस्तै विनाकारण जागिरबाट निकालिनुपरेका अरु कत्ति धेरै महिलाहरु होलान् । अझ विकल्प नभएका महिलाहरु सायद यौन हिंसा पनि सहन बाध्य होलान् भन्ने लागेर यत्तिकै चुप लागेर बस्न सकिन । केही फरक काम गर्नुपर्छ भन्ने लाग्यो ।

    महिला सशक्तीकरण नेपाल
    म र केही साथीहरु मिलेर ०६९ सालमा यो महिला सशक्तीकरण नेपाल नामको गैरसरकारी संस्था खोलेकी हुँ । अहिले गर्व लाग्छ । महिलालाई आत्मविश्वास बढाउने, महिलालाई सुरक्षित पार्ने कार्यमा काम गर्न पाएकोमा खुशी लाग्छ । २०६९ माघमा दर्ता गरी २०७० वैशाखदेखि आत्मसुरक्षा तालिम सञ्चालन गर्दै आइरहेको यस संस्थाले अहिलेसम्म करिब २५०० महिला तथा बालबालिकालाई तालिम दिइसकेको छ ।

    सुरुमा आत्मसुरक्षा तालिम सञ्चालन गर्न सहभागी भेला गर्न पनि कठिन हुन्थ्यो भने अब कतिपय महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरुले हामीलाई बोलाउने गरेका छन् । आत्मसुरक्षा तालिमको लागि हाम्रो प्रशिक्षकहरु छन्; जो अधिकांश कराँतेका ब्ल्याकबेल्ट छन् । हामी कामकाजी महिला, समुदायका महिला, बालबालिका, किशोरीदेखि पुरुषहरुका लागि पनि आत्मसुरक्षा तालिम सञ्चालन गर्छौं । लक्षित समूहको आवश्यकताअनुसार कोर्स डिजाइन गर्छौं । तीन घन्टादेखि एक हप्तासम्मका आत्मसुरक्षा तालिम सञ्चालन गरीरहेका छौं ।

    उपत्यकाका तिनै जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, गोरखा र पोखरासम्म हामीले तालिमहरु चलाएका छौं । यो वर्ष पूर्वमा इलाम र पश्चिममा दाङसम्म पुग्ने योजना छ । आउने दिनमा देशका सबै भागमा यस्ता तालिम चलाउन चाहन्छौं । हिंसालाई उन्मूलन गर्नका लागि महिलाहरु सशक्त हुन आवश्यक छ । यस अभियानमा पुरुषहरुको साथ पनि उत्तिकै महत्वपूर्ण छ ।

    अन्त्यमा
    सबै महिलालाई के भन्न चाहन्छु भने हिंसा सहेर नबस्नुहोस । हिंसाको तत्कालै प्रतिवाद गर्नुहोस् । तपाईं एकजनाले सहेको हिंसाले अरु धेरैको लागि हिंसा निम्त्याउँछ । हिंसाको प्रतिवाद नगर्ने हो भने हिंसा गर्ने व्यक्ति झनै हौसिन्छ । त्यसैले हिंसाको डटेर प्रतिवाद गरौं । साथै आफूले पनि कसैमाथि कुनै प्रकारले हिंसा नगरौं । भेदभाव र हिंसारहित समाज निर्माणमा सबैले योगदान गरौं ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij