प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३
विपक्षी दलका युवा विद्यार्थी नेताहरुले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको स्वभिमान माथि आच पुर्याउने र हस्तक्षेप गर्ने कुटनीतिज्ञहरुलाई नेपालबाट फिर्ता पठाउन पनि सरकारलाई चेतावनी दिएका हुन् । उनीहरुले भारतीय राजदुत रन्जित रेले कुटनीतिक मर्यादा बिपरीत गतिविधि सञ्चालन गरेकाले तत्काल देश निकाला गर्न माग गरे । पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष राजिव पहारीले संविधान संसोधनमा अनावश्यक चलखेल गर्ने कुटनीतिज्ञहरुलाई तत्काल फिर्ता पठाउन माग गरे । विभिन्न दल आवद्ध युवा संगठन र विद्यार्थी नेताले सरकारले संविधान संसोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने पनि चेतावनी दिएका छन् ।
उनीहरुले सरकारले मुलुकको राष्ट्रिय एकता विखण्डन गर्ने गरी संविधान संसोधन प्रस्ताव ल्याएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरे ।पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष राजिव पहारीले सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्ला अलग गर्नेगरी ल्याएको संसोधन प्रस्तावले मुलुकको हित नगर्ने बताए । उनले विदेशीको इशारामा सरकारले तराईबाट पहाडी जिल्ला अलग गर्ने गरी ल्याएको प्रस्ताव तत्काल फिर्ता लिन सरकारसंग माग गरे । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले सरकारले विदेशीको स्वार्थ पूरा गर्नेगरी ल्याएको संसोधन प्रस्ताव मान्य नहुने बताए । उनले संविधान संसोधन प्रस्तावले नेपालको स्वतन्त्रता र राष्ट्रियता नै खतरामा परेकाले युवाहरु आन्दोलित हुनुपरेको तर्क गरे । यसैबीच, युवा विद्यार्थीहरुले राष्ट्रियताको रक्षा र संविधान संसोधन प्रस्ताव फिर्ता लिन सरकारलाई दवाव दिन विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आन्दोलनमा युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल युवक संघ, अखिल छैठौं, प्रगतिशिल युवा संघ, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, नेपाल क्रान्तिकारी युवा संघ र अखिल पाँचौंलगायतका युवा संगठनले ऐक्यवद्धता जनाएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij