प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३
काठमाडौँ । देश विकासको आशा जगाउने राष्ट्रिय गौरवका सहित ठूला आयोजना केही निर्माणाधीन र केही निर्माणको चरणमा छन् ।
माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, बुढीगण्डकी जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, काठमाडौं चक्रपथ विस्तार आयोजनालगायतले विकासको आशा जगाएका हुन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यीमध्ये केही आयोजना एक–दुई वर्षमै सम्पन्न हुने क्रममा छन् । 
माथिल्लो तामाकोसीको बिजुली ०७५ असारमा
राष्ट्रिय गौरवको आयोजनाका रूपमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणाधीन छ । यो आयोजना ०७५ असारमा सकिँदै छ । ‘भूकम्प, नाकाबन्दीलगायतका कारण निर्माण सम्पन्न हुने समय दुई वर्ष धकेलियो,’ अयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भने, ‘०७५ असारभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेर तीव्र रूपमा काम भइरहेको छ ।’ माथिल्लो तामाकोसी आयोजनाबाट १० पुस ०७२ मा ३ सय ९ मेगावाट र ३० असार ०७३ मा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य थियो । निर्माण प्रगति समग्रमा करिब ८३ प्रतिशत रहेको श्रेष्ठले बताए ।
आठ वर्षमा बुढीगण्डकी
आन्तरिक उत्पादनमार्फत लोडसेडिङ अन्त्यको एक मात्र विकल्प मानिएको एक हजार दुई सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माण सक्न आठ वर्ष लाग्ने अनुमान छ । आयोजनाको विस्तृत अध्ययन भइसकेको छ । ‘निर्माणपूर्वका काम गर्न डेढ वर्ष र निर्माण सुरु भएको साढे ६ वर्षमा काम सकिन्छ,’ आयोजना विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले भने, ‘आयोजना निर्माण तालिका र लगानीको मोडालिटी भने अझै टुंगो लागिसकेको छैन ।’
०७४ को दसैँमा काठमाडौंमा मेलम्चीको पानी
आयोजना थालनी भएको करिब २० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको काम सकेर आगामी वर्षको दसैँमा काठमाडौं उपत्यकामा वितरण गर्ने लक्ष्य छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले आर्थिक वर्ष ०५५-५६ देखि निर्माण थालिएको मेलम्ची आयोजना आव ०७४-७५ मा सकिने बताए ।
सन् २०२१ भित्र नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल
सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने सञ्चालनमै छ ।
दुई वर्षभित्र कलंकी–कोटेश्वर सडक विस्तार
कलंकीदेखि कोटेश्वरसम्मको १० दशमलव ३९४ किलोमिटर सडक आगामी दुई वर्षभित्र सम्पन्न हुनेछ । सन् ०१३ देखि थालिएको यो आयोजना ०१६ मा सम्पन्न हुनुपर्ने थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij