शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

जलविद्युतमा संयुक्त लगानी गर्न बङ्गलादेशको प्रस्ताव

  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३



  • काठमाडौँ । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ ।

    पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु-याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमण गरेका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो ।

    ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत्लाई ऊर्जा बिक्री कम्पनीमार्फत खरिद गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्ने बारेमा समेत संयुक्त कार्यदल बनाएर छलफल गर्ने प्रस्ताव बङ्गलादेशले गरेको छ ।

    बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले ऊर्जा राज्यमन्त्री नसरुल हमिदलाई समेत साथै राखेर ऊर्जा मन्त्री शर्मासँग संयुक्त लगानीका विभिन्न उपायहरु खोज्न र दुवै मुलुक एक आपसमा मिलेर जलविद्युत् आयोजनामा लगानी गर्ने विषयमा छलफल गरेको मन्त्री शर्माले जानकारी दिए ।

    नेपाल र बङ्गलादेशबीच जलविद्युत्मा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने अगाडि बढ्न सकेको थिएन । प्रधानमन्त्री हसिना र ऊर्जामन्त्री शर्माबीचको भेटवार्तामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढ्ने विषयमा समेत कुराकानी भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

    “बङ्गलादेश नेपालबाट विद्युत् खरिद गर्न, संयुक्त लगानी गर्न वा जुनसुकै विधिबाट पनि संयुक्त रुपमा काम गरौँ भन्ने सकारात्मक धारणाका साथ आएको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ”–ढाकाबाट फर्केपछि मन्त्री शर्माले भने , “आगामी एक महिनाभित्रै समझदारीपत्रमा हस्ताक्षर गरेर प्रक्रिया अगाडि बढाउने सोचाइमा मन्त्रालय रहेको छ ।” मन्त्री शर्माले यही मङ्सिर २२ देखि २४ सम्म बङ्गलादेशको भ्रमण गर्नुभएको थियो ।

    बङ्गलादेशमा ऊर्जाको माग अत्याधिक रहेको र पछिल्लो सात वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरेको अनुभवले पनि संयुक्त रुपमा काम गरौँ भन्ने प्रस्ताव गरेको मन्त्री शर्माको भनाइ छ ।

    नेपाल र बङ्गलादेशबीच सरकार–सरकार (जि टु जी) संयुक्त लगानी गर्ने वा निजी क्षेत्रले लगानी गर्ने वा विद्युत् व्यापार कम्पनीमार्फत विद्युत् खरिद गर्ने भन्ने विषयमा भने पछि नै टुङ्गो लाग्नेछ । समझदारीपत्रमा हस्ताक्षर गर्न विगत तीन वर्षपहिले नै बङ्गलादेशले आग्रह गरेपनि प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

    लगानीका विभिन्न सम्भावनाका बारेमा द्विपक्षीय छलफल गर्न बङ्गलादेशी ऊर्जा राज्यमन्त्री हमिदलाई नेपाल भ्रमणको निम्तासमेत दिइएको छ । समझदारीपत्रका बारेमा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले समेत स्वीकृति दिएकाले एक साताभित्रै बङगलादेश पठाउने तयारी गरिएको छ ।

    प्रसारण लाइनका विषयमा नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय बैठकको आयोजना गरेर सहमति खोज्न सकिनेमा समेत दुई मुलक (नेपाल र बङ्गलादेश)सहमत भएका छन् ।
    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९ औँ शिखर सम्मेलनको क्रममा काठमाडौँमा भएको सहमतिअनुसार पनि ऊर्जा क्षेत्रमा लगानीका अवसर सिर्जना हुन सक्ने देखिन्छ । ‘सार्क इलेक्ट्रिकल फ्रेम एग्रिमेन्ट’अनुसार पनि नेपाल, भारत, बङ्गलादेशबीच विद्युत् आदानप्रदान तथा संयुक्त व्यापार गर्न सकिन्छ ।

    नेपाल र भारतबीचमा रहेको सचिव र सहसचिवस्तरीय संयन्त्र जस्तै बङ्गलादेशसँग पनि सोही खालको संयन्त्र बनाउन सकिने प्रस्ताव गरिएको छ ।

    सहसचिव घिमिरेले संयुक्त रुपमा काम गर्ने विषयमा बङ्गलादेशले चासो व्यक्त गरेको र केही समयभित्रै प्रक्रिया सुरु हुने बताए |

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij