प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३
पूर्व सभामुख सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी एमालेको साथ बिना मधेसी मोर्चाले समेत संविधान संशोधनलाई अघि नबढाउने दाबी गरेका छन् । एमालेको साथ र समर्थन बिना संविधान संशोधन गर्न नसकिने जानकारी आफूलाई मोर्चाका नेताले दिएको उनले बताए ।
‘मोर्चा पनि एमालेको समर्थन बिना संविधान संशधन गर्न हुँदैन भन्ने पक्षमा छ,’ नेम्वाङले सोमबार बिहान कान्तिपुरसँग भने । मोर्चा नेता एवं मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग आफ्नो कुराकानी हुँदा यादवले त्यसबारे प्रष्ट पारेको उनले जानकारी दिए ।
‘संशोधन एमालेलाई साथ नलिई हुनै सक्दैन । त्यसका लागि संविधान संशोधनको सरकारी प्रस्तावमाथि परिमार्जन र थप सहमति आवश्यक छ,’ यादवले आफूलाई भनेको कुरा उद्धृत गर्दै नेम्वाङले भने ।
एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र मोर्चाका नेताहरुसँग औपचारिक/अनौपचारिक संवादका लागि जिम्मेवारी दिएका छन् । अघिल्लो दिन आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको वार्तामा समेत ओलीसँगै नेम्वाङ पनि थिए । आइतबार नै नेम्वाङ र फोरम अध्यक्ष यादवबीच कुराकानी भएको थियो
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij