प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३
काठमाडौँ । संविधान र कानुनले व्यवस्था गरेअनुरुप व्यावहारिक रुपमा नागरिकता वितरण गर्नुपर्ने र छुटेका कुरालाई कानुन निर्माण गर्दा समेट्नुपर्नेमा दलका नेताहरुको भनाइ रहेको छ ।
महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘नागरिक अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ’ विषयक कार्यक्रममा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्तेतले संविधान र कानुनले व्यवस्था गरेअनुसार नागरिकता दिनुपर्ने र त्यसमा देखिएका थप जटिलतालाई सङ्घीय कानुन छिटो निर्माण गरी समस्याको समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रमुख जिल्ला अधिकारीले नागरिकता नदिने निर्णयको पनि पीडितको सरोकारको विषयमा पुनरावलोकन गर्न संयन्त्रको समेत विकास गर्न जरुरी भएको भन्दै नेपाली नागरिक नागरिकताबाट विहीन हुन नहुनेमा जोड दिनुभयो ।
नेकपा (एमाले) सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधानमा नै लिङ्ग, जाति, धर्म र भूगोलका आधारमा भेद्भाव गर्न नपाइने व्यवस्था गरेको हुँदा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गर्न नहुने बताउनुभयो ।
खुल्ला सिमाना भएको हुँदा धेरैजसो भारतीयसँग विवाह गरेका छोरी र भारतीय नागरिकले नेपाली महिलासँग विवाह गर्दा नागरिकताको समस्या हुने गरेको भन्दै नागरिकतासम्बन्धी ऐन निर्माण गर्दा छुटेका कुरा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद दिलबहादुर घर्तीले स्थानीयस्तरमा काम गर्ने कर्मचारीको तजबिजले पनि नागरिकता दिने गरेकाले समस्या भएको भन्दै कानुनले गरेको व्यवस्थाअनुसार नागरिकता दिन हिच्किचाउनु पर्ने जरुरी नभएको बताउनुभयो ।
उहाँले नागरिकतासम्बन्धी ऐन निर्माण गर्दा बृहत् जनतासँग छलफल गरेर मात्र अन्तिम रुप दिने वचन दिनुभयो ।
मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सवीन श्रेष्ठले विदेशी नागरिक विवाह गरेर आएकालाई तुरुन्तै नागरिकता दिने तर विदेशीसँग विवाह गर्नेबित्तिकै छोरीलाई नागरिकताविहीन बनाउने प्रावधान सही नभएको बताउनुभयो ।
कार्यक्रममा सहभागीले कतिपय अवस्थामा संविधान र कानुनले व्यवस्था हुँदाहुँदै पनि नागरिकता प्राप्त गर्न स्थानीयस्तरबाट कठिनाइ हुने गरेको र जसले गर्दा धेरै नागरिक नागरिकताविहीन हुनुपर्ने अवस्था आएको गुनासो गरेका थिए ।
मञ्चको तथ्याङ्कअनुसार नेपालमा ४३ हजार नागरिकताविहीन नागरिक रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij