आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

थप ८० मेगावाट विद्युत् आयात गर्ने

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३



  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।

    मुलुकमा सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ निर्माण गरिरहेको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न हुन केही दिन लाग्ने भएपछि प्राधिकरणले वैकल्पिक उपाय गरेर सो परिमाणको विद्युत् आयात गर्न लागेको हो ।

    ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरेर थप ८० मेगावाट विद्युत् आयात गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तालिकाअनुसार थप विद्युत् आगामी पुस २१ गतेसम्म नेपालको केन्द्रिय ग्रीडमा जोडिनेछ ।

    सो कार्यका लागि पावर ग्रीड इन्डियाले भारतको मुजफ्फरपुर सवस्टेसनमा नेपालका लागि थप विद्युत् उपलब्ध गराउन २२०÷१३२ केभी प्रसारण लाइनमा थप १०० एमभीएको ट्रान्सफर्मर जडान गर्न लागेको जानकारी प्राप्त भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले राससलाई जानकारी दिए ।

    नयाँ ट्रान्सफर्मर जडान गर्न विद्यमान १०० एमभीएको ट्रान्सफर्मरको समानान्तर रुपमा नै नयाँ कन्डक्टर जडान हुने भएकाले आजदेखि लागू हुने गरी यही मङ्सिर ३० गतेसम्म भारतीय समयअनुसार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म विद्युत् कटौती हुने प्रवक्ता अधिकारीले बताए ।

    दुई दिन हाल उपलब्ध भइरहेको ८० मेगावाट विद्युत्समेत दिनभर कटौती हुने छ । त्यसबाट परवानीपुर, वीरगन्ज, सिमराको ६६ केभी र औद्योगिक ग्राहकको ११ केभी प्रसारण लाइनमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

    कुल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरेर आयात भइरहेकामा थप विद्युत् आयात गर्न भारत तर्फबाटै २२०÷१३२ केभीमा चार्ज गर्नसमेत उक्त सवस्टेसनमा समानान्तर रुपमा नयाँ ट्रान्सफर्मर जडान गर्न लागिएको जानकारी प्राधिकरणलाई आएको प्रवक्ता अधिकारीले बताए ।

    ढल्केबरमा निर्माण भइरहेको सवस्टेसन सम्पन्न हुन अझै एक महिना लाग्ने भएकाले वैकल्पिक उपाय प्रयोग गरेर भएपनि सुक्खायामको भाग धान्ने गरी विद्युत् आयात गर्न लागिएको हो ।

    ढल्केबरमा सवस्टेसन निर्माण सम्पन्न भएपछि २५० मेगावाट विद्युत् सोही प्रसारण लाइनबाट आयात गर्ने योजनामा प्राधिकरण रहेको छ । “तत्कालका लागि वैकल्पिक उपाय अपनाउन लागिएको हो, त्यसले मुलुकको माग धान्न सहयोग पुग्नेछ”–प्रवक्ता अधिकारीले भने । प्राधिकरणले दुई दिन विद्युत् कटौती हुँदा पर्ने समस्याप्रति माफी माग्दै निरन्तर विद्युत् आपूर्ति गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

    यस्तै रक्सौल परवानीपुर, कुशाहा कटैया प्रसारण लाइनबाट समेत थप ५०÷५० मेगावाट विद्युत् आयातको अन्तिम तयारी भइरहेको छ । तर परवानीपुरमा स्थानीय राजनीतिक दलले गरेको अवरोधसमेत गृह मन्त्रालयले हटाउने भएको छ ।

    यस्तै प्राधिकरण र भारतका उच्च अधिकारीले स्थलगतअध्ययन गरिएको टनकपुर सवस्टेसनमा समेत नयाँ ट्रान्सफर्मर जडानका लागि काम सुरु हुने भएको छ । हाल सो प्रसारण लाइनबाट २५ मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ ट्रान्सफर्मर जडान भएपछि थप ३० मेगावाट विद्युत् आयात हुने प्राधिकरणले जनाएको छ ।

    हाल एक हजार २८६ मेगावाट विद्युत् माग रहेको छ भने भारतबाट आयात गरिएको र आन्तरिक उत्पादन समेत जोड्दा करिब ८८६ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । नदीमा जलस्तर घटेको र चिसो बढेका कारण सबै आयोजनाले भने पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न भने छाडेको छ । विद्युत्भार कटौतीलाई अन्त्य गर्न समेत भारतबाट तत्काल विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij