प्रकाशित मिति : शनिबार, पुस २, २०७३
भक्तपुर । पुस २ जिविसले बालुवा, पाँगोमाटो र ढुंगा खानी सञ्चालनको अनुमति नदिँदा चोरी निकासी बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिविसले दिएको स्विकृति र नवीकरणको प्रक्रिया तथा खानी सञ्चालनको अवस्थाबारे छानबिन गर्न डेढ वर्षअघि जिल्लामा सञ्चालित २६ बालुवाखानीको फाइल लगेपछि जिविसले खानी सञ्चालनमा रोक लगाएको हो ।
अख्तियारले अनुसन्धानका लागि खानीको फाइल लगेको बहानामा जिविसले हालसम्म कुनै पनि खानी सञ्चालनको स्वीकृति दिएको छैन । यस्तै लाइसेन्स नवीकरणसमेत गरेको छैन । तर, खानी सञ्चालन नभए पनि प्रहरी तथा कर्मचारीको मिलेमतोमा बालुवा, पाँगोमाटोको अवैध कारोबार भइरहेको स्थानीयको गुनासो छ । ‘खानी सञ्चालनको स्वीकृति लिएका बेलाभन्दा बन्द भएका समयमा तस्करी बढी भइरहेको छ,’ चाँगुनारायण १४, दुवाकोटका माधवप्रसाद न्यौपानेले भने, ‘प्रहरी, जिविस र जिल्ला प्रशासनका कर्मचारीकै मिलेमतोमा बालुवा र माटोको तस्करी भइरहेको छ ।’
खानी बन्द हुँदा महँगो मूल्यमा बालुवा, ढुंगा खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । ‘रातारात बालुवा तस्करी भइरहेको छ,’ दुवाकोटकै मोहन रोकाले भने, ‘सर्वसाधारण कालोबजारीको मार खेप्न बाध्य छन् ।’
खानी सञ्चालकले पनि जिविस र प्रशासनकै कारण तस्करी भइरहेको स्वीकारेका छन् । ‘खानी बन्द हुँदा खुला रूपमा तस्करी र कालोबजारी बढेकै हो,’ बालुवाखानी सञ्चालक विदुर आलेमगरले भने, ‘खानी बन्द हुँदा तस्करी बढेकाले वैधानिक रूपमै खुलाउन पटकपटक आग्रह गर्दा पनि सुनुवाइ भएको छैन ।’ करोडौं लगानी गरी सरकारलाई लाखौं राजस्व तिरेर वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्दा पनि जिविसले खानी खुलाउने अवस्था नबनाएको सञ्चालक केपी तिमिल्सिनाले बताए । प्राकृतिक स्रोतको उपयोग गर्ने गरी लाइसेन्स लिइसकेपछि सहज रूपमा खानी सञ्चालन गर्न पाउनुपर्ने सञ्चालकहरू बताउँछन् ।
जिविसले भने चोरी निकासी, तस्करी र कालोबजारी रोक्ने काम प्रहरी र प्रशासनको भएको भन्दै पन्छिएको छ । ‘हामीले कुनै खानी सञ्चालनको अनुमति दिएका छैनौं,’ स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले भने, ‘अहिले भइरहेको निकासी अवैध हो ।’ खानी सञ्चालनको स्वीकृति, नवीकरण गर्ने विषयमा योजना तथा प्रशासकीय अधिकृतको नेतृत्वमा प्रतिवेदन समिति बनेको जिविसले जनाएको छ ।
प्राकृतिक स्रोत, साधनको उपयोग गर्ने विषयको प्रतिवेदन आएपछि निर्णय गर्ने उनले बताए । स्वीकृति प्रदान गर्ने जिविस र अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय भएकाले बालुवाखानी कुरेर बस्ने काम प्रहरीको नभएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण राणाले बताइन् । तस्करीमा संलग्न रहेका गाडी समाउने काम प्रहरीको भएको तर, समातेको बालुवा कहाँ जान्छ त्यो प्रहरीको चासोको विषय नभएको उनको भनाइ छ । खानी बन्द हुँदा महँगो मूल्यमा बालुवा, ढुंगा खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । ‘रातारात बालुवा तस्करी भइरहेको छ,’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij