प्रकाशित मिति : सोमवार, पुस ४, २०७३
काठमाडौँ । महिनावारी भएका वेला छाउपडी गोठमा बसेकी अछाम गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाको गोठमै मृत्यु भएको छ । शनिबार बेलुकी करिब ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको उनका बाबु भरत तिरुवाले बताए ।
स्थानीय राष्ट्र भाषा माविमा कक्षा ९ मा अध्ययनरत रोशनीले शनिबार स्कुल बिदा भएकाले जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन् ।
उनी महिनावारी भएको आइतबार तीन दिन भएको परिवारका सदस्यले बताए ।
धुवाँले निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले घरदेखि करिब २० फिट टाढा रहेको गोठ निकै साँघुरो र ढोकाबाहेक हावा छिर्ने अरू कुनै ठाउँ नहुँदा आगोको धुवाँले निसास्सिएर मृत्यु भएको हुन सक्ने बताए ।
‘बेलुकी सुत्दा आगो बालेर सुतेको र ढोकासमेत हावा नछिर्ने गरी लगाएकाले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने देखिन्छ,’ ढकालले भने । रोशनीको शव आइतबार नै पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको उनले बताए ।
गाज्रा छाउपडी गोठमुक्त गाविस
गाज्रा छाउपडी गोठमुक्त घोषणा भएको गाविस हो । महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित छाउपडी निवारण परियोजनाअन्तर्गत ९ असोज ०७२ मा गाज्रालाई छाउपडी गोठमुक्त घोषणा गरेको थियो । गाज्रा छाउपडी गोठमुक्त गाविस घोषणा भए पनि अधिकांश महिला महिनावारी हुँदा गोठमै बस्छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij