आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा : उपाध्यक्ष रावल

  • प्रकाशित मिति : बुधबार, पुस ६, २०७३



  • काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अहिले मुलुकमा संविधान संशोधनको औचित्य नरहेकाले सरकारले त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

    संविधान संशोधनको प्रस्तावमा असहमति जनाउँदै आएका विभिन्न दल निकट युवा तथा विद्यार्थीको संयुक्त मोर्चाले आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्र र जनताको हितमा नरहेको प्रस्ताव समयमै सरकारले फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा औँल्याउनुभयो ।

    नेकपा (माले) का महासचिव सिपी मैनालीले विश्वमा अभ्यास भइरहेका विभिन्न संविधानको अध्ययन तथा मुलुकको आवश्यकताको अध्ययनपछि ल्याइएको अहिलेको संविधान उत्कृष्ट रहेको बताउँदै यो मधेसमैत्री रहेकाले संविधान संशोधनको खाँचो नरहेको बताउनुभयो ।

    नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले मुलुकको आवश्यकता पूरा गर्न नभई विदेशीको इसारामा ल्याइएको सो प्रस्तावले मुलुकको विखण्डन गर्ने तथा जनताको एकतामा अवरोध पु¥याउने हुँदा त्यसतर्फ चनाखो भई प्रस्तावलाई अगाडि बढाउन दिन नहुने विचार व्यक्त गर्नुभयो ।

    नेपाः पार्टीका नेता एवम् सांसद लक्ष्मण राजवंशीले मुलुकमा अङ्गीकृत नागरिकलाई जथाभावी अधिकार दिँदा नेपाली मूलका नागरिक अल्पमतमा पर्ने खतरा औँल्याउँदै अङ्गीकृतलाई देशको नेतृत्व दिनका लागि ल्याइएको प्रस्तावले देश र जनताको हित नगर्ने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति प्रतिपक्ष दल तथा मधेसी मोर्चा असहमत रहेकाले त्यसलाई अविलम्ब फिर्ता गरी दलको सहमतिबाट नयाँ विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

    अनेरास्ववियुका अध्यक्ष नवीना लामा, युवा सङ्घका अध्यक्ष राजीव पहारी लगायतले सरकारले प्रस्ताव फिर्ता नलिएमा सशक्त आन्दोलन जारी राख्ने जानकारी गराउनुभयो ।

    नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नेमकिपा निकट युवा तथा विद्यार्थी सङ्गठन लगायतले संविधान संशोधन प्रस्तावको प्रक्रियामा असहमत भई विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij