प्रकाशित मिति : शनिबार, पुस ९, २०७३
विद्यालयमा पढाउँदा महिनाको दस, बाह्र हजार कामइरहेका प्लस टु उत्तीर्ण काव्रे गाविसका एक युवा भूकम्प आएपछि महिनाको ४० हजार पाउने जागिर खान थाले । उक्त जागिर केही वर्षसम्म पाइरहने आवश्वासनसहित पहिलेको काम छाडेर भूकम्प गएपछिको अवसर छोप्न थालेका उनको तीन महिनामै जागिर चट भयो ।
छोटो समयमा जागिर गुम्ने युवा अहिलेसम्म करिब २५ सयजना पुगेको जिल्ला विकास समितिको सामाजिक विकास शाखाको भनाइ छ । नाम नबताउने सर्तमा ती युवा भन्छन्, ‘पहिलेकै काममा फर्कुं लाज लाग्छ, नयाँ काम पाइँदैन ।’ यस्तो समस्यमा पर्नेहरु आफ्नो गाउँमा पनि थुप्रै भएको मिर्गे निवासी सञ्चारकर्मी नवीन खतिवडाले बताए ।
संघ संस्थाहरुको अनुगमन गर्ने दोलखास्थित जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत नारायण सेढाईं भूकम्पपछि आएका संस्थाहरुमा एकपटक करिब तीन हजार जनासम्म जागिरमा थिए । लामो सयम काम गर्ने प्रतिबद्धता गर्दै आएका संस्थाहरु छोटो समयमै हिँडेपछि आकर्षक तलब, सुविधा लिएर जागिरे भएका करिब पच्चीस सय व्यक्तिहरु बेरोजगार जीवनमा फर्किएको उनको अनुमान छ ।
दुईदेखि तीन वर्ष काम गर्ने एक औपचारिक कार्यक्रममा पत्रकारहरुलाई जानकारी गराएर जिल्ला आएको वल्र्ड भिजन इन्टरनेश्नलले करिब १३ महिना काम गरेर फर्केको छ । समस्याग्रस्त सिरिया केन्द्रित हुनुपर्ने भन्दै उक्त संस्था तोकिएको समयपूर्व नै हिँड्ने बताइएको छ । उक्त संस्थाको आकस्मिक निर्णयले कामसँग जोडिएका करिब ७५ जना क्षणभरमै बेरोजगार भएका छन् । जिविसको अभिलेखअनुसार ठूलो संख्यामा रोजगार दिने संस्थाहरु करिब ६० प्रतिशत जिल्लाबाट बिदा भइसकेका छन् ।
करिब ४ महिनासम्म जागिरे हुनपाइने आकर्षक सुविधाको अवसर आएपछि एकैपटक दुई सय ३० जना कम्तीमा प्लस टु उत्तीर्ण युवा युएनओपिएस अन्तर्गतको जागिरमा छिरे । पुनर्निर्माण अभियानमा गाविस र नगरमा खटिएका कर्मचारीहरुले सरकारी प्रयासकै कमीले तीन महिनामै बिदा भए । ‘तलबकै लोभले अन्त छाडेर आइयो, जागिरको अनुभूति गर्न नपाइकनै बेतलवी भइयो,’ एक युवकले गाविसले आवश्यकता नठानेकैले समयपूर्व नै जागिर गएको दु:खेसो गरे ।
त्यसैगरी ठूलो संख्यामा रोजगारी दिने प्लान नेपालले पनि दुई सय हाराहारीको जनशक्तिबाट घटाएर तीसजना जति राखेको जिविसको भनाइ छ । युएन अन्तर्गतका एजेन्सीहरु फर्किएपछि पनि बेरोजगार बढेका छन् ।
दोलखामा भूकम्पपछि सानोतिनो जागिर गरेका मात्र होइन, बेरोजगारले आशा गरेभन्दा धेरै तबल पाएपछि अल्पकालीन जागिरमा जाने युवाहरुको ताँती लाग्यो । धेरै तलब पाएपछि सँगै काम गर्ने विदेशी साथीसरह खर्च गर्न सिकेकोमा खिन्नता व्यक्त हुन थालेको छ । रेस्टुराँमा गएर महँगो खाजा खानेहरु बढे । धुमपान, मध्यपानको लत समेत बसाए ।
चरिकोटस्थत एक महँगो रेस्टुराँका सञ्चालक भन्छन्, ‘भूकम्पले केही दिन बन्द भएर खुल्नेबित्तिकै नवजागिरे र विदेशीले रेष्टुरेन्ट खचाखच थियो ।’ जिल्लामा भूकम्पले ठूलो जनधनको क्षति गरेपछि उद्धार, राहत र पुनर्निर्माण कार्यक्रम लिएर सरकारीमात्र होइन, धेरै आईएनजिओ, एनजिओहरू चिलले चल्ला खेजेजस्तै गरी जिल्ला भित्रिए । आएकामध्य कतिपय मिसन पूरा भएपछि फर्किए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij