आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लगानी बोर्ड सुस्ताएकामा सांसदको आपत्ति

  • प्रकाशित मिति : आइतवार, पुस १०, २०७३



  • काठमाडौँ  ।  लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भनी सांसदहरुले आपत्ति जनाएका छन् ।

    व्यवस्थापिका–संसद्, अर्थ समितिको आजको बैठकमा सांसदले ठूला जलविद्युत् आयोजना एवम् भौतिक पूर्वाधारको विकासका लागि बोर्ड स्थापना गरिए पनि पछिल्ला दिनमा बोर्ड सुस्ताएको आरोप लगाए ।

    पाँच महिनादेखि बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता महत्वपूर्ण आयोजनाको काम रोकिँदै आएको छ । आयोजनाका प्रवद्र्धकले निजी जग्गा सहज रुपमा प्राप्त गरे पनि सरकारी तथा वन क्षेत्रको जग्गा प्राप्त गर्न अप्ठ्यारो परेको गुनासो आएको छ ।

    आयोजना विकासका लागि परियोजना सम्झौता सम्पन्न भएको लामो समय भइसकेको र निजी जग्गा प्राप्तिको काम करिब सम्पन्न हुने दिशामा अगाडि बढेको भए पनि सरकारले नै उपलब्ध गराउनुपर्ने वन तथा सरकारी जग्गा प्राप्त गर्न नसक्नु दुःखद हो भन्दै सांसदले किन त्यस्तो भयो भन्ने प्रश्न गरेका थिए ।

    अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमले निजी जग्गालाई रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरिसकेको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्लिकाजून राव (जिएमआर)ले प्रभावित क्षेत्रमा प्रतिरोपनी रु आठ लाख ७५ हजार मुआब्जा वितरण गरिने तयारी गरेको छ ।

    बोर्डको बैठक बस्न नसक्दा वन क्षेत्रको जग्गा प्राप्त गर्ने विषयमा निर्णय हुन नसकेको जनाउँदै सांसदले बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग जिज्ञासा राख्नुभएको थियो । सांसद शक्तिबहादुर बस्नेत, कमला पन्त, उदयशम्शेर राणा, विदुर सापकोटा र शेरबहादुर तामाङले बोर्डको काम प्रभावकारी हुन नसक्नाका कारण तत्काल जानकारीमा आउनुपर्ने बताउनुभयो ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले समग्र तयारी गर्न समय लागेका कारण बैठक बस्न नसकिएको बताउँदै केही दिनभित्रै आवश्यक निर्णय लिइने जानकारी दिनुभयो । उहाँले अरुण तेस्रोको काम प्रभावकारी रुपमा अगाडि बढेको र उसलाई वित्तीय व्यवस्था गर्न समस्या नरहे पनि माथिल्लो कर्णालीका सम्बन्धमा भने अझै केही जटिलता रहेको उल्लेख गर्नुभयो ।

    समस्या समाधानमा केन्द्रित छौँ – श्रेष्ठ

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समग्र विषयमा छलफल हुने र ठूला आयोजनामा परेको जटिलता फुकाइने बताउनुभयो ।

    राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीले समेत नियमित अनुगमन गरिरहनुभएको र आयोगका सबै सदस्यसमेत नियमित अनुगमनमा लाग्नुभएको जानकारी दिँदै उहाँले यही पुस १८ गते बस्ने समितिको बैठकबाट सबै समस्याको निरुपण हुने बताउनुभयो ।

    कर्मचारीमा काम गर्नेभन्दा जिम्मेवारी पन्छाउने प्रवृत्ति कायम रहेसम्म काम गर्न समस्या हुने र विकास निर्माणका काममा समेत गत्यावरोध उत्पन्न हुने जनाउँदै उपाध्यक्ष श्रेष्ठले जिम्मेवार निकाय मुलुक र जनताप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

    तत्काल समस्या समाधान गर – समिति

    अर्थ समितिले माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता आयोजनामा देखिएको जग्गा प्राप्तिको समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
    अरुण तेस्रोले निर्माण सुरु गर्ने वचन दिएको र वित्तीय व्यवस्थापन गर्ने सम्बन्धमा समेत जानकारी गराइसकेका सन्दर्भमा बोर्डको बैठक बसेर आवश्यक निर्णय लिन समितिले सरकारलाई निर्देशन दिएको सभापति प्रकाश ज्वालाको भनाइ छ । समितिले नेपाली नागरिकले लगानी गर्न सक्ने गरी एउटा महत्वपूर्ण जलविद्युत् आयोजनाको निर्माण सुरु गर्नसमेत बोर्डलाई निर्देशन दिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij