प्रकाशित मिति : सोमवार, पुस २५, २०७३
रामेछाप । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ । ७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छन् ।
इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाका हजुरबुबा भइसक्नुभएका उनलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र सहयोग मिल्यो ।
सुरुमा चुचुरे स्वास्थ्य चौकीमा कार्यालय सहयोगीका रुपमा काम गर्दा हस्ताक्षर गर्न औषधिको नाम चिन्न उनलाई कालो अक्षर भैँसी बराबर झैँ हुन्थ्यो अनि उनले मैले पनि पढेमा अवश्य सक्छु भन्ने जाँगर चल्यो त्यसपछि २०६५ सालमा विद्यालय गएर भर्ना गरेको कार्की बताउँछन् ।
विद्यालयमा आफ्नै भाइ भतिजा अनि नातिनातिनासँगै पढ्दा आफूलाई हजुरबुबा भनेर सम्बोधन गर्दा कुनै असजिलो नलाग्ने उनी बताउँछन् ।
वृद्धावस्थामा पनि विद्यालयमा पढ्न आएको देख्दा र आफ्नै दाइ र हजुरबुबाजस्ता मान्छेलाई पढाउन पाउँदा विद्यालयका शिक्षक शिक्षिका पनि उत्तिकै खुसी रहेको जट्टेश्वरी उच्च माविका प्रधानाध्यापक मोहनकुमार खड्काले बताए ।
कुनै रोग नलागे अझै पढेर समाजमा केही गरेर देखाउने उनको चाहना छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij