आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रामवरण, खिलराज, प्रचण्ड, झलनाथ र बाबुरामले सार्वजनिक माफी माग्नुपर्छ

  • प्रकाशित मिति : बुधबार, पुस २७, २०७३



  • समाचार टिप्पणी 

    तीन बर्ष अघि लोकमान सिंह कार्कीको नियुक्ति त्यति नै विवादमा थियो, जति विवाद अहिले उनी अयोग्य प्रमाणित हुँदा भएको छ । निकै ठूलो विवादका बाबजुद तत्कालिन प्रधानन्यायधिश खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्ले लोकमानलाई अख्तियारको प्रमुखमा नियुक्त गरेको थियो । लोकमानलाई अख्तियारको चाबी बुझाउनुमा प्रत्यक्ष अप्रत्यक्ष दलका शीर्ष नेताहरुकै भूमिका थियो ।

    नियुक्तिको विरोधमा भएका आवाजलाई कुनै प्रवाह नै नगरी २०७० वैशाख २५ गतेको दिन बिहान नौ बजे नै ‘आश्चर्यजनक’ र ‘रहस्यमय’ शैलीमा तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले कार्कीलाई शपथ खुवाएका थिए । आफूलाई चित्त नबुझेका कुरामा अनेक अडान लिने तत्कालिन शेरेमोनियल राष्ट्रपतिले कस्को निर्देशन पालना गरेका थिए ? हो, उनलाई नियुक्ति गर्दा त्यतिबेलै राजनीतिक हलचल भएको थियो । भलै नेकपा एमालेका महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुले त्यतिबेलादेखि नै यसको विरोध गरिरहेका किन नहुन् ।

    नियुक्तिको समर्थन गर्ने काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको निधन भइसकेको छ । तर शेरबहादुर, प्रचण्ड, झलनाथ र बाबुराम अझै पनि छन् । उनीहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्छ । एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल र शीर्ष नेता केपी शर्मा ओली हुन् या मधेश केन्द्रीत दलका विजय गच्छदार र उपेन्द्र यादवहरुले सार्वजनिक माफी माग्नुपर्छ ।

    तर, लोकमानले जब जिम्मेवारी सम्हाले, घाइते बाघझैं आक्रामक शैलीमा आफू विरोधीलाई सक्ने खेल सुरु गरे । एक किसिमले आतंक नै सिर्जना गरे । हुर्कंदै गरेको लोकतन्त्रमाथि नै धाबा बोल्ने काम गरे । हुन त लोकमानलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णय लगतै अधिवक्ता ओमप्रकाश अर्यालले योग्यताको प्रश्न नउठाएका हैनन् । लोकमानको योग्यता नपुगेकाले त्यसलाई रोकी पाउँ भन्दै उनले रिट निवेदन समेत दिएका थिए । तर, नियुक्ति रोकिएन । न रोकियो दादागिरी ।

    २०७१ असोज ८ मा न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले राजप्रसाद सेवा समेत जोडेर लोकमान नियुक्तिका लागि योग्य भएको फैसला सुनाएको थियो । यसमा सर्वोच्च अदालत पनि चुकेको देखिन्छ ।

    तर, अहिले सर्वोच्च अदालतले तिनै लोकमानको फैसला उल्टाइदिएको छ । र, आफैले गरेको गल्ती सच्चाएको छ । लोकमान प्रवृत्तिलाई भष्म पारेको श्रेय पनि न्यायपालिकाले नै लिएको छ ।

    लोकमानको दादागिरीलाई चुपचाप सहिरहेका नेताहरुले ढिलै भए पनि गत कात्तिकमा महाअभियोग दर्ता गराए । तर, त्यसलाई अगाडि बढाउने विषयमा रनभुल्ल देखियो । झन् अनेकौं विवाद र भासमा दलका नेताहरु फसे । आफूले गरेको गल्ती सच्चाउने मौका इतिहासले एकपटक दलहरुलाई दिएकै हो । तर, उनीहरुले त्यो मौका बुझेनन् । बरु, आफै खुट्टा तानातान र जोडघटाउमा व्यस्त रहे । यतिबेला सर्वोच्च अदालत हाइहाइ भएको छ, लोकमानलाई लोकतन्त्रको चाबी बुझाउन तयार भएका दलका नेताहरु आलोचनाका पात्र बनेका छन् ।

    लोकमानको दादागिरीका सामु नेताहरु तैं चुप मै चुप भए पनि गुल्मेली युवा कानुन व्यवसायी ओमप्रकाश अर्यालले हरेश खाएनन् । पटकपटक रिट निवेदन गरे, जति नै पटक सर्वोच्चले खारेज गरेपनि । अन्ततः २०७३ भदौमा रिट बिउँतिएपछि फेरि लोकमान प्रकरणले अर्कै मोड लियो । अर्यालले दायर गरकै रिटउपर अहिले सर्बोच्चले फैसला समेत गरेको छ । कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुन अयोग्य छन् भनेर अभिवक्ता अर्यालले जे दाबी गर्दै आएका थिए, त्यो कुरा अहिलेसर्वोच्च अदालतले प्रमाणित नै गरिदिएको छ ।

    कार्कीको योग्यता नपुगेको भन्दै परेको रिट खारेज गर्ने सर्वोच्चको यसअघिको आदेश खारेज गर्दै नयाँ आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय (ग) र (ङ) बमोजिम योग्यता नभएको व्यक्ति लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०र२२ निर्णय, सो सिफारिस बमोजिम राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर ठहर्छ ।

    नियुक्तिका सन्दर्भमा दलका नेताहरुबाट जुन गल्ती भएको थियो, त्यो गल्तीलाई अदालतले पनि स्थापित गरिदिएको छ । फैसलाले नेताहरुको अदुरदर्शिताको पनि पुष्टि भएको छ । अयोग्य र रायमाझी आयोगबाट दोषी ठहर भएका कार्कीलाई अख्तियार प्रमुखमा योग्य ठानेर नियुक्त गर्ने नेताहरुको धरातल पनि यो फैसलाले प्रमाणित गरिदिएको छ । नैतिकतालाई तिलान्जली दिँदै उच्च नैतिक चरित्र नै नभएका र अख्तियार प्रमुख बन्नका लागि २० वर्षको विषयगत योग्यता नै नपुगेका व्यक्तिलाई नेताहरुले अख्तियारको चाबी सुम्पिए ।

    आखिर चौतर्फी विरोधका बाबजुद लोकमानलाई नै अख्तियारको प्रमुख बनाउनुपर्ने बाध्यता दलका नेताहरुमा किन आइलाग्यो । आखिर कस्को दबाबमा दलका नेताहरुले जनताको भावना निमोठ्न बाध्य भएका थिए ?

    नियुक्तिको समर्थन गर्ने काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको निधन भइसकेको छ । तर शेरबहादुर, प्रचण्ड, झलनाथ र बाबुराम अझै पनि छन् । उनीहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्छ । एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल र शीर्ष नेता केपी शर्मा ओली हुन् या मधेश केन्द्रीत दलका विजय गच्छदार र उपेन्द्र यादवहरुले सार्वजनिक माफी माग्नुपर्छ ।

    ‘लोकमान’ प्रवृत्तिका नाइके लोकमानसिंह कार्की जस्तै थुप्रै लोकमानहरु अहिले पनि राज्यका विभिन्न निकायमा विद्यमान छन् । जसले विधि, पद्दति, सामाजिक न्याय भन्दा पनि आफूलाई केन्द्रमा राख्छ । र, जनतालाई रैती ठान्छ । यस्ता प्रवृत्तिविरुद्ध लड्न समाजका विभिन्न तहमा थुप्रै अभियानहरु भएका छन् । उनीहरु झन् एकजुट र सशक्त बन्नुपर्छ । कमसेकम् सर्वोच्चले अब योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशको समेत आदेश दिएको छ । अब पनि यस्तो गल्ती नदोहोरियोस् ।

    दैनिक नेपालबाट । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij