प्रकाशित मिति : शनिबार, माघ १, २०७३

काठमाडाै, १ माघ । चरम मतभेद, दुई सदस्यको बहिष्कार र राजनीतिक हस्तक्षेपबीच न्याय परिषद्ले बिहीबार मध्यरातमा उच्च अदालतका ८० न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ ।
‘षड्यन्त्रपूर्ण’ तरिकाले न्यायाधीश नियुक्ति भएको भन्दै वरिष्ठतम न्यायाधीश तथा न्यायपरिषद् सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाले बैठक बहिष्कार गरेपछि परिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजयशंकर नायक र सदस्य पदमप्रसाद वैदिकबीच न्यायाधीशहरूको सूचीमा सहमति बनेको थियो ।
मन्त्री नायक र सदस्य वैदिक दुवै माओवादी केन्द्रसँग आबद्ध छन् । यो नियुक्तिप्रति नेपाल बार एसोसिएसनले कडा प्रतिरोध गर्दै यसलाई नसच्याएसम्म प्रधानन्यायाधीश कार्कीको कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेको छ । शुक्रबार नै न्यायाधीश उपाध्यायको बिदाइ कार्यक्रममा बारले सहभागिता जनाएन ।
तीन सदस्यको निर्णयअनुरूप परिषद्ले जिल्ला न्यायाधीशबाट ३४ जना, विशिष्ट श्रेणीबाट पाँच, न्याय सेवाका अधिकृतबाट ६, पुनरावेदनका पूर्वअतिरिक्त न्यायाधीशबाट १० र कानुन व्यवसायीबाट २५ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । कानुन व्यवसायीमध्येबाट न्यायाधीशमा राजनीतिक भागबन्डा भएको छ । न्यायाधीश नियुक्तिका लागि बिहीबार बिहान दस बजे परिषद् बैठक डाकिए पनि प्रधानन्यायाधीश कार्की नै उपस्थित नभएपछि सदस्य उपाध्यायसहितका पदाधिकारी बाहिरिएका थिए ।
परिषद् स्रोतका अनुसार त्यसपछि प्रधानन्यायाधीश कार्कीले दिउँसो साढे बाह्र बजे बालुवाटारस्थित निवासमा बैठकका लागि सदस्यलाई डाकेकी थिइन् । तर त्यहाँ पनि प्रधानन्यायाधीश स्वयम् अनुपस्थित रहेका कारण उपाध्यायसँगै अर्का सदस्य सिटौला निवासबाट बाहिरिएका थिए । त्यसपछि बेलुकी पाँच बजे बैठक बस्ने भनेर सदस्यलाई डाकिएको थियो । त्यस समयमा सिटौला नगए पनि उपाध्याय भने पुनः उपस्थित भएका थिए । त्यहाँ आफ्नो कुनै सुनुवाइ हुने अवस्था नरहेपछि केही क्षण बसेर उपाध्याय बाहिरिएका थिए ।
‘सरकार ढल्ने कुरा आयो । मिलाएर सिफारिस गर्नुपर्यो भनेर पर्खाल जोडिएको सँगैको घर (प्रधानमन्त्री निवास) बाट फोन आउन थालेपछि उपाध्याय पनि त्यहाँबाट बाहिरिए’, स्रोतले भन्यो, ‘त्यतिबेला बालुवाटार निवासमा रहेका प्रधानन्यायाधीशका श्रीमान् दुर्गा सुवेदी पनि सबैले मिलाएर गरे भइहाल्छ नि, किन बाहिरिनुपर्यो भनेर रोक्ने प्रयास गर्दै हुनुहुन्थ्यो ।’
यता अर्का सदस्य सिटौला भने बारको भावनाअनुरूप सिफारिस हुन नसक्ने अवस्था देखेपछि दिउँसोबाटै बैठक बहिष्कार गरेर घरमा बसेका थिए । दुवै सदस्यले बहिष्कार गरेपछि बहुमतको बलमा राति साढे बाह्र बजे न्यायाधीश सिफारिसको निर्णय भएको थियो ।
परिषद् निर्णयले संवैधानिक मान्यता र न्यायपालिकाको गरिमामा आघात पुर्याएको भन्दै नेपाल बारले कडा विरोध गरेको छ । परिषद्कै सदस्यद्वय उपाध्याय र सिटौलाको अनुपस्थितिमा भएको सिफारिसको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बारले दुर्भाग्यपूर्ण भनेको छ ।
दुईजना सदस्य नभएको मौका छोपेर एकलौटी निर्णय भएको भन्दै बारले पूर्ण असहमति रहेको जनाएको हो । ‘कानुन व्यवसायीबाट ५० प्रतिशत न्यायाधीश हुनुपर्छ भनी बारले गरेको मागको बेवास्ता गर्दै संविधानको धारा १४० र न्यायपरिषद् ऐन, २०७३ को दफा ५ (१) को उपहास हुनुका अतिरिक्त समावेशी र समानुपातिक नियुक्तिको अवधारणाविपरीत भएको निर्णयमा पूर्ण असहमति रहेको छ’, बार बैठकपछि महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संविधानको उक्त धारामा उच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था छ । यस्तै परिषद् ऐनको उक्त दफामा संविधानको अधीनमा रही समावेशी र समानुपातिक रूपमा योग्यतम् न्यायाधीश सिफारिसको व्यवस्था छ ।
संविधानको धारा १५३ बमोजिम पूर्णता प्राप्त गरेको न्यायपरिषद्बाट दुई सदस्य अनुपस्थित हुँदाहुँदै तीनजना मात्र बसेर गरिएको निर्णय संविधानको मनसाय र भावनाविरुद्ध रहेको ठहर बारको छ ।
‘आवश्यक प्रक्रिया नपुर्याई भएको निर्णयलाई बारले समर्थन गर्न नसक्ने हुँदा संवैधानिक व्यवस्था तथा न्यायपरिषद् ऐनसमेतको प्रक्रिया पुर्याई अविलम्ब उक्त निर्णय पुनर्विचार गर्न बार एसोसिएसन जोडदार माग गर्दछ’, बारको विज्ञप्तिमा उल्लेख छ ।
बार बैठकपछि अध्यक्ष शेरबहादुर केसीले सर्वोच्चकै वरिष्ठ न्यायाधीश उपाध्याय र बारका प्रतिनिधि सदस्य सिटौलाको उपस्थितिबिना भएको निर्णय मान्य नहुने भन्दै कडा आपत्ति जनाए ।
‘प्रधानन्यायाधीशमा उहाँ (कार्की) रहँदासम्म अब हाम्रो सम्बन्ध रहँदैन । हाम्रो घोर अपमान भयो । यो दुर्भाग्यपूर्ण हो’, केसीले अन्नपूर्णसँग भने, ‘निर्णयप्रति हाम्रो कडा रूपले विरोध छ । हामीलाई नै स्वीकार नगरेपछि हामीले मात्र मान्नुपर्छ भन्ने के छ ? ‘
यसैबीच शुक्रबारै अवकाश भएका सर्वोच्चका वरिष्ठ न्यायाधीश एवं परिषद् सदस्य उपाध्यायको बिदाइ कार्यक्रममा उपस्थित हुन प्रधानन्यायाधीश कार्कीले गरेको निमन्त्रणालाई नेपाल बारले बहिष्कार गरेको छ । उपाध्यायप्रति सम्मान हुँदाहुँदै पनि सर्वोच्चको कार्यक्रम रहेकाले बारका कुनै सदस्य उपस्थित नभएको अध्यक्ष केसीले बताए ।
यता परिषद् सदस्य रहेका उपाध्यायले न्यायाधीश सिफारिस प्रक्रियाका कारण न्यायिक इतिहासमा गलत परम्परा बस्ने खतरा उत्पन्न भएको बताउँदै कडा आपत्ति जनाएका छन् ।
उनले प्रधानन्यायाधीश कार्कीको रबैयाका कारण आफू अधिकारबाट वञ्चित हुने अवस्था उत्पन्न भएको समेत बताए ।
उनले आफूलाई बैठकमै सहभागी गराउन नचाहेको मनसाय बुझेपछि बाहिरिनुपरेको पनि बताए ।
‘पूरै राजनीतिक माहोलमा प्रधानन्यायाधीशको क्वार्टरमा मध्यरातमा सिफारिस हुनु राम्रो काम भएन । बहुमतको कायम त होला तर पूर्णता भएन’, उपाध्यायले भने, ‘म पनि मेरो अधिकारबाट वञ्चित भएको छु ।
झगडामा म पस्न चाहन्नँ तर सबैको प्रतिनिधित्व भएको भए राम्रो र सहज हुने थियो’, उनले भने ।
परिषद् सदस्य रहेका सिटौलाले दिउँसो बैठक बहिष्कार गरेर हिँडेपछि आफू अवकाश हुनुभन्दा अघिल्लो दिन राति बैठक डाक्ने कुराप्रति उपाध्यायको आपत्ति छ ।
उक्त निर्णय अवैधानिक एवम् विभेदपूर्ण रहेको प्रश्न उठाउँदै उल्ट्याउन माग राखेर कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । कानुन तथा न्यायमन्त्री अजयशंकर नायकले न्यायाधीश सिफारिस योग्य र समावेशी रहेको भन्दै परिषद् निर्णयको बचाउ गरेका छन् । आजको न्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij