प्रकाशित मिति : आइतवार, माघ ९, २०७३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो बैशाख २५ गते स्थानीय तहको निर्वाचन गर्नेगरी माघ १५ गते चुनावको घोषणा गर्ने बताएका छन् ।
संसदीय पत्रकार मामिला समाजको संसदीय पत्रकारिता पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले छिटोमा बैशाख २५ र ढिलोमा बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने योजना सहित चुनावको घोषणा गर्ने बताएका हुन् ।
शुक्रबार राजनीतिक दलका नेताहरुबिचको छलफलबाट निर्वाचनका लागि महत्वपूर्ण समझदारी बढेको बताँउदै उनले निर्वाचन आयोगलाई एक सय दिनको समय दिएर निर्वाचन गराउने बताए । उनले माघ १५ गतेसम्म ६ दिन निर्वाचन कानुन निमार्णका लागि खर्चने र आयोगलाई कानुन दिएर निर्वाचनमा होमिने बताए ।
यसमा अरु दलहरु पनि सहमत हुने उनले बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चा पनि सहभागी हुने आफूसँग सुत्र रहेको बताएका छन् । उनले संविधान संसोधन विधेयक संसदमा टेबुल भइसकेको अवस्थामा राजनीतिक दलहरुबिच समझदारी गरेर वा प्रक्रियामा गएर वा तेश्रो विकल्पका रुपमा नयाँ तरिकाबाट संविधान संसोधनको प्रक्रिया अगाडि बढाउने बताए ।
उनले त्यो नयाँ संसोधनको प्रक्रियाबाट मधेशी मोर्चा पनि सन्तुष्ट हुने र मधेशी दल पनि सहभागी हुने दावी गरे । चुनावमा जान मधेशी दल समेत जाने संविधान संसोधनको उक्त नयाँ प्रक्रियाका बारेमा भने उनले केही खुलाएनन् ।
उनले भने–“संविधान संसोधन विधेयक संसदमा टेबुल भइसक्यो, अब कि दलहरुको समझदारीबाट, कि प्रक्रियाबाट नभए संसोधनको नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्छ । संसोधनको प्रक्रियालाई निरन्तरता दिँदै अब स्थानीय तहको निर्वाचनमा जानुको कुनै विकल्प छैन ।”
उनले बैशाख ३० भित्र पनि चुनाव हुन नसके जेठको दोश्रो हप्तासम्म भएपनि चुनाव गरेर छोड्ने बताए ।
देश अप्ठ्यारोमा परेको बेला आफूले कठोर निर्णय लिने गरेको बताँउदै उनले फेरी एउटा कठोर निर्णय गरेर अगाडि बढ्न आफूलाई तयार पारेर राखेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जनताले निर्वाचन चाहेकाले तत्काल तीनै तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरे । निर्वाचनको मिति तत्काल घोषणा गरेर अघि बढनुको विकल्प नरहेको भन्दै सरकारलाई सचेत पनि गराए ।
उपनेता नेम्वाङले संविधान कार्यान्वयन गर्ने जनतासँग गरेको कवुल अनुसार दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्मरण गराए ।
उपनेता नेम्वाङले संविधान कार्यान्वयनको कामलाई बेवास्ता गरे जनता चुप लागेर नबस्ने चेतावनी पनि दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij