प्रकाशित मिति : आइतवार, माघ २३, २०७३
काठमाडौं । वित्तीय बजारमा तरलता अभाव भएका वेला वाणिज्य बैंकहरूको नाफा भने अत्यधिक वृद्धि भएको देखिएको छ । बैंकहरूले गत वर्षको तुलनामा नाफा रकम ५१ प्रतिशत बढाएका छन् । कुल २८ वाणिज्य बैंकमध्ये पहिले वित्तीय विवरण प्रकाशित गरेका १४ बैंकको औसत नाफा ५१ प्रतिशत बढेको हो । यसमध्ये नेपाल इन्भेष्टमेन्ट, प्रभु र हिमालयन बैंकले आर्थिक वर्षको दोस्रो त्रैमासिकमै १ अर्ब रुपैयाँभन्दा धेरै नाफा गरेका छन् । आवको पहिलो ६ महिनामा कमाएको नाफा रकम ती बैंकले गत आवको वर्षभरिमा कमाएको रकमको ६२ दशमलव ३७ प्रतिशत हो । आजको नयाँ पत्रिकामा खबर छ ।
बैंकहरूले अत्यधिक मात्रामा कर्जा प्रवाह गरेका कारण उनीहरूको ब्याज आम्दानी बढ्दा नाफामा सहयोग पुगेको बैंकरहरूले बताएका छन् । ‘पुँजी वृद्धिपछि बैंकहरूमाथि व्यावसायिक दायरा बढाउने ठूलो दबाब थियो,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘त्यसले बैंकको नाफा रकम बढ्नमा सहयोग गरेको देखिन्छ ।’ १४ वटा बैंकले मात्रै पुस मसान्तसम्म १० अर्ब ३ करोडभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् ।
खराब कर्जाको दर पनि खुम्चियो
बितेको एक वर्षमा बैंकहरूको खराब कर्जाको दर पनि खुम्चिएको देखिएको छ । गत वर्षको पुस मसान्तमा औसत १ दशमलव ५५ प्रतिशत रहेको १४ बैंकको खराब कर्जाको दर यो वर्ष भने २६ आधार बिन्दु घटेर १ दशमलव २९ प्रतिशतमा झरेको छ । यस्तो दर कम हुनुमा प्रभु बैंकको खराब कर्जाको दर कम हुनुले ठूलो प्रभाव पारेको देखिन्छ । गत वर्ष झन्डै साढे ७ प्रतिशत रहेको प्रभुको खराब कर्जाको दर यो गत पुस मसान्तमा ५ प्रतिशतभन्दा तल झरेको छ । यसबाट प्रभुको नाफामा पनि भारी वृद्धि भएको देखिन्छ ।
बैंकहरूले निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर (स्प्रेड) घटाए पनि नाफामा सुधार भएको देखिएको हो । यस अवधिमा बैंकहरूले स्प्रेड दर भने गत वर्षको तुलनामा ९ आधार बिन्दुको साँघुरो अन्तरले घटाएका छन् । पछिल्लो समय मुद्दती निक्षेपको ब्याजदर बढ्न थालेपछि स्प्रेडमा चाप परेको हो ।
कर्जा विस्तारको प्रभाव
पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरूको तथ्यांकले निक्षेपको तुलनामा कर्जाको विस्तार ६ प्रतिशत बिन्दुभन्दा बढी रहेको देखिएको छ ।

पछिल्लो एक वर्षमा बैंकहरूमा जम्मा भएको निक्षेप रकम औसत ३४ दशमलव २२ प्रतिशत बढेको छ भने कर्जा रकम औसतमा ४० दशमलव ६३ प्रतिशत बढेको छ । निक्षेपको ८० प्रतिशतसम्म मात्रै कर्जा विस्तार गर्नुपर्नेमा निक्षेपभन्दा बढी कर्जा प्रवाह भएपछि बैंकहरूको ब्याज आम्दानीमा वृद्धि भएको छ ।
बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) पनि गत वर्षको तुलनामा २ दशमलव ०३ प्रतिशत बिन्दुले बढाएर ७८ दशमलव १४ प्रतिशत पुर्याएका छन् ।
अब बैंकहरूले थप निक्षेप रकमको १ दशमलव ८६ प्रतिशत मात्रै कर्जा विस्तार गर्न पाउँछन् । आवको पहिलो ६ महिनाको तथ्यांकअनुसार उक्त १४ बैंकको खुद ब्याज आम्दानी औसतमा ४१ दशमलव ५५ प्रतिशत बढेको छ । यसले नाफामा ठूलो सहयोग पुर्याएको बैंकरहरू बताउँछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij