प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३
शिक्षकहरूको लिखित परीक्षाको उत्तरपुस्तिका बहुपरीक्षकबाट परीक्षण गराउन सुरु गरिएको छ । शिक्षक सेवा आयोगले परीक्षण प्रणालीलाई विश्वसनीय र भरपर्दाे बनाउन बहुपरीक्षकबाट परीक्षण थालेको हो ।
आयोगले हाललाई लिखित परीक्षामा एक हजारभन्दा कम उम्मेदवार भएका विषयको उत्तरपुस्तिका मात्र बहुपरीक्षकबाट परीक्षण गराएको छ । आयोगले निम्न माध्यमिक प्रथम र माध्यमिक प्रथम श्रेणीको आन्तरिक प्रतियोगितात्मक परीक्षाको उत्तरपुस्तिका बहुपरीक्षकबाट परीक्षण गराएको छ ।
आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले बहुपरीक्षकबाट उत्तरपुस्तिका परीक्षण गराउने अभ्यासले परीक्षार्थीको मूल्याङ्कन वस्तुनिष्ठ हुने दाबी गर्दै दुई जनाबाट बेग्लाबेग्लै परीक्षण गराउने गरिएको बताए ।
आयोगले ती दुवै तहको लिखित परीक्षामा दुई बेग्लाबेग्लै परीक्षण गराउँदा परीक्षकहरूले भिन्नाभिन्नै अङ्क प्रदान गरेका थिए ।
उनले पहिलो परीक्षकले खाली पानामा र दोस्रो परीक्षकले उत्तरपुस्तिकामा नै अङ्क प्रदान गर्ने व्यवस्था गरिएको बताउँदै दुवै परीक्षकबाट प्राप्त भएको प्राप्ताङ्कलाई जोडेर औसत अङ्क निकालिएको जानकारी दिए । उनका अनुसार यसरी उत्तरपुस्तिका परीक्षण गर्ने दुवै परीक्षक एकले अर्काका बारेमा थाहा नपाउने अवस्था रहन्छ ।
यस्तो व्यवस्था हाल ऐच्छिक विषयका उत्तरपुस्तिकामा मात्र प्रयोगमा ल्याइएको छ। अनिवार्य विषयहरूमा परीक्षार्थीको सङ्ख्या हजारौँ पुग्छ। कतिपय विषयमा ४० हजारभन्दा बढी परीक्षार्थी हुने गरेका छन् ।
“भर्खरै बहुपरीक्षकबाट परीक्षण गराउन थालेका हौँ”, उनले भने, “हाललाई सबै विषयमा यस्तो व्यवस्था लागू गर्न सम्भव छैन। बहुपरीक्षकबाट परीक्षण गराउँदा समय लाग्ने भएकाले हाललाई बढीमा एक हजारसम्म परीक्षार्थी भएका विषयमा मात्र लागू गरेका छौँ । पछि सबै परीक्षार्थीका हकमा यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनेछौँ । ”
आयोगले अङ्क प्रदान गर्ने मामिलामा सन्तुलन आउने विश्वासका साथ खुला प्रतियोगितात्मक परीक्षाको प्रश्नपत्रलाई तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्ने र परीक्षण गर्ने व्यवस्था पनि सुरु गरेको छ ।
वस्तुगत खण्ड ‘क’ र विषयगत खण्ड ‘ख’ छुट्ट्याई उत्तरपुस्तिकामा लेख्ने व्यवस्था गत माध्यमिक खुला प्रतियोगिताबाट सुरु गरिएको हो । यसरी फरक उत्तरपुस्तिका फरकफरक परीक्षकलाई परीक्षणका लागि पठाइने गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij