आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यस्तो छ कमल थापाको राजनीति गर्ने ‘स्टाइल’

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ८, २०७३



  • काठमाडौं । उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाको राजनीति गर्ने स्टाइल गज्जबको छ । उनी एकैपटक सत्तापक्ष पनि हुन सक्छन् र विपक्षी पनि । जता पनि ‘फिट’ हुन्छन्, अनि जहिले पनि ‘फिट’ हुन्छन् । एकै साथ सिंहदरवारमा पनि हुन्छन् र सडकमा पनि उत्रिन्छन् ।

    कमल थापाको जस्तो राजनीति कला थोरै मात्र नेतामा हुन सक्छ । कमल थापामाथि ‘मुसा प्रवृति’को आरोप पनि छ । सत्ताका लागि पार्टी एजेन्डालाई भर्याङ बनाएको आरोप सहकर्मीले नै लगाउने गरेका छन् ।

    उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीको जिम्मा लिँदै सिंहदरवार प्रवेश गरेका थिए राप्रपा अध्यक्ष कमल थापा । चुनाव सम्पन्न गराउने अभिभारासहित सिंहदरवार पसेका कमल थापा स्वयम् कार्यकर्तासँगै आज सडकमा देखिए ।

    कमल थापालाई लागेको छ कि, निर्वाचन आयोगले आफनो पार्टीको ‘संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डामाथि प्रतिवन्ध लगाउन खोजेको छ ।

    निर्वाचन आयोगको सो निर्णय पुनर्विचार गर्न माग गर्दै उनले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनका कार्यकर्ताले सडकमा टायर बाल्नेदेखि निर्वाचन आयुक्तहरुको पुत्ला जलाउनेसम्मको काम गरेका छन् ।

    निर्वाचन आयोगले गत शुक्रबार राप्रपाको विधानमा रहेको ‘संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र’ भन्ने शब्दावली संविधान प्रतिकूल रहेको भन्दै हटाइदिएको थियो ।

    सो लगत्तै आक्रोशित बनेका उनले शुक्रबार साँझ नै आफ्नो आधिकारिक ट्वीटरमार्फत आयोगले विचारमाथि प्रतिबन्ध लगाउन खोजेको टिप्पणी गरेका थिए ।

    त्यसको भोलिपल्ट पार्टीको आपतकालीन बैठक बोलाएर निर्वाचन आयोगको विरुद्ध आन्दोलन छेडेका कमल थापा घोषित कार्यक्रम अनुसार हिजो सडकमा देखा परेका हुन् ।

    फागुन २६ गते पार्टीकै कैयन् नेतालाई आश्चर्यचकित पार्दै तामझामसहित सिंहदरवार प्रवेश गरेका थिए, कमल थापा । तीनै कमल थापा हिजो फेरि सडकमा उत्रिएका थिए, जो आफैमा रोचक दृष्य थियो ।

    सिंहदरवार प्रवेश गर्दा कमल थापाले चुनाव गराउने कार्यसूचि पहिलो काम भनेका थिए । तर, हिजो उनी निर्वाचन आयोग विरुद्ध सडकमा उत्रे ।

    आयोगले हिन्दू राष्ट्र र राजसंस्थालाई हटाउने एकपक्षीय रुपमा असंवैधानिक निर्णय गरेको राप्रपाको आरोप छ । राप्रपा यही विषयमा सडक र सदनमा आएको छ ।

    राप्रपाले हिजो नै संसदमा सनातन हिन्दुराष्ट्रको लागि संसोधन प्रस्ताव दर्ता गरिसकेको छ ।

    चुनावकै विषयमा राप्रपाका कार्यकर्ताले आज शक्ति प्रर्दशन गरे । निर्वाचन आयोगले आफ्नो पार्टीको विधानमा हेरफेर गरेको भन्दै राप्रपाले देशभर विरोध प्रर्दशन गरेको थियो ।

    काठमाडौंमा रत्नपार्कदेखि निर्वाचन आयोगसम्म विरोध प्रर्दशनको कार्यक्रम बन्यो ।

    शुरुमा यो कार्यक्रमा कमल थापा जाने भनेर राप्रपाले प्रचार गर्यो । विचरमा सूचना आयो, उनी नजाने भनेर । फेरि केहीबेरपछि उनी जमलमा पुगे ।

    विरोध प्रर्दशनमा पुगेका राप्रपा नेता–कार्यकर्ता प्रहरीसँग भिडे । वरिष्ठ नेता पशुपति समशेर राणा समान्य घाइते भए । अरु केहि कार्यकर्ता पनि घाइते भएको राप्रपाको दाबी छ ।

    सोलगत्तै कमल थापा पनि निर्वाचन आयोग अगाडि पुगेर सडकमै धर्नामा बसे । प्रहरीसँगको तनावपछि आयोगमा पुगेर ज्ञापन पत्र बुझाए । उपप्रधानमन्त्री आफै संवैधानिक आयोगको घेराउमा पुगेको रोचक दृष्य थियो । र, केही प्रश्नहरु पनि ।

    पदभार ग्रहण गर्दाको दिन कमल थापाले चुनाव आफ्नो मुख्य लक्ष्य रहेको बताएका थिए ।

    आइतवार साँझ निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको थियो, जहाँ प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राप्रपाको मुद्दाका विषयमा आयोगको धारणा सुनाएका थिए । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय संविधानसम्मत भएको जनाएको छ ।

    प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय संविधान र कानुनसम्मत भएको बताए । उनले संविधानको मर्म अनुसार लिइएको निर्णयलाई अन्यथा लिन नहँुने बताएका थिए ।

    प्रमुख निर्वाचन आयुक्त यादवले धर्म निरपेक्ष संविधानले व्यवस्था गरेको बताएका थिए । राजनीतिक दल दर्ता ऐन र संविधानको धारा २६९, २७० र २७१ मा गरिएको व्यवस्था अनुसार राप्रपाको विधानबाट केही शब्द झिक्नु परेको आयोगको भनाई छ ।

    कमल थापाले सत्ता र सडकको राजनीतिक पहिला देखि गर्दै आएका छन् । सरकारमा पुगेपछि उनले सवैभन्दा पहिला संसोधन प्रस्तावको विषयमा दोहोरो चरित्र देखाए । पदभार ग्रहण गरेको केही दिनमै उनले सरकारले अगाडि सारेको संविधान संसोधन प्रस्ताव संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । उनको यो अभिव्यक्ति आलोचनापूर्ण रह्यो । काँग्रेस नेता डा.शेखर कोइरालाले कमल थापालाई सम्झाउँदै भनेका थिए , ‘सरकारमा बसेर संसोधन प्रस्तावको विरोध गर्नु नैतिक हुँदैन ।’

    कमल थापाको विगत पनि बढो रमाइलो छ । उनी पंचायतमा फिट नेता हुन् । बहुदलमा पनि फिट । शाही ‘कु’ हुँदा पनि मन्त्री बन्ने र गणतन्त्रमा पनि मालदार मन्त्रालय पाउने । त्यसैले त उनलाई मानिसहरु राजनीतिका ‘आलु’ मान्छन् । आलु तरकारीमा जहाँ पनि मिसाउन मिल्ने । त्यतिमात्रै होइन उनले ०५४ सालमा आफ्नै पार्टीका तत्कालिन अध्यक्ष लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकार ढाल्न सहयोगी भूमिका खेलेका थिए । लोकेन्द्र बहादुर चन्दले त्यतिबेलै उनलाई मुसाको संज्ञा दिएका थिए ।

    कमल थापाको मन्त्री इतिहास

    २०५२ देखि अहिलेसम्म ८ पटक मन्त्री भएका छन् ।
    –२०५२ भदौ २७ मा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था, स्थानीय विकासमन्त्री भए ।
    –०५३ चैत्र १२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक योजना र परराष्ट्र मन्त्री भए ।
    –०५४ असोज २१ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी कृषि र परराष्ट्रमन्त्री भए ।
    –२०६५ मंसिर १८ मा सूर्यबहादुर थापाका पाला परराष्ट्रमन्त्री भए ।
    –२०६० जेठ २८ मा सूर्यबहादुर थापाका पाला संचार, स्थानीय विकास र स्वास्थ्य मन्त्री भए ।
    –२०६२ मंसिर २२ मा ज्ञानेन्द्रको शासन कालमा गृहमन्त्री भए ।
    –२०७२ असोज २४ गते केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्र र स्थानीय विकासमन्त्री भए ।
    –२०७३ फागुन २६ मा प्रचण्ड सरकारको पालामा उपप्रधान तथा स्थानीय विकास मन्त्री भए ।

    राजनीतिक मुल्य मान्यता लत्याएर जसरी पनि सत्तामा पुग्ने प्रवृति देखाउने नेतालाई गणतन्त्रका मुसा भनेर आलोचना हुने गरेको छ ।

    विजय गच्छदारदेखि प्रेमबहादुर सिंहसम्मको नाम यस्तो प्रवृतिमा जोडिने गरेको छ । गच्छदार २०५१ देखि २०७२ सम्म ११ पटक मन्त्री बनेका छन् । गच्छदार अहिलेको सरकारमा जान पनि खुट्टा उचालेर बसेका छन् । सीपी मैनाली पनि यस्तै प्रवृतिका नेताका रुपमा चिनिन्छन् ।

    संसदीय इतिहासमा कमल थापा मुसा प्रवृतिले चर्चित छन् । उनले मन्त्रीको झण्डा हल्लाउँदै आफ्नै मन्त्रीपरिषद्का प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दविरुद्व मत हालेका थिए ।
    १८ असोज ०५४ मा थापा आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए । कांग्रेसको समर्थनमा सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस भयो । र, राप्रपाकै अर्का नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइयो ।

    यस खेलमा थापा निर्लज्ज ढंगले मैदानमा उत्रिए । मन्त्रीको झन्डा हल्लाउँदै संसद्मा गएर आफ्नै मन्त्रिपरिषद्का प्रधानमन्त्री चन्दविरुद्ध मत हाले ।
    यसलाई लक्षित गर्दै लोकेन्द्रबहादुर चन्दले भनेका थिए ।

    ‘मुसाले आज आफैं सवार जहाज काटेर दुर्घटना गराएको छ । र, यो मुसा अर्को जहाजमा पुगेको छ । मुसाले मेरो जहाज दुर्घटना गरायो भनेर साथीहरु दंग हुन जरुरी छैन । त्यो मुसाले भोलि तपाईहरु सवार जहाजलाई पनि काटेर कुनै बेला दुर्घटना गराइदिन सक्छ । किनभने मुसा प्रवृतिले कसैलाई पनि फाइदा गर्दैन् ।’

    कमल थापामाथि आफ्नै पार्टीभित्रबाट पनि विभिन्न आरोप लाग्ने गरेको छ । राजसंस्थाको विरासतमा हुर्के–बढेपछि कमल थापाले अहिले राजसंस्था छाडेको भनेर उनको आलोचना हुने गरेको छ । त्यसबाहके हिन्दु राष्ट्रको मुद्दालाई उनले सत्ता चढ्ने भ¥याङ बनाएको आरोप उनकै पार्टी नेता–कार्यकर्ताले लगाउने गरेको छ ।

    अहिले सरकारका दुई उपप्रधानमन्त्रीबीच बरियताको विवाद छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच दोस्रो बरियतामा के भन्ने विवाद सतहमा आएको छ । संचारमाध्यममा कभरेज छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij