आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिरहेका खेलाडीको गुनासो- भत्ता थोरै हुँदा टिक्नै गाह्रो

  • प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७३



  • विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण स्थगित भएको राष्ट्रिय टिम तयारी राखेपको वार्षिक कार्यक्रमअनुसार फागुन २६ देखि सुरु भएको हो । तर अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी अघि बढाइएको टिम तयारीमा सहभागी खेलाडी भने राखेपले उपलब्ध गराउँदै आएको न्यून भत्ताका कारण विभिन्नखाले मानसिक दबाब झेल्न बाध्य छन् । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

    अपर्याप्त भत्ताका कारण उनीहरूको ध्यान अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीभन्दा पनि अपर्याप्त डाइट र बसोबासको समस्यामा बढी केन्द्रित हुने गरेको छ । अर्को वर्ष इन्डोनेसियाको राजधानी जकार्तामा हुने एसियाली खेलकुद र सन् २०१९ मा नेपालमै आयोजना हुने भनिएको १३ औं सागलाई ध्यानमा राखी पदकको सम्भावना भएका १२ वटा एकल खेललाई प्रशिक्षणमा समावेश गरिएको राखेपले जनाएको छ।

    राष्ट्रिय टिम तयारीका लागि खेलाडी चयन गर्दा १२ औं सागको नतिजा, सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हासिल गरेको सफलता र एकल खेललाई प्राथमिकतामा राखिएको जानकारी राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले दिए ।

    उनले १२ औं साग र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका खेलाडीलाई राष्ट्रिय तयारी टिममा सहभागी गराइएको बताए । राखेपले राष्ट्रिय टिममा सहभागी खेलाडीमध्ये उपत्यका भित्रकालाई दैनिक तीन सय र उपत्यका बाहिरकालाई ६ सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।

    खेलाडीलाई प्रदान गरिने दैनिक भत्तामध्ये दुई सय रुपैयाँ भने ‘डाइट’ का लागि कटाउने गरिएको जानकारी संयोजक रानाभाटले दिए । उनका अनुसार यस आर्थिक वर्षमा राष्ट्रिय टिम तयारीका लागि तीन करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    राष्ट्रिय टिम तयारीमा सहभागी खेलाडीले राखेपले दिने भनेको भत्ताबापतको रकम हालसम्म आफूहरूले नपाएको गुनासो गरेका छन् । १२ औं सागकी स्वर्णपदक विजेता उसुकी नीमा घर्तीमगरले दिनहुँ ‘डाइट’ खान पाए पनि पकेट खर्चबापतको रकम अहिलेसम्म नपाएको बताइन् । ‘समग्रमा हामीलाई दिइने डाइट त ठीकै छ तर भत्ताबापतको बाँकी रकम भने अहिलेसम्म पाउन सकिएको छैन’, उनले भनिन्।

    उसुका राष्ट्रिय खेलाडी राजु लामाले पनि निकै दु:ख सहेर राष्ट्रिय टिमको तालिम गरिरहेको बताए । धादिङ ७ जीवनपुरका लामा काठमाडौंमा कोठा भाडामा लिएर प्रशिक्षणमा सहभागी छन् । ‘काठमाडौंमा आफन्त कोही छैनन् । प्रशिक्षणकै लागि कोठा भाडामा लिएर बसेको छु । महिनामा चार हजार रुपैयाँ कोठाभाडा तिर्नुपर्छ । राखेपले दिने भनेको भत्ता पनि अहिलेसम्म पाएको छैन । आफ्नै खर्चले अहिलेसम्म धानिरहेको छु’, उनले दुखेसो पोखे ।

     

    काठमाडौंमा अहिले सामान्य खाने हो भने पनि छाकको दुई सय रुपैयाँ पर्छ । यसैगरी होटेल र लजको भाडा पनि महँगो छ । काठमाडौंमा दैनिक पाँच सयभन्दा कम मूल्यको कोठा पाउन कठिन छ । पाइहाले पनि होटेलको सुविधा चित्तबुझ्दो हुँदैन । यस्तो अवस्थामा राखेपले खेलाडीलाई मारमा पारेको गुनासो अधिकांश खेलाडीको छ ।

    खेलाडीले पाउने भत्ता
    उपत्यकाबाहिरका खेलाडी : ६ सय रुपैयाँ
    उपत्यकाभित्रका खेलाडी : तीन सय रुपैयाँ
    डाइटबापत कट्टा गरिने रकम : दुई सय रुपैयाँ

    बाँकी

    उपत्यकाबाहिरका खेलाडी : चार सय रुपैयाँ
    उपत्यकाभित्रका खेलाडी : एक सय रुपैयाँ
    खेलाडीको खर्च
    दुई छाक सामान्य खाना : चार सय रुपैयाँ
    आवास : पाँच सय रुपैयाँ
    राष्ट्रिय टिम तयारीमा सहभागी खेल : १२ वटा
    राष्ट्रिय टिम तयारीमा सहभागी खेलाडी : एक सय ८७ जना
    राष्ट्रिय टिम तयारीमा सहभागी प्रशिक्षक : ५५ जना
    छुट्ट्याइएको बजेट : तीन करोड ३९ लाख रुपैयाँ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij