आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महिला उपप्रमुखमै सीमित

  • प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४



  • तेह्रथुम । आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनैपर्ने बाध्यकारी व्यवस्था भए पनि राजनीतिक दलहरूले महिलालाई दोस्रो तह अर्थात् उपप्रमुखमा मात्रै सीमित गर्ने देखिएको छ । ठूला दलहरूले महिलाको नाम प्रमुख पदमा चर्चामा समेत नल्याएका कारण यस्तो अवस्था आएको हो । समीकरणको तयारीमा रहेका दलहरूले पनि महिलालाई प्रमुखको उम्मेदवार बनाउने संकेत गरेका छैनन् ।

    उम्मेदवारी घोषणा गरिसकेको नेकपा मालेले जिल्लाका ६ वटै स्थानीय तहको प्रमुखमा पुरुषको मात्रै नाम घोषणा गरेको छ । उपप्रमुखका उम्मेदवार भने अझै घोषणा गरिएको छैन । मालेलाई महिला उम्मेदवार बनाउन हम्मेहम्मे परेको बताइँदै छ । दलहरूले महिलाको नेतृत्व विकास गराउन चासो नदिँदा निर्वाचनमा महिला उम्मेदवारको कम चर्चा भएको अधिकारकर्मीहरूले बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

    यस्तै, उम्मेदवार चयनको तयारी गरिरहेका कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि नगरपालिकाको मेयर वा गाउँपालिकाको अध्यक्षमा महिलालाई अवसर दिने सम्भावना देखिएको छैन । प्रमुख पदमा महिलाको उम्मेदवारी दिए पनि हार्ने स्थानमा मात्र दिने तयारी ती दलको छ । ती दलबाट उपप्रमुख पदमा समेत महिला आकांक्षीको त्यति ठूलो चर्चा छैन । तर, महिलालाई उम्मेदवार बनाउनैपर्ने बाध्यकारी अवस्थाले भने दलहरू सकसमा परेका छन् ।

    जिल्लामा म्याङलुङ र लालीगुराँस गरी दुई नगरपालिका र आठराई, फेदाप, मेन्छ्यायेम र छथर गरी चार गाउँपालिका रहेका छन् । ती सबै स्थानीय तहमा कांग्रेसले प्रमुख पदमा पुरुषकै नाम चर्चामा ल्याएको छ । कांग्रेसबाट उपप्रमुखमा समेत महिलाको नाम त्यति धेरै आएको छैन ।

    कांग्रेस–माओवादी र अन्य साना दलको समीकरण बन्ने हल्लाले पनि महिला उम्मेदवारको चर्चा नभएको नेताहरू बताउँछन् । प्रमुख प्रतिपक्षी एमालेबाट पनि प्रमुख पदमा पुरुषकै नाम चर्चामा अगाडि छ । सबै स्थानीय तहमा एकल उम्मेदवारी दिने तयारी गरेको एमालेले उपप्रमुखमा भने महिलालाई नै उम्मेदवार बनाउने तयारी गरेको जनाएको छ ।

    माओवादी केन्द्र समीकरण भएमा महिलालाई प्रमुख पदमै उम्मेदवार बनाएर भए पनि उपप्रमुखमा पुरुषको उम्मेदवारी दिने र जित निकाल्ने तयारीमा देखिन्छ । तर, एकल उम्मेदवारी दिनुपर्ने अवस्था आएमा भने माओवादीबाट पनि त्यस्तो सम्भावना कम छ । समीकरण भएमा महिलालाई हार्ने गरी उम्मेदवार बनाउने हल्लाले महिला नेतृहरू त्रसित भएका छन् ।

    मालेले गर्‍यो उम्मेदवार घोषणा
    तेह्रथुम – नेकपा मालेले तेह्रथुमका ६ वटै स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ । पार्टीका जिल्ला सचिव यमनाथ दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका ६ वटै स्थानीय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवारको घोषणा गरेका हुन् ।

    नेकपा मालेले म्याङलुङ नगरपालिकाको मेयर पदमा डिल्ली बुढाथोकी र लालीगुराँस नगरपालिकाको मेयरमा छत्रबहादुर लिम्बूलाई उठाएको छ । त्यसैगरी, मालेले मेन्छ्यायेम गाउँपालिकाको प्रमुखमा थानेश्वर घिमिरे, छथर गाउँपालिका प्रमुखमा माधव दाहाल, फेदाप गाउँपालिकाको प्रमुखमा भक्त रेग्मी र आठराई गाउँपालिका प्रमुखमा कमल सिटौलालाई चयन गरेको छ । यस्तै, मालेले ६ वटै स्थानीय तहका उपप्रमुख र वडाध्यक्षको समेत छिटै उम्मेदवारी घोषणा गर्ने बताएको छ । जिल्लाका अन्य ठूला दलले भने उम्मेदवारी घोषणा गरेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij