प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४
काठमाडौ । भारत भ्रम णमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले कसैको मतदान गर्ने अधिकार हनन् हुन नहुने बताएकीछन् ।
देश विदेशमा रहेका प्रवासी नेपालीहरुले पनि आआफ्नो मत सदुपयोग गर्नुपर्ने उनले उल्लेख गरिन् । उनले भनिन्– तपाईहरुले कसलाई कुन पार्टीलाई मतदान गर्नुहुन्छ, म त्यो भन्दिन तर मतदानबाट तपाईहरु पनि बन्चित नहुनुस् ।’
भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले संसारभरिका महिलाहरुको पीडा एउटै भएको बताइन् ।
देशमा महिलाको अवस्था के छ आफूलाई थाहा नभएको तर नेपाली महिलाले अरु देशभन्दा निकै अधिकार पाएका छन् ।
महिला भएकै कारणले अरु देशमा महिलालाई हराएको कुरा बेलाबेला सुन्न पाइन्छ तर नेपालमा त्यस्तो छैन, उनले भनिन्, नेपालमा ३३ प्रतिशत महिलाको अधिकार सुरक्षित भएको छ, अहिले नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायधिश महिला हुनुहुन्छ, यो खुशीको कुरा हो ।’
सर्वोच्च अदालतको प्रधानन्यायधिश जस्तो गरिमामय पदमा पनि महिला रहेकी बताउँदै उनले राष्ट्रपति, सभामुखभन्दा शक्तिशाली प्रधानन्यायधिश रहेको धारणा राखिन् ।
‘राष्ट्रपति र सभामुखको टिकाटिप्पणी हुन्छ तर प्रधानन्यायाधीशले निर्णय गर्यो भने त्यसलाई कसैले उल्टाउन सक्दैन’, उनले भनिन्, ‘त्यस्तो ठाउँमा पनि महिला रहनु भएको छ, यसमा हामी सबैले गर्व गर्नुपर्छ ।’
अहिले हुन लागेको स्थानीय चुनावमा ४० प्रतिशत महिलाले अधिकार पाउनेसमेत उनले बताइन् । राष्ट्रपति भण्डारीले अरु देशको तुलनामा नेपालमा महिलाहरुको अधिकार प्राप्त हुन लागेको र अझै बढ्ने बताइन् ।
विकेन्द्रीकरणका लागि संघीयता पनि नेपालले प्राप्त गरेको बताउँदै उनले देशको उन्नतीका लागि सबै नेपालीहरु एक हुनु पर्ने बताइन् । छिमेकी राष्ट्रहरुले पनि नेपालको विकास र समृद्धिका लागि सोच दिनुपर्ने र यसमा प्रवासमा रहेका नेपालीहरुको पनि भूमिका हुनुपर्ने उनको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij