आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महाअभियोग प्रस्तावको तयारी १५ दिनदेखि, शीर्ष नेताले नै गरे हस्ताक्षर

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • काठमाडौं । सत्तागठबन्धन दल कांग्रेस–माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने विषयमा दुई सातायता छलफल चलाएको प्रस्तावक कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले जानकारी दिए । तर, कांग्रेसमा हस्ताक्षर अभियान एक सातादेखि सुरु गरेको विश्वकर्माले बताए । उनका अनुसार दुवै पार्टीका शीर्ष नेताहरूले विश्वकर्मा र टेकबहादुर बस्नेतलाई जिम्मेवारी दिएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

    कांग्रेस सांसद अर्जुनप्रसाद जोशीका अनुसार कार्कीविरुद्ध महाअभियोग प्रस्ताव लगाउने विषयमा कांग्रेस र माओवादी दुवै पार्टीका शीर्ष नेतृत्वबीच पटक–पटक छलफलपछि आधार तयार भएको हो । ‘प्रधानन्यायाधीश पदमा रहेर कार्कीले न्यायालयको विधि र प्रक्रियाभन्दा आग्रह–पूर्वाग्रहका आधारका काम गर्न थाल्नुभयो, उहाँका कतिपय निर्णय बदलाको भावना राखेर हुन थाल्यो, त्यसो भएपछि हामीलाई शंका र चिन्ता लागेको थियो, त्यसैले पनि हामी महाअभियोग प्रस्ताव लगाउने निर्णयमा पुग्यौँ,’ जोशीले भने ।
    माओवादी केन्द्रका सांसदहरूले भने अभियोग प्रस्ताव दर्ता नहुँदासम्म कार्कीविरुद्धको महाअभियोगको सुइँकोसम्म पाएका थिएनन् । माओवादी केन्द्रले आइतबारको संसद् बैठकका लागि आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको थियो । दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले बानेश्वरस्थित संसद् भवनमै आफ्ना सांसदहरूलाई उपस्थितिपुस्तिकामा हस्ताक्षर गराएका थिए । त्यही हस्ताक्षरलाई महाअभियोग प्रस्तावका रूपमा प्रयोग गरिएको हुन सक्ने माओवादी सांसदहरूको बुझाइ छ । ‘यस्ता विषय प्रचार गरेर गर्ने विषय थिएन, त्यही भएर यसरी प्रयोग गरिएको पनि होला,’ माओवादी केन्द्रका एक सांसदले भने ।

    शीर्ष नेताले नै गरे हस्ताक्षर
    प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगमा कांग्रेसका एक सय ८९ र माओवादी केन्द्रका ६० सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा कांग्रेस–माओवादी केन्द्रका शीर्ष नेताहरूसमेत छन् ।
    कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, गोपालमान श्रेष्ठ, डा. आरजु देउवा र मन्त्रीहरू अर्जुननरसिंह केसी, केशवकुमार बुढाथोकीलगायतले हस्ताक्षर गरेका छन् । सूचीमा नाम रहे पनि गगन थापा, पूर्वराष्ट्रपतिका पुत्र डा. चन्द्रमोहन यादव, चन्द्र भण्डारीलगायतले भने हस्ताक्षर गरेका छैनन् ।
    माओवादी केन्द्रबाट टोपबहादुर रायमाझी, अग्नि सापकोटा, अञ्जना चौधरी, गणेशमान पुन, गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, रामनारायण बिडारी, रेखा शर्मा, शक्तिबहादुर बस्नेत, हितराज पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर सूचीमा प्रधानमन्त्री प्रचण्डसम्मको नाम रहे पनि उनले हस्ताक्षर गरेका छैनन् ।

    राजीनामाबारे यसो भन्छन् निधि
    आइजिपी विवादको सुरुवात नै उपयुक्त थिएन । योे विषयमा सरकार र सर्वोच्च अदालतले आ–आफ्नो अधिकार प्रयोग गर्नुपथ्र्यो । तर, मेरै कार्यक्षेत्रभित्र परेको आइजिपी प्रकरणसँग सम्बन्धित विषयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसमा असहमति जनाउँदै मैलै राजीनामा दिएको हुँ ।
    मलाई सभापतिले नै गृहमन्त्रीमा पठाउनुभएको हो । तर, यो घटनामा सभापतिले नै लिएको निर्णयमा मलाई थाहा नदिइएपछि मैले राजीनामा दिएको हुँ । महाअभियोगको विषय सुरुमा एक पत्रकारबाट थाहा पाएपछि प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई सोध्दा बल्ल हो भन्ने थाहा भयो । पहिले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गरिएको हस्ताक्षर नै प्रयोग गरिएछ । यस्तो प्रयोग अरू वेलामा पनि गरिन्थ्यो, तर सोध्ने चलन भए पनि यसपटक सोधिएन ।

    सभापतिसँग सोध्दा तपाईंलाई भन्न सकिएनछ भन्नुभयो । रामचन्द्र पौडेलजीलाई सोध्दा उहाँले ‘मैले नै केन्द्रीय कार्यालयमा आएर थाहा पाएँ’ भन्नुभयो । प्रधानमन्त्रीलाई सोध्दा संशोधनमा दुईतिहाइ पु¥याउनेबारे तपाईंसँग कुरा भइरहेको हो । योसहित महाअभियोगबारे शेरबहादुरजीले भन्नुभयो कि भन्ने लाग्यो भन्नुभयो । त्यसपछि मैले स्वकीय सचिव विश्वासमार्फत राजीनामापत्र पठाएको हुँ । प्रधानमन्त्रीले फोन गरेर किन एक्कासि यस्तो निर्णय लिनुभयो भन्नुभयो, मैले महाअभियोगमा चित्त बुझेन भनेर राजीनामा पठाएको भनेँ ।

    पराजुली कामु प्रधानन्यायाधीश
    सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रूपमा पदबहाली गरेका छन् । पदबहालीका अवसरमा उनले न्यायालयका लागि दुःखद घटना भएको टिप्पणी गर्दै संविधान र कानुनले दिएको दायित्व आफूले पूरा गर्ने बताए । आफूले निष्पक्ष र प्रभावकारी रूपमा काम गर्ने बताउँदै पराजुलीले भने, ‘सत्यको पक्षमा न्यायालय सदा उभिनेछ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij