प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
काठमाडौ। नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्राईले नेपाली राजनीतिमा विकसित केही घटनाक्रमहरुले लोकतन्त्र गम्भीर संकटमा परेको बताएका छन् ।
डा. बाबुरामले केहीबेरअघिमात्रै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लोकतन्त्रका पहरेदार हुनुपर्ने राजनीतिक दलहरु नै यस्तो संकट निम्त्याउने एजेन्ट बन्नु चिन्ताको विषय भएको पनि बताएका छन् ।
जनतासँग सोझो सरोकार भएका सबै संस्थाहरुको चरम दलीयकरण र नेतृत्व पंक्तिको नैतिक पतनले संकट निम्त्याएको डा बाबुरामको ठहर छ ।
डा. भटराइले लेखेका छन् –‘नेपाल प्रहरी प्रमुखको नियुक्तिमा देखिएको विवाद र त्यो विवाद बढ्दै गएर प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाअभियोगसम्म पुग्नु बिडम्बना हो । साथै, यो आँफैमा नेपालका प्रमुख राजनीतिक दल र ति दलका नेतृत्वको अक्षमताको परिणाम हो । संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउँदै कार्यान्वयन गर्नुपर्ने गम्भीर उत्तरदायित्वलाई भुलेर राज्यका अंगमा नचाहिँदो हस्तक्षेप गर्न थाल्नु आफ्ना प्राथमिक दायित्वलाई लत्याउने प्रयास हो । साथै, संविधान कार्यान्वयनमा जटीलता थपेका मधेस लगायतका मुद्दालाई जबर्जस्ती पन्छाउन खोज्ने दुष्प्रयत्न पनि हो । यसले जनतामा निराशा बढाउने काम गरेको छ ।’
त्यस्तै उनले संविधान निर्माणदेखि अन्य सबै संवेदनशील काममा देखाइएको लापरवाहीपनले आशावान हुन खोजेका जनतालाई जबर्जस्ती निराशाको गतिमा धकेलेको बताएका छन् ।
भटराइले इमान्दार र दूरदर्शी राजनीतिक नेतृत्वको विकासको खाचो रहेको पनि औल्याएका छन् । त्यसका लागि नयाँ राजनीतिक संस्कार हुर्किने प्रशस्त ठाउँ भएको राजनीतिक दलको निर्माण जरुरी भएको बताएका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij