प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
काठमाडौ । काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाएको आरोपबारे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा फरक फरक धारणा आएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता लिन माग गरेका छन् भने राष्ट्रिय जनता पार्टी नेपालले सो घटनालाई स्वभाविक भनेको छ ।
अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गरी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता गराएको महाभियोगको प्रस्ताव संवैधानिक सर्वोच्चता र विधिको शासनमाथिको सुनियोजित हमलाको साथै स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भएको आरोप लगाएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र दलगत स्वार्थ परिपूर्ति गर्नका लागि राजकीय सत्ता र शक्तिको दुरुपयोग गरी स्वतन्त्र न्यायालयलाई प्रभाव पार्नु वा पार्न खोज्नु अत्यन्तै गैरलोकतान्त्रिक चरित्र र व्यवहार हो ।’
तर राष्ट्रिय जनता पार्टी नेपालले महाअभियोगको घटनालाई स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिएको छ ।
राजपा नेपालले औपचारिक रुपमा कुनै विज्ञप्ति जारी नगरेपछि सो दलका नेता केशव झाले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामीले यसको बारेमा औपचारिक धारणा ल्याउनै पर्दैन, यो स्वभाविक हो, न्यायपालिकाबाट कार्यपालिकामाथि हस्तक्षेप हुन थालेको कारणले यस्तो हुन गएको हो, यसलाई हामीले अन्यथा लिएका छैनौं ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij