आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री दिनभर दौडधुपमा: ओलीले दिए दाहाललाई जवाफ

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४



  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावले निर्वाचनमा कुनै असर नपार्ने बताएका छन् । लाजिम्पाटस्थित आफ्नो निजी निवासमा सोमबार विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्रीले सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन अपिल गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

    प्रधानमन्त्रीको दिनभरको व्यस्तता
    प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावपछि तरंगित राजनीतिका कारण प्रधानमन्त्री प्रचण्ड सोमबार बिहानैदेखि अबेर रातिसम्म राजनीतिक भेटघाटमा व्यस्त देखिए । बिहानै उनलाई राप्रपा अध्यक्ष कमल थापा भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । आफ्नो पार्टीभित्र जटिलता आएको भन्दै उनले सरकारबाट बाहिरन सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएर फर्केका थिए ।

    त्यसलगत्तै प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बिहानै शीतलनिवास पुगे । राष्ट्रपतिसँग झन्डै एक घन्टा लामो भेटवार्ता गरेका प्रधानमन्त्री प्रचण्ड त्यसपछि पार्टी हेडक्वार्टर बैठकमा सहभागी भए । प्रधानमन्त्रीनिवास बालुवाटारमै बसेको माओवादी हेडक्वार्टर बैठकमा प्रधानमन्त्रीले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव लगाउनुपर्नाको कारण, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा नेताहरूलाई बिफ्रिङ गरेका थिए । प्रधानमन्त्री त्यसपछि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग ‘वान टु वान’ संवादमा बसे ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनले ओलीसँग झन्डै आधा घन्टा लामो छलफल गरे । त्यहीँ उनले सभामुख ओनसरी घर्तीसँग संसद्मा आइतबार प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता गराएको महाअभियोग प्रस्तावका विषयमा छलफल गरे । सभामुखसँगको छलफलपछि प्रधानमन्त्री आफ्नो निजी निवास लाजिम्पाटमा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा आउन चाहेकालाई पार्टी प्रवेश कार्यक्रममा सहभागी भए ।

    सो कार्यक्रमपछि उनले पार्टी हेडक्वार्टरको दोस्रो सत्रको बैठक बालुवाटारमा राखे । त्यहाँ संविधान संशोधन, निर्वाचन तयारीलगायतका विषयमा केन्द्रित रहेर छलफल गराए । साँझ उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई बालुवाटारमा बोलाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

    प्रधानमन्त्री–ओली भेटवार्ता
    प्रधानमन्त्री : महाअभियोगको प्रस्तावले निर्वाचनलाई कुनै असर गर्दैन । शक्ति पृथकीकरणको सिद्धान्त, कार्यपालिकामाथिको हस्तक्षेप आदि कारणले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव आएको हो । कार्कीसँग भेटेरै विषय मिलाउने प्रयास भएको पनि थियो, तर त्योअनुसारको वातावरण नबनेपछि यो कदम अगाडि आएको हो । महाअभियोग प्रस्ताव अदालतविरुद्ध लक्षित नभएर प्रधानन्यायाधीशको व्यक्तिगत कार्यशैली र आचरणसँग सम्बन्धित छ । ३१ वैशाखमा चुनाव हुन्छ । यसमा कुनै शंका गर्नुपर्दैन । बजेटलगायतका विषय सबै सल्लाह गरेरै निर्णयमा पुग्ने हो । महाअभियोग अब संसद्मा संविधानले दिएको अधिकारका आधारमा हुन्छ । महाअभियोगको विषय संसद्मा लोकामानसिंह कार्कीको प्रकरणमा अभ्यास भइसकेको छ । त्यो अब संसद्को कुरा हो । अन्य विषयमा सहमति खोजौँ । चुनाव, बजेटमा सहमति गरौँ । संविधान संशोधनमा पनि सक्नुहुन्छ भने सघाउ गर्नुहोस् ।

    ओली : एमाले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त मान्छ । तर, तपाईंहरू सरकारको नियन्त्रणमा न्यायपालिकालाई चलाउन खोज्नुहुन्छ । सर्वस्व जन्मकैदको फैसला भएकालाई पक्राउ गर्न आदेश दिँदासमेत तपार्इंहरू यसलाई अति भयो भन्नुहुन्छ । दुई–चारजना मान्छे मारेकोलाई केको मुद्दा भन्नुहुन्छ । हाम्रो आदेशअनुसार मुद्दा खारेज गर्नुपर्नेमा उल्टो समाउने भन्नुहुन्छ । सरकारले भनेकै नमान्ने, गरेका काम जति उल्ट्याइदिने भन्ने गुनासो मात्रै गर्नुहुन्छ । वास्तवमा सरकारमाथि अदालतले नै नियन्त्रण गर्ने हो । किनभने, सरकारले संगठित बलद्वारा नागरिकविरुद्ध ज्यादती गर्न सक्छ । त्यो हेर्ने भनेकै अदालतले हो ।

    संशोधन चुनावपछि
    प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि संविधान संसोधन विधेयक अब पहिलो चरणको स्थानीय तहको चुनावपछि मात्रै अगाडि बढ्ने भएको छ । संशोधन अब पहिलो चरणको निर्वाचन अगाडि नभए पनि मधेसकेन्द्रित दलहरू चुनावमा सहभागी हुने संकेत देखिएको छ । मधेसी गठबन्धनमा रहेको दल राष्ट्रिय जनता पार्टीसहितको सहमतिका आधारमा संविधान संशोधन प्रस्तावमा परिमार्जित प्रस्तावसमेत दर्ता गराएको र मोर्चासहितको सहमतिका आधारमा पहिलो चरणको चुनावपछि संशोधन अगाडि बढाउने विषयमा प्रधानमन्त्रीले मोर्चा नेताहरूसँग छलफल गरेका छन् ।

    सोमबार साँझ प्रधानमन्त्रीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलगायतलाई बालुवाटार बोलाई चुनावपछि संशोधन अगाडि बढाउने प्रस्ताव राखेका हुन् । उनले विकसित राजनीतिक घटनाक्रम र संशोधनको पक्षमा दुईतिहाइ पुर्याउन परिरहेको जटिलताका विषयमा जानकारी गराउँदै पहिलो चरणको चुनावपछि संशोधन पारित गराउने विषयमा नेताहरूसँग परामर्श गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij