आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यस्ता छन् दलहरुबीच अहिलेसम्मका महत्वपूर्ण तालमेल

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २२, २०७४



  • काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले संसद्को चौथो ठूलो दल राप्रपासँग काठमाडौं र ललितपुर महानगरमा तालमेल गरेसँगै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चितवनको भरतपुर र कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा तालमेल गरेका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने गरी दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएको छ । उपमेयरमा भने कांग्रेस उम्मेदवार पार्वती शाहलाई माओवादीले सहयोग गर्ने समझदारी गरेसँगै सुरेन्द्र गुरुङको उम्मेदवारी पार्टीले नै फिर्ता लिइदिएको खबर आजको नयाँ पत्रिकामा छ ।

    कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिने पार्टी केन्द्रको निर्णयप्रति भरतपुरमा केही असन्तुष्टि भए पनि अन्तिममा सहमति भएको दाबी गरे । ‘उम्मेदवारमा म्यानेज गर्दा अलिकति समस्या आएको हो,’ कार्कीले नयाँ पत्रिकासँग भने, ‘तर, पार्टी केन्द्रले नै भनेपछि उम्मेदवारी फिर्ता लिन मेयरका उम्मेदवार दिनेश कोइरालाले मान्नुभएको छ ।’

    केन्द्रको निर्णयमा कोइरालाले असहमति राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नामबाट निर्वाचन आयोगको कार्यालयमा फ्याक्समार्फत पत्र पठाएर उम्मेदवारी फिर्ता लिइएको हो । पत्रमा कांग्रेसले माओवादी केन्द्रका रेणु दाहाललाई चुनावमा समर्थन गर्ने र उपमेयरमा माओवादीले कांग्रेस उम्मेदवार पार्वती शाहलाई सहयोग गर्ने जानकारी निर्वाचन आयोगलाई दिइएको छ । माओवादीले पनि आयोगलाई पत्र लेखेर उपमेयरमा उम्मेदवारी दिएका सुरेन्द्र गुरुङको नाम फिर्ता लिएको छ ।

    पोखरा मेयरमा माओवादी सहयोग कांग्रेसलाई, उपमेयरमा आ–आफ्नै उम्मेदवार भिड्ने
    चितवनमा कांग्रेसले माओवादीलाई छाडेपछि पोखराको मेयरमा माओवादीले कांग्रेसलाई छाडिदिएको छ । पोखरामा माओवादी केन्द्रले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई सहयोग गर्ने भएको छ । माओवादी केन्द्रले पोखरामा विश्वप्रकाश लामिछानेलाई उठाएको थियो । तर, कांग्रेससँग तालमेल भएपछि उनले फिर्ता लिएका हुन् । महानगरको उपमेयरमा भने कांग्रेस र माओवादीका आ–आफ्ना उम्मेदवार भिड्ने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । पोखरा महानगरको उपमेयरमा कांग्रेसबाट सरस्वती गुरुङ र माओवादी केन्द्रबाट उमा ढकाल उपप्रमुखका उम्मेदवार छन् ।

    काठमाडौं र ललितपुरमा एमाले रोक्ने अभियानमा सत्तारुढ दल
    भरतपुर र पोखरामा चुनावी तालमेल गरे पनि कांग्रेस र माओवादीले काठमाडौं र ललितपुरमा तालमेल घोषणा गरेका छैनन् । चार–पाँच दिनअघि नै तालमेल गर्न कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र डा. रामशरण महत तथा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहने गरी चार सदस्यीय कार्यदल बनेको थियो । सो कार्यदलले छलफल गरी शीर्ष नेताहरूसँगको छलफलपछि दुई महानगरको तालमेलको टुंगो लगाएको हो । तर, काठमाडौं र ललितपुरमा भने कुनै निर्णय भएको छैन ।

    ‘उम्मेदवारी फिर्ता लिएर चुनावी तालमेल गर्न काठमाडौं र ललितपुरमा सकिएन,’ कांग्रेसका एक नेताले भने, ‘तर, चुनावसम्म पुग्दा कसरी एक–अर्कालाई कसरी सहयोग पुर्याउन सक्छौँ, त्यो गर्छौँ ।’

    कार्यदल सदस्य वर्षमान पुनले काठमाडौं र ललितपुरमा आ–आफ्नै उम्मेदवार लड्ने बताए । तर, अझै पनि कांग्रेससँग तालमेलको सम्भावना नसकिएको उनको भनाइ छ । एमालेले दुवै महानगरमा प्रमुख र राप्रपाले उपप्रमुख लिने गरी तालमेल गरेका छन् ।

    यी ठाउँमा पनि कांग्रेस–माओवादीबीच तालमेल
    हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका आनन्दराज पराजुलीलाई माओवादीले समर्थन गर्ने, उपप्रमुखमा कांग्रेसले समर्थन गर्ने, थाहा नगर प्रमुखमा माओवादीका लवशंकर विष्टलाई कांग्रेसले समर्थन गर्ने र माओवादीले कांग्रेसका खड्ग गोपालीलाई उपप्रमुखमा सहयोग गर्ने गरी तालमेल भएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दिए ।

    त्यस्तै, धादिङ नीलकण्ठ नगरपालिकाको प्रमुखमा माओवादीले कांग्रेसका भीम ढुंगानालाई समर्थन गर्ने र उपप्रमुखमा माओवादीका शैलेश भण्डारीलाई कांग्रेसले समर्थन गर्ने गरी तालमेलको टुंगो लागेको हो । दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेसका ईश्वर मानन्धरलाई माओवादीले सहयोग गर्ने र उपप्रमुखमा माओवादीका कमला कार्कीलाई कांग्रेसले सहयोग गर्ने तालमेल गर्ने सहमति भएको छ।

    ललितपुरमा कांग्रेसबाट बागी
    ललितपुर कांग्रेसका पुराना नेता प्रेमलाल महर्जनले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसले उनको उम्मेदवारी फिर्ता गराउने प्रयास गरे पनि सकेन । ‘मेरो उम्मेदवारी कायमै छ । फिर्ता लिएको छैन । चुनाव भिड्छु,’ महर्जनले नयाँ पत्रिकासँग भने, ‘पार्टीभित्रको विकृति–विसंगति रोक्न उम्मेदवारी दिएको हुँ । पार्टीसँग बदला लिन र धम्की दिन होइन ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij