प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताएका छन्।
यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले ठूलो मोटरसाइकल र्याली र भोज भतेर गर्नु व्यर्थकै खर्च भएको टिप्पणी गरे।
स्वच्छ छवि, विकासप्रेमी र जनताको सुखदुःखमा सधैं रहेर काम गर्नेले नै जनताको मत जित्नसक्ने विचार व्यक्त गर्दै उनले निर्वाचन आयोगको आचारसंहिता पालना गर्ने हो भने दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारलाई कम खर्चिलो र कम भडकिलो बनाई वातावरणलाई शान्त बनाउनुपर्ने धारणा राखे।
आयुक्त पौडेलले प्रदेश नं– ४ का सबै जिल्लाको निर्वाचन तयारी शान्तपूर्ण वातावरणमा रहेकाले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातासँग आग्रह गरे।
उनले दुवै चरणको स्थानीय तहको निर्वाचन गर्न नसकिएमा आगामी माघ ७ गतेभित्र गर्नुपर्ने प्रादेशिक र संसदीय निर्वाचन अन्यौलमा पर्ने विचार व्यक्त गरे। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij