प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४
निर्वाचन सत्ता–विपक्षी दल र राष्ट्रिय जनता पार्टी नेपाल ३१ जेठका लागि तय भएको स्थानीय तह निर्वाचन सार्न सहमत भएका छन् । संविधान संशोधन र स्थानीय तहको संख्या थपको अडान राखेर निर्वाचनमा सहभागी नहुने घोषणा गरेको राजपालाई मनाउन ३१ जेठको निर्वाचन एक सातापछि सारेर राजपाका माग सम्बोधनका लागि आवश्यक ऐनकानुन संशोधनमा प्रमुख प्रतिपक्षी दल एमालेसमेत लचिलो देखिएपछि निर्वाचन सार्ने तयारी सुरु भएको हो, राजधानीमा खबर छ ।
शनिबार अबेरसम्म चलेको सत्तारूढ दल कांग्रेस–नेकपा माओवादी केन्द्र, प्रतिपक्षी एमाले र राजपाका शीर्ष तहका नेताबीच निर्वाचन सार्ने सैद्धान्तिक सहमति जुटेको हो ।
बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार निर्वाचन सारेर राजपाको दल दर्ता तथा निर्वाचन चिह्न प्रदान गर्न निर्वाचन आयोगसँग परामर्श गरेर दल दर्ताका लागि समय दिने सहमतिसमेत भएको छ । उनका अनुसार निर्वाचनको अर्को मिति भने आयोगसँग आइतबार छलफल गरेर मात्र टुंगामा पुग्ने सहमति दलहरूबीच जुटेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij