आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाहिर चुनाव बहिस्कार, भित्रभित्रै राजेन्द्र महतोको अनौंठो कनेक्सन

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • मर्चवार (रुपन्देही) ।  असार ४ गते उम्मेदवारी दर्ता गराउने दिन राजपा नेपालका नेताहरु रुपन्देहीको भैरहवा पुगे । चुनाव वहिस्कार गर्ने उद्घोषका साथ काठमाडौंबाट नवलपारसी हुँदै  उनीहरु ५ नम्बर प्रदेशको मुख्य शहर भैरहवा पुगेका थिए ।  यसरी उम्मेदवारी दर्ता गराउने दिन भैरहवा पुग्नेमा  चुनावको चर्को विरोध गर्ने राजेन्द्र महतोदेखि महन्थ ठाकुर, राजकिशोर यादवसम्मका नेताहरु दिए ।

    उम्मेदवारी दर्ता गराउने अघिल्ल्लो दिन नवलपरासीको  परासीमा आयोजित विरोधसभामा  राजपा नेताहरुले भनेका  थिए, ‘हाम्रो माग सम्बोधन नभएसम्म चुनावमा सहभागि हुन सक्दैनौं । हामी  विथोल्छौं ।’

    उनीहरुले विरोधसभाबाट चुनावविरोधी अभिव्यक्ति दिँदै कार्यकर्तालाई समेत  सोहि अनुसार लाग्न सर्कुलर जारी गरेपनि भित्रभित्रै भने  रुपन्देहीका मर्चवार क्षेत्रका गाउँपालिकामा राजपाले उम्मेदवार खडा गराएको पाइएको छ ।  रोचक त के छ भने चुनावको चर्को आलोचना गर्ने  राजेन्द्र महतोकै अगुवाईमा ती उम्मेदवारहरुले असार ४ गते  स्वतन्त्र हैसियतामा उम्मेदवारी दर्ता गराएका पाइएको हो ।
    राजेन्द्र महतो तिनै हुन् जसले सार्वजनिक कार्यक्रमहरुमा आफूहरुलाई पेलेर  चुनावमा गइए ‘रगतको खोले बग्ने’सम्मको गैरराजनीतिक अभिव्यक्ति दिएका थिए ।

    यस्तो छ राजेन्द्रको चुनावी कनेक्सन

    राजेन्द्र महतोको चुनावी कनेक्सन कसरी रह्यो भन्ने कुरा  यहाँ उल्लेख गरिँदै छ । सर्वेन्द्रनाथ शुक्ला  तमलोपाको पूर्व नेता तथा हाल गठन भएको राजपाका  प्रभावशाली नेता हुन् ।   गत संविधानसभाको दोस्रो निर्वाचनमा  मर्चवार क्षेत्र (रुपन्देही क्षेत्र नम्बर–६) बाट उनी विजयी भएका थिए ।
    मर्चवार क्षेत्रका साविकको १८ गाउँपालिका मिलेर अहिले तीन गाउँपालिका बनेको छ भने ती सबै स्थानमा सर्वेन्द्रको पकड रहेको बताइन्छ । आफ्नो पकड कायमै राख्नको लागि उनले पार्टीको  चुनाव वहिस्कार गर्ने नीति भएपनि स्वतन्त्र उम्मेदवार खडा गरी जनाततै उम्मेदवारी दिन लगाए ।
    सर्वेन्द्रले  आफ्ना मान्छेलाई उम्मेदवारी दिन थालेपछि एकाएक राजेन्द्र महतोले पनि आफूलाई शक्तिशाली देखाउन आफू निकटकालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

    कोटहीमाई गाउँपालिकामा सशक्त उम्मेदवारको रुपमा स्वतन्त्रबाट राजपाका स्थानीय नेता राघवेन्द्र प्रताप त्रिपाठी (बिट्टु बाबु) ले उम्मेदवारी दिएका छन् ।    त्रिपाठी राजपाका नेता हुन् भने तत्कालिन सद्भावना पार्टीको लडाकु संगठन रक्षाबाहिनीका सदस्य समेत हुन् भने हाल राजपामा आवद्ध रहेका छन् ।  यतिमात्र नभई उनी  राजपा नेता राजेन्द्र महतोको विश्वासपात्र समेत भएको बताइएको छ ।   राजेन्द्र महतो विश्वासपात्र समेत रहेको  त्रिपाठीले पुष्टि गर्दै भने, ‘मेरो उम्मेदवारीमा स्वाभाविक रुपमा अध्यक्षजी(राजेन्द्र महतो) को  सहयोग रहने नै भयो । म चुनाव जित्छु ।’ ‘चुनाव वहिस्कार गर्नेले गर्दै गर्ने र चुनावमा भाग लिनेले लिँदै गर्ने’ भन्ने अभिव्यक्ति दिँदै उनले  राजेन्द्र महतोले आर्थिकदेखि सबैखालको सहयोग गरेको समेत बताए । 

    कोटहीमाईमा मात्रै नभएर राजेन्द्र महतोको समर्थनमा मर्चवार क्षेत्रमा रहेका सम्मरीमाई  र मर्चवारी गाउँपालिकामा पनि स्वतन्त्रमा उल्लेखनीय उम्मेदवारी परेको स्थानीय नेताहरुले बताए ।  त्यसमा कसैले चुनावमा भागलिनुपर्ने मनसायले त कतिले नेताहरुबीचकै प्रष्तिष्ठाको सवालका कारण स्वतन्त्रबाट उल्लेख्य संख्यामा उम्मेदवारी दिएको स्थानीय नेताहरुको भनाई छ ।
    विशेषतः राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्लाले भित्रिरुपमा सहयोग गरेर उम्मेदवार उठाएका हुन् ।  राजेन्द्र  ६ पार्टी मिलेर  राजपा गठन हुनुअघिको सद्भावना पार्टीका अध्यक्ष हुन् भने शुक्ला तमलोपाका प्रभावशाली नेता हुन् ।

    उम्मेदवारी दिँदा राजपाभित्र विवाद
    संविधान सशोधन हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या बढाइनुपर्ने लगायतका माग राख्दै सरकारसँग बार्गेनिङमा रहेको राजपा अन्ततः असार १४ को लागि तोकिएको चुनावमध्ये २ नम्बर प्रदेशको चुनाव असोज २ गतेका लागि सार्न त तयार भयो तर उसले आफ्ना प्रभाव रहको ५ नम्बर प्रदेशका  कपिलबस्तु, नवलपरासी र भैरहवाको माग राख्यो ।  सरकारले  २ नम्बर बाहेक अरु प्रदेशको  चुनाव  सार्न अस्विकार गरिदिएपछि राजपा  माग पूरा नभएको कारण देखाउँदै  चुनाव बहिस्कार गर्ने निश्कर्षमा पुगेको थियो । तर, नेताहरुको स्वार्थकै कारण   तीन जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा राजपाले स्वतन्त्रबाट उम्मेदवारी दिएको हो । जुन मर्चवार क्षेत्रका गाउँपालिकामा पनि रातोपाटी पुग्दा प्रष्ट देखियो ।
    अहिले चुनाव वहिस्कार गर्ने निर्णय गरेर पनि राजपाका शीर्ष नेताहरुले नै स्वार्थका कारण भित्रभित्रै उम्मेदवार खडा  गरेको भन्दै पार्टीभित्र तीब्र विवाद भएको बताइएको छ ।

    अध्यक्षमा १५ जनाको उम्मेदवारी, स्वतन्त्रमानै ७ को उम्मेदवारी

    कोटहीमाई गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार  सो गाउँपालिकामा अध्यक्ष पदमा १५ जनाको उम्मेदवारी परेको छ । जसमा स्वतन्त्र उम्मेदवारी नै ७ जनाको परेको छ । स्वतन्त्र उम्मेदवारी दिने अधिकांश चुनाव बहिस्कार  गर्ने निर्णयमा पुगेका राजपाका स्थानीय नेताहरु  भएको बुझिएको छ ।

    यी हुन् कोटहीमाईका उम्मेदवार

    कोटहीमाई गाउँपालिकाको प्रमुख पदमा ७ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ ।  प्रमुखहरुमा कांग्रेसका विरेन्द्र कलवार, एमालेका विन्ध्याचल यादव, माओवादी केन्द्रका गुरु चरण प्रसाद केवट र संघीय समाजवादी फोरमबाट चन्द्र भूषण यादवको उम्मेदवारी परेको छ ।  यस्तै फोरम लोकतान्त्रिक पार्टीबाट बलीराम यादव, राप्रपाबाट चन्द्र प्रकाश शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट  महेश्वर मुराव र  बहुजन शक्ति पार्टीबाट रामकेश पासीको उम्मेदवारी परेको छ ।
    यस्तै स्वतन्त्रबाट  अशोक कुमार कलवार, कुशलतादेवी कलवार, गणेशमणि त्रिपाठी, प्रह्लाद चमार, बालकृष्ण त्रिपाठी, राघवेन्द्र प्रसाद त्रिपाठी र  सर्वेन्द्र कुमार यादव अध्यक्षका उम्मेदवार रहेका छन् ।  स्वतन्त्र मध्ये राघवेन्द्र राजेन्द्र महतोको निर्देशनमा उम्मेदवार बनेको  यसअघि नै उल्लेख रातोपाटीले उल्लेख गरिसकेको छ भने बालकृष्ण सर्वेन्द्रनाथ शुक्लाको निर्देशनमा उम्मेदवार बनेका  हुन् ।  यस्तै उपाध्यक्ष र  बडाध्यक्षमा पनि उल्लेख्य उम्मेदवारी परेको छ ।

    कसले मार्ला बाजी ?
    कोटहीमाईमा  कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रीत दलहरुबीच तीब्र प्रतिश्पर्धा हुने देखिएको छ ।  जसमा स्वतन्त्र उम्मेदवारी दिएका बालकृष्ण र राघवेन्द्र पनि बलियो प्रभाव बनाएका उम्मेदवार रहेको बताइएको छ ।  यता एमाले उम्मेदवार विन्ध्याचल यादवले मर्चवारमा एमालेले उम्मेदवारी दिनु नै ठूलो कुरा भएको बताए ।  चुनाव विथोल्ने धम्की दिने राजपाका नेताहरुकै  उम्मेदवारी परेसँगै मर्चवार क्षेत्रको चुनावी माहोल ह्वात्तै बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij