आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कर फर्स्योट प्रकरणमा २१ अर्बको ग्राफः एनसेल, ठूला होटल र मदिरा कम्पनी पनि दायरामा

  • प्रकाशित मिति : शनिबार, असार १०, २०७४



  • कर फर्स्योटमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई चौथोपटक म्याद थप गरी तीन सातादेखि हिरासतमा राखेर छानबिन गरिरहेको छ। हाल फरार रहेका कर फस्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि पक्राउ वारेन्ट जारी गरेको छ। केही सातायता आयोगले कर छुटका फाइल अध्ययन जारी राखेको छ। कुल बिगो निर्धारण हुन भने अझै केही समय लाग्ने देखिएको छ। यो खबर कृष्ण ज्ञवालीले आजको कान्तिपुरमा लेखेका छन्।

    ‘ठूला आकारका फाइलबाट कर छुटको अंक हिसाब गरेर साना फाइल खोल्दै छौं,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘सबै विवरण विश्लेषण गरेपछि एउटा आधार बनाएर बिगो निर्धारण गरिनेछ।’ अख्तियार स्रोतका अनुसार हालसम्म करिब एक सय फाइल हेर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ मात्र सवा अर्ब रुपैयाँभन्दा बढी अनियमितता भेटिएको छ।

    १ सयदेखि १ सय ५० फाइलहरूमा कर फर्स्योटको आकार १० अर्ब रुपैयाँभन्दा बढी छ। बाँकी ९ सयभन्दा बढी फाइल सानो आकारका भए पनि त्यति नै अनियमितता भेटिने अनुसन्धान अधिकारीको आकलन छ। कर फर्स्योट आयोगले १ हजार ६९ निवेदनमाथि कारबाही गरी ३० अर्ब ५२ करोड रुपैयाँ कर फर्स्योट गरेको थियो। त्यस क्रममा ९ करोड ५४ लाख रुपैयाँ राजस्व उठाउने निर्णय भएको थियो भने बाँकी झन्डै २१ अर्ब रुपैयाँ अनियमित ढंगले छुट दिइएको थियो।

    हालसम्मको अनुसन्धान स्थिति हेर्दा आयोग अध्यक्ष महतसहित सदस्य ढकाल र सदस्यसचिव शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने अख्तियार उच्च स्रोतले बतायो। अनुसन्धान वा बयानका क्रममा कुनै तथ्य खुले राजनीतिक नेतृत्व, कर छुट पाएका व्यवसायी र आयोग सचिवालयमा रहेका आन्तरिक राजस्व विभागका केही उच्च पदस्थ कर्मचारीसमेत तानिने सम्भावना अख्तियार स्रोतले व्यक्त गरेको छ।

    शंकास्पद अनियमितताको ग्राफ करिब २१ अर्ब रुपैयाँ भए पनि अख्तियारले त्यो सबै रकमलाई भ्रष्टाचार भनी बिगो कायम गर्न सक्ने अवस्था छैन। कर कानुन र त्यसको बर्खिलाप, अस्वाभाविक निर्णय वा अन्य आधार बनाएर बिगो निर्धारण गर्ने अख्तियारको योजना छ। विभिन्न मापदण्डअनुसार निर्धारण हुन सक्ने बिगोको परिमाण भने फरक हुन सक्नेछ। अख्तियारका प्रवक्ता जीवनाथ कोइरालाले छानबिनमा परेका चूडामणि शर्माको बयान नसकिएकाले केही भन्न नसकिने बताए। ‘बयानपछि पनि थप केही अनुसन्धान हुन सक्छ। अहिले केही भन्न सक्ने अवस्था छैन,’ उनले भने।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब २१ अर्ब रुपैयाँको कर फर्स्योटमध्ये मूल्य अभिवृद्धि कर र अन्त:शुल्क छुटलाई बिगो मागदाबी गर्ने आधार बनाउने सम्भावना स्रोतले औंल्यायो। उपभोक्ताले भ्याटबापत तिरिसकेको रकम व्यवसायीसम्म पुगेको हुन्छ। व्यवसायीले राज्यकोषमा बुझाउनुपर्ने त्यही रकम आयोगले छुट दिएकाले त्यसलाई भ्रष्टाचार ठहर्‍याउने अख्तियारको योजना छ। त्यसैगरी, मदिरा, चुरोटलगायत उत्पादन उद्योगबाट बजारमा लैजाने क्रममा अन्त:शुल्क निर्धारण हुन्छ। सामान खरिद गर्नासाथ उपभोक्ताले त्यो अन्त:शुल्कसमेत तिर्ने भएकाले कर कानुनअनुसार त्यो रकमसमेत व्यवसायीलाई छुट दिन मिल्दैन।

    भन्सार, अग्रिम कर, स्वास्थ्य सेवा कर, शिक्षा करमा दिइएको छुटसमेत भ्रष्टाचारमा बिगोको आधार बन्न सक्ने अख्तियार स्रोतले बतायो। आन्तरिक राजस्व विभाग स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनअनुसार ९ अर्ब ५४ करोड रुपैयाँ कर असुल्ने निर्णय भएकोमा ७ अर्ब ७५ करोड आयकर र १ अर्ब ४३ करोड रुपैयाँ भ्याटबापत छ। ‘असुल रकमउपरको तुलनामा दोब्बर छुट भएकाले भ्याट र अन्त:शुल्कमा मात्रै ३ अर्बभन्दा बढी छुट देखिएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘फाइल खोल्दै जाँदा यो आकार अझै बढ्नेछ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij