प्रकाशित मिति : बिहिबार, असार २२, २०७४
स्रोतका अनुसार संघीय समाजवादी फोरमले समेत सरकारमा आउने संकेत दिएको छ। फोरमलाई समेत सम्मानजनक हैसियतमा ल्याउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको छ। कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई समर्थन जुटाउने कसरत पनि यही बेला तीव्र पारेका छन्।
‘सिंगो राप्रपाको समर्थन भए एमालेबाहेक दुई तिहाई समर्थन पुग्छ’, प्रधानमन्त्री निकट स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर राप्रपाको भरोसा गरीहाल्ने स्थिती अझै बनीसकेको छैन।’ गत बैशाख १७ गते संविधान संशोधन विधेयकमाथि मतदान गर्ने सरकारको तयारी भईरहेका बेला राप्रपाका दश सांसद अनुपस्थित हुने जानकारी दिएपछि रोकिएको थियो।
छलफलमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुबाटै राप्रपा संविधान संशोधनमा एकजुट नहुने अबस्थामा सरकारमा ल्याउनुको औचित्व नहुने बताउँदै आएका छन्। तर, सत्ता घटक कांग्रेस र माओवादीले उपप्रधानमन्त्री विनाका ४ मन्त्रालय छुट्टाईएको जानकारी दिएका छन्।
मन्त्रालय भागबण्डा टुंग्याउन कांग्रेस नेता विमलेन्द्र निधि, अर्थ मन्त्री ज्ञानेन्द्रवहादुर कार्की र माओवादीका तर्फबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णवहादुर महरा र नेता बर्षमान पुनबीच विभिन्न मोडलमा छलफल भएका थिए। संघीय समाजवादी फोरम सरकारमा आउँदा वा नआउँदाको अवस्थामा कसरी मन्त्रालयको भागबण्डा गर्ने भन्नेबारे पनि छलफल भएको स्रोतले बतायो। दुई तिहाईको समर्थन पुग्ने अवस्था विद्यमान हुँदा र नहुँदा कसरी मिलाउने भन्नेबारे अर्को विकल्पमा पनि छलफल भएको थियो।
कांग्रेस नेता निधिले भने दुई तिहाईको समर्थन जुटाउने गरीनै मन्त्रिपरिष विस्तार हुने संकेत गरे। ‘सरकारमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाटै दुई तिहाई समर्थन जुटाउने तयारी पनि भईरहेको छ’ उनले भने,‘सवै कुरा टुंगी सकेको छैन।’ कांग्रेस र माओवादीबीच मोटामोटी २० मन्त्रालय लिने सहमति भएको छ। जसमा कांग्रेसले १२ र माओवादीले ८ मन्त्रालय लिने भएका छन्। तर, माओवादीले न्यूनतम ९ मन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने अडान कायमै राखेको छ।
विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई ३, नेकपा सयुक्तलाई १ र अन्य साना दलका लागि २ मन्त्रालय छुट्टाईएको छ। संघीय समाजवादी फोरम सरकारमा आएमा उसलाई समेत तीन मन्त्रालय दिने कांग्रेस र माओवादीको तयारी छ। त्यस्तो बेला कांग्रेस र माओवादीले लिएका मन्त्रालय कटौति हुनेछन। संघीय समाजवादी फोरम सरकारमा आएमा लोकतान्त्रिकलाई समेत दुईटा मन्त्रालय दिने तयारी सरकारको छ। कांग्रेस नेता निधिले फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवलाई बुधबार कांग्रेस संसदीय दलमा बोलाएरै यस्तो जानकारी गराएका हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij