आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजपा नेपाल अलमलमा, किन रिसाए महन्थ ?

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  • काठमाडौं ।  तत्काल संविधान संशोधन सम्भव छैन भनि सत्ताधारी दलले प्रष्ट रुपमा भनेपछि आन्दोलनरत राष्ट्रिय जनता पार्टी अन्योलमा देखिएको छ ।

    मंगलबार सत्ताधारी दलसँग भएको वार्तामा संशोधन नहुने स्पष्ट भइसकेपछि राजपा नेपाल रन्नभुल्लमा परेको छ । यद्यपी नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रयास जारी राख्ने भनेको छ ।

    राजपा नेपालले अब असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावमा भाग लिन्छ कि फेरि बहिष्कार गर्छ भन्नेमा सबैको चासोको विषय यही बनेको छ । तर, यसको जवाफ राजपा नेपालसँग नै छैन ।

    सत्ताधारी तथा प्रतिपक्षी दलको धारणा आइसकेको छ तर आन्दोलनरत भूमिकामा रहेका राजपा नेपालले हालसम्म आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

    राजपा नेपालको अहिलेको सम्पूर्ण ध्यान पार्टी दर्तातिर केन्द्रीत भएको छ । राजपामा आवद्ध छ दलका नेताहरु पार्टी दर्ताका लागि कागजात जुटाउनमै व्यस्त देखिन्छन् । सम्भवतः आज उनीहरुले दर्ताका लागि अपूग कागजात निर्वाचन आयोगमा बुझाउनेछन् ।

    किन रिसाए ठाकुर ?
    हिजो सत्तारुढ दलसँग वार्ता सकाएर फर्केपछि राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवलगायत नेताले राजपा नेपालले आफ्नो धारणा स्पष्ट पार्नुपर्छ, काँग्रेस, माओवादी केन्द्र, एमाले, राप्रपालगायतका दलहरुको धारणा आइसकेपछि यो दलले पनि बसेर एउटा धारणा सार्वजनिक गर्नुपर्ने कुरा राखेका थिए ।

    तर, राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ‘राजपा नेपालले दलकै हैसियतामा आफ्नो निर्णय सार्वजनिक गर्नेछ, यसले गर्ने निर्णयको मान्यता दिने आधार के हो, अब राजपा नेपाल पार्टीको रुपमा दर्ता नभएसम्म कुनै पनि धारणा सार्वजनिक गर्दैन’, भनि नेताहरुप्रति आक्रोशित भएको एक नेताले बताए ।

    ‘यदि कुनै धारणा नै सार्वजनिक गर्नुछ भने पुरानो पार्टीको माध्यमबाट गरौं नभए पार्टी दर्ता नभएसम्म राजपा नेपाल कुनै पनि धारणा सावर्जनिक गर्दैन, पहिला पार्टी दर्ताका काम सम्पन्न गर्नुस्’ भनि अन्य नेतालाई आग्रह समेत गरेका थिए ।

    पार्टी एकीकरण भएको झण्डै तीन महिना हुन लागेको छ तर अहिलेसम्म आयोगमा दर्तासमेत गराउन नसकेको कारण राजपा नेपाललाई व्यवस्थापनमा समस्या भइरहेको अध्यक्ष ठाकुरको बुझाई छ । पार्टी व्यवस्थित नभएसम्म कुनै पनि आन्दोलन वा निर्णय कार्यान्वयन गर्नमा समस्या हुने भएकाले पार्टी दर्ताका लागि दलका नेताहरुलाई एक ढिक्का हुन उनले आग्रह गरेको समेत बताइएको छ ।

    चुनावमा भाग लेला त ?
    संशोधन नभएपनि राजपा नेपालले चुनावमा भाग लिन्छ तर त्यसका लागि राजपा नेपालको शर्त छ । चुनावअािघ स्थानीय तहको सँख्या बढाउने, मुद्दा फिर्ता, पक्राउ परेका आन्दोलनकारीलाई रिहाई गर्ने, क्षतिपूर्ति दिनेलगायतका सर्त राजपाको छ ।

    राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘मुद्दा फिर्ता, बन्दी रिहाई, क्षतिपूर्ति, आपाङ्गलाई व्यवस्थापन गर्ने जस्ता कार्य गर्न पनि सरकार तयार देखिएको छैन, सरकार जानी जानी राजपा नेपाललाई चुनावभन्दा बाहिर राख्न चाहेका छन् ।’

    उनले सरकारले संशोधन गर्ने मुख्य माग पूरा नगरेसम्म राजपाले केहि पनि विश्वास गर्न नसकिने बताए । यद्यपी दुई चरणमा भएको स्थानीय तहको चुनावमा भाग नलिएको राजपा नेपालमा तेस्रो चरणको चुनावमा भाग लिने दवाव बढेको बताइएको छ ।

    राजपा नेपालका एक वरिष्ठ नेताले भने, ‘प्रदेश तथा केन्द्रको चुनावलाई अहिलेको स्थानीय चुनावले प्रभाव पार्छ, अहिले स्थानीय तहको चुनावमा जनतालाई साथ नदिएपछि अर्को चुनावमा जनताले साथ दिँदैनन्, त्यसैले जनमत बचाउनका लागि पनि राजपा नेपाल तेस्रो चरणमा हुन गइरहेको स्थानीय तहको चुनावमा भाग लिनुपर्ने हुन्छ ।’

    राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले पनि  राजपा नेपाल चुनावमा भाग लिन तयार रहेको तर त्यसको वातावरण बनाउने काम सरकारको भएको बताए । 

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij