प्रकाशित मिति : शनिबार, असार ३१, २०७४
संसदमा सबैभन्दा ठूलो पार्टीका सभापति तथा प्रधानमन्त्रीदेखि बिपक्षी दलका उपाध्यक्ष तथा माओवादी केन्द्रसम्मका प्रभावशाली नेता रहेको प्रदेश नम्बर ७ को निर्वाचन परिणाम अपेक्षितभन्दा पनि अप्रत्यासित रुपमा देखा परेको हो ।
८८ स्थानीय तह रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसले ३८ र नेकपा एमालेले पनि ३९ स्थानीय तहमा बाजी मारेका छन् भने माओवादी केन्द्रले १० र फोरम लोकतान्त्रिकले १ स्थानीय तहमा विजय प्राप्त गरेका छन् ।
कांग्रेसको गढ मानिने प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा एमालेले बाजी मार्नुका साथै नवदुर्गा गाउँपालिकामा पनि एमाले विजयी भएको छ ।
एमालेको प्रभाव रहेको भनिएको अछाममा दुई स्थानीय तहमा मात्र एमाले जितेको छ । बाँकी स्थानीय तहमा नेपाली कांग्रेसले ५ र माओवादी केन्द्रले २ स्थान हात पारेका छन् ।
यस्तै माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम ईन्चार्ज पूर्व मन्त्री लेखराज भट्टको गोदावरी नगरपालिकामा माओवादी केन्द्र तेस्रो स्थानमा आएपछि परिणाम आँकलन गरेको भन्दा आश्चर्यजनक भएको समीक्षा पनि गर्न थालिएको छ ।
प्रदेश नं. ७ का जिल्लामा कैलालीमा नेपाली कांग्रेस ३, एमाले ७, माओवादी केन्द्र २ नेपाल लोकतान्त्रिक फोरम १ स्थानीय तहमा विजयी भएका छन् ।
कञ्चनपुरमा नेपाली कांग्रेस २, एमाले ५, माओवादी केन्द्र २ स्थानीय तहमा विजयी भएका छन् ।
त्यसैगरी डडेल्धुरामा कांग्रेस ४, एमाले २, माओवादी केन्द्र १, बैतडीमा कांग्रेस ६, एमाले ३, माओवादी केन्द्र १, दार्चुलामा कांग्रेस ५, एमाले ३, माओवादी केन्द्र १, बझाङमा कांग्रेस ४, एमाले ८, अछाममा कांग्रेस ५, एमाले २ र माओवादी केन्द्रले २ स्थानीय तहमा विजय हात पारेका छन् ।
बाजुरामा कांग्रेसले ६, एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तहमा विजयी भएका छन् । चुनाव अघिसम्म नेपाली कांग्रेसको गढ भनिए पनि प्रदेश नम्बर ७ मा नेकपा एमाले पहिलो दल बनेको छ ।
यसलाई राजनीतिक विश्लेषकहरुले भने अपेक्षितभन्दा पनि अप्रत्यासित नतिजाको रुपमा ब्याख्या गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij