प्रकाशित मिति : शनिबार, असार ३१, २०७४
आइतबारबाट काठमाडौं भित्रने र काठमाडौंबाट बाहिरीने लामो दुरीको सार्वजनिक यात्रुवाहक सवारी साधनहरुको आगमन र प्रस्थान गोंगवु बसपार्कबाट मात्र हुने भएको छ।
गत असार २१ गते यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, महानगरीय ट्राफिक प्रहरी प्रमुख मिङ्मार लामा लगाएतका सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा सो निर्णय गरिएको थियो।
अत्याधिक सवारी जामको कारणले यो नियम लगाइएको र यसले ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले बताए।
यो नियम पालना नगर्नेलाई सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा १ सय ६६ अनुसार ५ हजार रुपैयाँसम्म जरीवाना लगाइने पाण्डेले जानकारी दिए। यातायात व्यवसायीहरुको सहमतिमै गरिएको निर्णय भएकोले यो नियम प्रभावकारी हुने पाण्डेको विश्वास छ।
कलंकीमा गाडी पार्कीङ गरेर राख्न नपाएपनि यात्रु झार्न र चढाउन भने पाउने छन्। अब उपत्यका बाहिरबाट प्रवेश गरेका सवारीसाधनहरु कलंकीबाट बाँया मोडिएर सिधै नयाँ बसपार्क र उपत्यकाबाट बाहिरिने सवारी साधनहरु सिधै नयाँ बसपार्कबाट बाँया मोडिएर कलंकी नागढुङ्गा हुँदै उपत्यका बाहिरिनुपर्ने छ।
त्यस्तै गोगंबू तथा पुरानो बसपार्कको क्षमता र सवारी साधनको संख्या हेरी बसपार्क सम्बन्धि वैकल्पिक व्यवस्थापन गर्न चक्रपथसँग जोडिएका स्थानीय निकायमा निर्वाचित मेयर र कार्यकारीहरुसँग छलफल गर्ने निणर्य गरिएको ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij