प्रकाशित मिति : बुधबार, साउन ४, २०७४
चितवन । स्थानीय तहको निर्वाचन जितेर पनि शपथ खान नपाउँदा भरतपुर महानगरपालिकाका जनप्रतिनिधि अन्योलमा परेका छन् ।
पहिलो चरणअन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरकाका २७ वडाका वडा अध्यक्ष र सदस्य गरी १३५ जना निर्वाचित भइसकेका छन् । मतपत्र च्यातिएपछि वडा नं– १९ र गणना हुन बाँकी वडा नं– २० को भने नतिजा आउनसकेको छैन ।
प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली अगाडि हुनुहुन्छ भने उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाह अगाडि हुनुहुन्छ । शाहको मत वडा नं– १९ र २० को गणना गर्न बाँकी मतभन्दा बढी अन्तरले अगाडि छ । उहाँको जित सुनिश्चित भइसकेको छ ।
भरतपुर महानगरपालिका वडा नं– ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित लाश कुरेर बसेको जस्तो गरी बस्नुपरेको दुखेसो पोख्छन् । जनताले गरेको अपेक्षा पूरा गर्न नसकेको भन्दै उनले कानूनी रुपमा वडा अध्यक्ष भइनसकेकाले जितेर पनि हारेको जस्तो अनुभव भइरहेको बताए । उनले प्रश्न गरे “चुनाव के का लागि रु जितेर पनि हार्नु परेको छ ।”
भरतपुर महानगरपालिका– २२ का वडा अध्यक्ष विष्णु महतो न्यायप्रतिको विश्वास घटेको बताउँछन् । कार्यक्रममा जाने अवस्था नरहेको भन्दै उनले भने “जनप्रतिनिधि आएपछि जुन चाहना जनताले लिएका थिए, त्यो पूरा गर्न सकिएन, दुर्भाग्य भयो ।” यस्तै रहिरहे खपेर बस्ने अवस्था नरहने भन्दै उनले सडक तताउनुको विकल्प नरहेको बताए ।
भरतपुर महानगरपालिका– २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनाल पुनः निर्वाचन गराए पनि वा मतगणना गराए पनि तत्काल गर्नुपर्ने बताउँछन् । उनले भने “जनता कराएका छन्, हामीलाई अधिकार छैन ।” उनले थपे “भित्ते घडीको टोलक जस्तो यताउति हल्लिने काम मात्रै भयो, जनताको काम गर्न पाइएन ।”
मतगणना गर्न दुईवटा वडाको ६ हजार मत बाँकी छ । उपप्रमुख पदकी उम्मेदवार पार्वती शाह ६ हजार ५०० मतले अगाडि छिन् । जित सुनिश्चित भए पनि गणना रोकिएपछि काम गर्ने अवसर नपाएको भन्दै उनले दुखेसो पोखे । उनले भने, “जे गर्नुपर्ने हो, छिटो गर्नुप¥यो ।” जुन उत्साह र आकांक्षा बोकेर जनता मतदानमा सहभागी भए उनीहरु निराश बनेको उनको भनाइ छ ।
महानगरको बजेट निर्माणदेखि नीतिगत काम अड्किएको भन्दै उहाँले गाउँबाट महानगरवासी भएका जनता समेत यहाँ रहेकाले उनीहरुलाई समेत सम्बोधन गर्दै समृद्ध महानगर बनाउने योजना अलपत्र परेको शाहले बताए । जितेका वडा अध्यक्ष र सदस्यमा पनि उत्साह घटेको छ । त्यसो त महानगरपालिकामा सचिवको पदमा रहेर काम गरेका कर्मचारी पनि निरुत्साहित छन् ।
भरतपुर महानगरपालिका– १ का वडा सचिव बालकृष्ण थपलिया नियमित काम नरोकिए पनि जनताको अपेक्षा पूरा गर्न नसकेको बताउँछन् । “स्थानीय तहको निर्वाचनपछि जुन अपेक्षा जनताले राखे, त्यो दिन वडाले सकेको छैन” उनले भने ।
लामो समयदेखिको जिम्मेवारी जनप्रतिनिधिलाई सुम्पने चाहना सबै कर्मचारीलाई भए पनि मतगणना नटुङ्गिएकाले अलपत्र परेको थपलियाको भनाइ छ । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले निर्वाचन परिणाम नटुङ्गिएकाले महानगरको काममा अप्ठ्यारो परेको बताए ।
बजेट, नीति तथा कार्यक्रम ल्याउन कठिन भएको भन्दै उनले स्थानीय तहका विषयगत कार्यालय महानगरमा ल्याउने विषयमा समन्वय र व्यवस्थापन गर्न नसकिएको स्पष्ट पारे ।
संविधानमा नै विषयगत कार्यालय घरेलु तथा साना उद्योग, कृषि, शिक्षा, स्वास्थ्य, महिला विकास, पशु जस्ता कार्यालयलाई स्थानीय तहबाटै सञ्चालन गर्ने भनी बजेट समेत आइसकेको भएपनि स्थानीय जनप्रतिनिधिको अभावमा सो सम्बन्धी कार्य अगाडी बढ्न नसकेको उनले बताए ।
भरतपुर महानगरमा २९ वटा वडा रहेका छन् । जसमा यसअघिको कविलास गाउँविकास समिति महानगरमा सोझै गाभिएको हो । जसका कारण ती क्षेत्रको विकास महानगरका अन्य शहरी क्षेत्रसँग प्रतिस्पर्धी बनाउनुपर्ने चुनौती छ । विस्तारित वडामा जनशक्तिको अभाव छ, त्यो पूर्ति गर्न कठिन भएको जोशीले बताए ।
महानगरमा विभिन्न ठूला योजना सञ्चालन गर्नुपर्ने छ । जोशीका अनुसार सिटी हल, रंगशाला जस्ता ठूला योजना कार्यान्वयन गर्नुपर्ने बाध्यता छ भने कार्यालयको आफ्नै भवन बनाउनुपर्ने छ । यी सबै काम जनप्रतिनिधिको अभावमा रोकिएको उनले बताए।
भरतपुर महानगरको वडा नं– १९ मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो । वडा नं– २० को मतगणना गर्न बाँकी छ । भरतपुरको १९ को मतगणना गर्ने कि पुनःनिर्वाचन गर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दाको सुनुवाइ सर्दै आएर साउन ८ गतेलाई पेशी तोकिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij