प्रकाशित मिति : आइतवार, साउन ८, २०७४

दुई वर्षदेखि वीरमा रेडियोथेरापी मेसिन छैन । ‘उपचारका लागि आएका प्रायः विपन्न वर्गका थिए, हामीकहाँ मेसिन नहुँदा उनीहरूको उपचार गर्न सकेनौँ,’ वीर अस्पताल क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले भने, ‘यहाँ आउने बिरामीमध्ये अधिकांशलाई रेडियोथेरापी गर्नुपर्ने हुन्छ, तर हामीकहाँ यो सुविधा छैन । बाध्य भएर बाहिर रिफर गरेका छौँ, उनीहरूले उपचार गरे–नगरेको हामीलाई थाहा हुँदैन ।’
आचार्यका अनुसार ०७१ सालमा वीर अस्पताल पुगेका एक हजार तीन सय क्यान्सरका रोगीमध्ये आठ सयलाई रेडियाथेरापी गरिएको थियो । ०७२ सालदेखि रेडियोथेरापी बन्द छ । बन्द भएको वर्ष ६ सय ५० जना क्यान्सरका रोगी अस्पताल पुगेका थिए । यीमध्ये चार सयलाई रेडियोथेरापी दिनुपर्ने थियो, तर सम्भव भएन ।
०७३ मा आएका ६ सय बिरामीमध्ये चार सय ५० लाई रेडियोथेरापी गर्नुपर्थ्यो। तर, मेसिन नहुँदा उनीहरूले उपचार पाएनन् । ‘वीरमा आउने बिरामीहरू पूर्णरूपमा निःशुल्क सेवा लिने किसिमका हुन्छन्,’ आचार्यले भने ।
रेडियोथेरापी गर्दा वीरमा पाँच हजार, बाहिर दुई लाख खर्च
अहिले भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र काठमाडौं क्यान्सर सेन्टरसँग मात्र रेडियोथेरापी सेवा उपलब्ध छ । वीरले यो सेवा पाँच हजार रुपैयाँमा दिँदै आएको थियो । अन्य अस्पतालले यति शुल्कमा रेडियोथेरापी गर्दैनन् ।
‘दुई वर्षअघि हामीले पाँच हजारमा सेवा दिँदा पनि धेरै बिरामीले तिर्ने अवस्था थिएन,’ वीरका चिकित्सक डा. आचार्यले भने । निजी अस्पतालले रेडियोथेरापीका लागि बिरामीसँग दुई लाख रुपैयाँसम्म लिने गरेका छन् ।
चिकित्सकहरूका अनुसार सामान्यतः क्यान्सरका बिरामीले पाँचदेखि सात सातासम्म रेडियोथेरापी गर्नुपर्छ । क्यान्सर भएका बिरामीलाई अप्रेसनअघि रेडियोथेरापी जरुरी हुन्छ । रेडियोथेरापीले ट्युमरको आकार घटाउने र अप्रेसन गर्न सजिलो बनाउने काम गर्छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij