आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ र पूर्वमन्त्रीको सराहनीय सहकार्य

  • प्रकाशित मिति : सोमवार, साउन २३, २०७४



  • स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलसँग आइतबार छलफलपछि उनका पूर्ववर्ती गगन थापा। यो तस्बिर थापाले आफैं ट्विटरमा सार्वजनिक गरेका हुन्।

    सरकार फेरिँदा मन्त्रीहरू एक्लै बाहिरिँदैनन्, आफूले गरेका कामको निरन्तरता र त्यसको जवाफदेहीता सँगसँगै लैजान्छन्। कतिपय अवस्थामा त पुराना कामको ‘संस्थागत स्मृति’ पनि पुरानो नेतृत्वसँगै बिलाएर लैजान्छ।

    यस्तो विरलै हुन्छ, जब नयाँ आउने मन्त्रीले पुरानो नेतृत्वसँग उसको अनुभव सोध्छ, कामको विवरण माग्छ र त्यसमा घन्टौं छलफल गर्छ।

    यस्तो पनि विरलै हुन्छ, जब छाडेर गएको मन्त्रीले नयाँ नेतृत्वसँग आफ्नो अनुभव सुनाउँछ, कामको विवरण दिन्छ र त्यसमा घन्टौं छलफल गर्छ।

    स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र उनका पूर्ववर्ती गगन थापाबीच आइतबार स्वास्थ्य मन्त्रालयमा भएको भेट यस्तै विरल घटना हो।

    केही समयअघि मात्र स्वास्थ्य क्षेत्र सुधार अभियान चलाएर चर्चा कमाएका पूर्वमन्त्री थापालाई उनका कामबारे छलफल गर्न पोखरेलले नै मन्त्रालय डाकेका हुन्। यी दुईबीच एउटा रमाइलो संयोग के भने, कांग्रेस नेता थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा स्वास्थ्य मन्त्रालय सम्हालेका थिए, माओवादी नेता पोखरेल यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा त्यही मन्त्रालय सम्हाल्दै छन्।

    ‘नयाँ मन्त्री भनेको त विद्यालयमा भर्खर आएको विद्यार्थीजस्तो हो, उसले सिक्न र जान्न समय लाग्छ,’ चौथोपटक मन्त्री भएका पोखरेलले सोमबार सेतोपाटीसँग भने, ‘हामीले सिक्दै जाने हो, यही सिक्ने क्रममा पहिलेका मन्त्रीहरूलाई भेट्ने मेरो बानी छ। अरूलाई पनि सोध्छु। सबैसँग छलफल गरेपछि बल्ल थाहा हुन्छ, मन्त्रालयमा के भइरहेको छ, के गर्न बाँकी छ। मैले यही सोध्न गगन थापालाई बोलाएको हुँ। उहाँले आफ्नो कामको राम्रो व्याख्या गरिदिनुभयो।’

    थापाले उक्त भेटपछि पोखरेलसँग खिचाएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गरेका थिए। त्यसमा प्रतिक्रिया जनाउँदै पूर्व मुख्यसचिव तथा चीनका लागि राजदूत लीलामणि पौड्यालले लेखेका छन्- ‘उदाहरणीय पहल। वर्तमान र निवर्तमान माननीय मन्त्रीहरुलाई बधाइ।’

    कार्यभार सम्हालेको लगभग दुई सातापछि पूर्ववर्ती डाकेर छलफल गरेका पोखरेलको निम्ति यो नयाँ शैली होइन। २०६४ मा पहिलोपटक मन्त्री हुँदा पनि उनले अघिल्लो नेतृत्वसँग भेटेर छलफल गरेका थिए।

    नयाँ स्वास्थ्यमन्त्रीले यसरी डाकेर छलफल गरेकामा खुसी लागेको पूर्ववर्ती थापा बताउँछन्। यसले मन्त्री–मन्त्रीबीच कामको विवरण र अनुभव आदानप्रदान भई कतिपय पुराना कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ।

    ‘म आफैं गएर कुरा गर्ने सोचेको थिएँ, उहाँले नै बोलाउनुभयो, मलाई एकदम राम्रो लाग्यो,’ थापाले सेतोपाटीसँग भने, ‘हाम्रोजस्तो छिटछिटो सरकार फेरिरहने मुलुकमा पुराना र नयाँ मन्त्रीले भेटघाट गर्नु र नीति–नियमबारे छलफल गर्नु राम्रो हो। नीतिगत तहमा भएका कामलाई निरन्तरता दिन नयाँ मन्त्री राजी भए, सरकार फेरिए पनि काम भइरहन्छ।’

    थापा आफ्नो टिम नै लिएर मन्त्रालय गएका थिए। उनले आफ्नो कार्यकालमा सुरु भएको स्वास्थ्य सेवा पूर्वाधार विकास र मापदण्डसम्बन्धी सातवर्षे परियोजनाबारे मन्त्री पोखरेललाई व्याख्या गरे। उक्त परियोजना मन्त्रिपरिषदले पास गरेर बजेटमा आइसकेको छ। आफूले गरेका कुन–कुन कामको अवस्था कस्तो छ भन्ने विवरण पनि उनले नयाँ मन्त्रीलाई सुनाएका थिए।

    ‘मलाई खासगरी यही सातवर्षे परियोजना उहाँले पनि अघि बढाउनुभए हुन्थ्यो भन्ने लागेको छ,’ थापाले भने, ‘मैले उहाँलाई यसमा सकारात्मक नै पाएँ, हामीले सुरु गरेका कामलाई निरन्तरता दिन्छु भन्नुभएको छ।’

    पोखरेल पनि पूर्ववर्ती मन्त्रीसँग छलफल गरेर बढ्दा कुन काम कसरी गर्ने भनी पहलकदमी लिन सजिलो हुने बताउँछन्।

    ‘हामीले आफ्नो स्वार्थका लागि काम गर्ने होइन। व्यक्तिगत स्वार्थका लागि काम गर्ने भए कार्यविधि अर्कै हुँदो हो,’ उनले भने, ‘मैले छोटो समयमा ठिक कुरा बुझेर पहल लिन जरुरी ठान्दै थापासँग भेटेको हुँ।’

    स्वास्थ्य क्षेत्र पूर्वाधार विकासमा आफ्नो पनि चासो रहेको पोखरेलले बताएका छन्। कार्यक्रम राम्रा र जनहितमुखी छन् भने मन्त्रालयले स्वाभाविक रूपमा तिनको स्वामित्व लिने उनको भनाइ छ।

    छलफल क्रममा उनले सातवर्षे योजना लगायत नीतिगत कामहरू व्यक्तिगत तहमै छन् कि संस्थागत भैसके भनेर थापासँग सोधेका थिए। उनले थापाको कार्यकालमा सुरु भएका कामबारे मात्र सोधेनन्, अघिल्लोचोटि आफू स्वास्थ्य मन्त्री हुँदा थालेका कामको निरन्तरता र प्रगतिबारे पनि जिज्ञासा राखे। निःशुल्क औषधि र प्रत्येक सरकारी अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गर्ने कार्यक्रम पोखरेलले नै थालेका हुन्।

    उनको यो जिज्ञासामा थापाको जवाफ थियो, ‘निःशुल्क औषधि र सामाजिक सेवा एकाइ निर्माणजस्ता कामलाई हामीले व्यवस्थित गरी निरन्तरता दिएका छौं।’

    कडा रोगका औषधिलाई सहज र सुपथ बनाउने, निःशुल्क औषधि सबै अस्पतालका फार्मेसीमै उपलब्ध गराउने लगायत तत्काल गर्नुपर्ने कामबारे पनि थापाले पोखरेललाई सम्झाए। यी सबै काम कुन–कुन चरणमा पुगेका छन् भनेर उनले नयाँ मन्त्रीसँग सोधेका थिए। जवाफमा पोखरेलले भने, ‘सुरु भएका र नसकिएका काम कहाँ–कहाँ अड्किएका छन्, ती सबै अध्ययन गरेर एक्सन लिन्छु।’

    उनले स्वास्थ्य क्षेत्र सुधारसँग सम्बन्धित केही योजना थापालाई सुनाएका थिए।

    ‘आधारभूत स्वास्थ्य सेवा मौलिक हक भएकाले त्यसलाई कसरी निःशुल्क गर्न सकिन्छ भनेर काम गर्ने उहाँको इच्छा रहेछ,’ थापाले भने, ‘उहाँले स्वास्थ्य बिमामा पनि चासो राख्नुभएको छ।’

    यी सबै समेटेर पोखरेल सात दिनभित्र स्वास्थ्य सुधारको नयाँ कार्ययोजना ल्याउँदैछन्। थापाका कार्यक्रमलाई निरन्तरता दिने कि नदिने त्यही कार्ययोजनाले तय गर्ने पोखरेलले बताए। थापा भने नयाँ कार्ययोजनामा आफ्ना सुधार कार्यक्रमले निरन्तरता पाउनेमा आशावादी छन्।

    यो आशा यस कारण पनि हुनसक्छ, किनकि पोखरेलले आफ्ना पूर्ववर्तीसँग छलफलको विरल र सराहनीय परम्परा थालनी गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij