पशुपतिशमशेर राणाको नेतृत्वमा छुट्टै पार्टी गठन गर्न माग गर्दै निवेदन दिएका नेताहरुको हस्ताक्षर प्रमाणीकरणपछि निर्वाचन आयोगले आधिकारिक प्रमाण दिने तयारी गरेको हो।
‘हामीले भोलि आयोगबाट दल दर्ताको आधिकारिक प्रमाणपत्र पाउँछौं,’ नेता रविन चाम्लिङले बिहीबार सेतोपाटीसँग भने, ‘आयोगले हामीलाई खबर गरिसकेको छ।’
१ सय ६२ केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा ७५ जना रहेको उनले दाबी गरे। ‘हामी ४० प्रतिशत पुगिसकेका थियौं,’ उनले भने, ‘अझ धेरै बनाउन सक्छौं भनेर केही दिन कुरेका मात्र हौं।’
कमल थापा नेतृत्वको राप्रपाबाट फुटेको राप्रपा प्रजातान्त्रिकमा अध्यक्ष राणापछि दोस्रो वरियतामा दीपक बोहरा रहने सहमति छ। संसदीय दलका नेतामा विक्रम पाण्डे र प्रवास विभाग प्रमुखमा रेखा थापालाई राख्ने पक्का भइसकेको छ। थापालाई विदेश विभाग उपप्रमुखको पनि जिम्मेवारी दिने सहमति भएको स्रोतले जनाएको छ। त्यस्तै, सुनिल थापालाई पनि महत्वपूर्ण स्थान दिने विषयमा छलफल भइरहेको छ ।
एकता भएको ८ महिनापछि राप्रपा यही साउन २३ गते फुटेको थियो।
