आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

व्यापारीको भोट तान्न सरावगी र द्विवेदीको प्रतिस्पर्धा

  • प्रकाशित मिति : मङ्लबार, भदौ २७, २०७४



  • मनोज शर्माको शृंगार पसलमा यतिबेला ग्राहकको ‘रहरही’ हुन्थ्यो। अचेल सुनसान छ।

    सोमबार बेलुकी ८ बजेसम्म पसल बन्द नगरेका मनोजले वीरगन्जको व्यापार सुक्नुमा अघिल्लो वर्षको नाकाबन्दीलाई दोष दिए।

    ‘यस्तो दसैंको मुखमा त ग्राहकको कस्तो रहरही हुन्थ्यो,’ उनले सम्झिए, ‘त्यो बेला भए हामी कहाँ यसरी बोलेर बस्न पाउँथ्यौं! नाकाबन्दीपछि त वीरगन्जको व्यापार ओरालो लागेको लाग्यै छ।’

    आफ्नो मात्र होइन, सबैतिर उही हाल भएको उनले बताए।

    विगतजस्तो कारोबार नभए पनि नजिकिँदो चाडले नेपाल-भारतको प्रमुख व्यापार नाका वीरगन्जको आर्थिक पारो केही तताएकै छ, तर त्योभन्दा बढी तातेको छ यहाँको चुनावी सरगर्मी।

    वीरगन्जको चुनावमा स्थानीय मुस्लिम र मारवाणी समुदायको भोट कसलाई जान्छ भन्ने सबभन्दा चासो हुने गर्छ। हामीले यही विषयमा मारवाणी समुदायका केही मतदातासँग कुरा गरेका थियौं। त्यही क्रममा भेटिए, मनोज।

    उनले यहाँका धेरै मारवाणीको भोट संघीय समाजवादीका मेयर उम्मेदवार विजय सरावगीलाई जाने बताए। सरावगी मारवाडी भएकाले समुदायको ८० प्रतिशत भोट पाउने मनोजको आकलन छ। बाँकी २० प्रतिशतले भने कांग्रेसलाई भोट हाल्ने उनले बताए।

    ‘व्यापारीहरुको आर्थिक सुरक्षा र सहर व्यवस्थित बनाउन सरावगीले काम गर्छन् भन्नेमा ढुक्क छु,’ उनले भने, ‘त्यसैले उनलाई मेरो समर्थन छ।’

    मनोजले भनेजस्तै सरावगी र कांग्रेसका उम्मेदवार अजय द्विवेदीबीच मारवाडी भोट बाँडिने धेरैको बुझाइ छ। द्विवेदीले बजार क्षेत्रको मारवाडी भोट कति धेरै ल्याउँछन् भन्नेमा उनको जित निर्भर देखिन्छ।

    हामी मनोजको पसलबाट दुई घर अगाडि बढ्यौं। केही युवा चुनावी गफमा मग्न थिए।

    ‘मेयरमा कसलाई भोट दिनुहुन्छ?’ हामीले सोध्यौं।

    उनीहरुले उम्मेदवारका नाम भने।

    यहीबीच मुरली जलान नाम गरेका व्यक्ति आए। उनी सरावगीलाई समर्थन गर्दा रहेछन्।

    ‘मलाई लाग्छ उनैले जित्छन्,’ उनले भने, ‘तपाईंले के बुझ्नुभएको छ?’

    हामीले त्यही समूहमा टिपेका नाम देखाइदियौं। उनीसहित समूहमा सात जना थिए। एक जना मुस्लिम थिए भने छ जना मारवाडी। छमध्ये आधाले द्विवेदी र आधाले सरावगीलाई भोट दिने थाहा पाएर उनी मुस्कुराए। मुस्लिम युवाले भने रहबर अन्सारीलाई भोट दिने बताए। जातीय हिसाबभन्दा युवा र राम्रा उम्मेदवार भएकाले रहबरलाई आफ्नो समर्थन रहेको उनको जिकिर थियो।

    उद्योग वाणिज्य संघ पर्साका पूर्वअध्यक्ष ओमप्रकाश शिकारियाका अनुसार मारवाडी व्यापारीहरुको भोट राजनीतिकभन्दा आर्थिक सुरक्षा एजेन्डा र दृष्टिकोण भएका दल वा उम्मेदवारलाई जान्छ।

    ‘स्थानीय निर्वाचनमा सिद्धान्त र स्वार्थ दुई कुराले डोहोर्‍याउँछ। चिनजान छ भने स्वार्थले, नभए सिद्धान्तले,’ उनले भने, ‘व्यापारीहरु बढीजसो राजनीतिमा ब्याकसिटमा बस्थे। यसपटक फ्रन्टसिटमा आएका छन्, त्यसैले पनि मारवाडी भोट नबाँडिने कुरै भएन। व्यापारीहरुबीच चाहिँ कांग्रेसको राम्रो पकड छ।’

    झन्डै ७ देखि ८ हजार मारवाडी मतदाता रहेको वीरगन्जमा त्यसको २० देखि ३० प्रतिशत भोट कांग्रेसलाई जाने उनले बताए।

    हामीले कुरा गरेका कतिपय मारवाडीले विजय सरावगी मधेसी दलबाट उठेको चित्त नबुझाएको पाइयो। कपडा व्यापारी अर्जुनलाल अग्रवाल तिनैमध्ये एक हुन्।

    ‘६/६ महिनासम्म बोर्डर बन्द गरे। चीनबाट आएका सामान बोर्डरमै थन्किए। अब तिनै मधेसी पार्टीलाई भोट कसरी दिने? बरु कांग्रेसलाई समर्थन गर्छन्,’ उनले भने, ‘कांग्रेसले राम्रो केही गरेको छैन, तर नराम्रो पनि केही गरेको छैन।’

    अर्का व्यापारी सुरेन्द्र अग्रवालको यसमा सहमति छ।

    ‘मधेस बन्द बेला व्यापार भएन। तर, कुनै घरबेटीले हामीलाई भाडा छुट दिएनन्। न कुनै बैंकले ऋणको ब्याज छुट नै दियो,’ उनले भने, ‘त्यसैले पनि मधेसीभन्दा कांग्रेसलाई भोट जाने सम्भावना छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij