आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आणविक हतियार नियन्त्रण गर्न नेपाल सहमत, महराले गरे हस्ताक्षर

  • प्रकाशित मिति : बिहिबार, अशोज ५, २०७४



  • काठमाडौं, असोज ५ । नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ ।

    संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गरे ।

    सोही अवसरमा उनी असंलग्न अन्दोलनमा सहभागी मुलुक (जी ७७) मन्त्रिस्तरीय बैठकमा सहभागी भए । उक्त बैठकको उद्देश्य ‘अन्तर्राष्ट्रिय कानून तथा मानव अधिकारको उल्लंघनमा सर्वसम्मत अनिवार्यताको मापन’ रहेको छ ।

    बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले असंलग्न आन्दोलनमा नेपालको आधिकारिक धारणा प्रस्तुत गर्दै विश्वमा देखिएका मतभिन्नतालाई वार्तामार्फत सुल्झाउनुपर्ने बताए ।

    त्यसलगत्तै उनी ‘भियना कार्यक्रमको कार्यान्वयनमा गतिशीलता तथा दिगो विकासका लागि २०३०’ भन्ने मुख्य मुद्दामा आधारित भूपरिवेष्टित विकासशील मुलुकको १६औं वार्षिक मन्त्रिस्तरीय बैठकमा सहभागी भए । बैठकमा परराष्ट्रमन्त्री महराले अन्तर्राष्ट्रिय व्यापारमा एलएलडिसीको अर्थपूर्ण सहभागिताका लागि अन्तर्राष्ट्रिय सहयोगको मापन आधिकारिक मात्र नभई साझेदारी, प्रविधि हस्तान्तरण र लगानीमा पनि वृद्धि गर्नुपर्ने बताए ।

    त्यसपछि उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आयोजना गरेको संयुक्त राष्ट्र संघको शान्ति स्थापनासम्बन्धी उच्चस्तरीय खुला बहसमा भाग लिए ।

    सो बैठकलाई सम्बोधन गर्दै उनले नेपाल शान्ति स्थापनार्थ सेना तथा प्रहरी पठाएर सहयोग गर्ने विश्वकै छैठौं ठूलो मुलुक भएको बताए ।

    परराष्ट्रमन्त्री महराले शान्ति स्थापनामा खटिएकाहरुको सुरक्षा र नागरिकको सुरक्षाको जिम्मेवारीमा उनीहरुलाई प्रभावकारी बनाउन तथा सार्वभौमिक अखण्डतामा कुनै अतिक्रमण नगरीकन सुरक्षाको प्रतिबद्धता प्रदान गर्ने उच्चस्तरीय प्रतिवेदनको कार्यान्वयनमा पुनः प्रतिबद्धता व्यक्त गरे ।

    सोही दिन उनी दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी भए । सो बैठकमा मन्त्री महराले दक्षिण–दक्षिणको सहकार्यबाट मुख्यगरी नवीन कार्यको खोजी तथा सन् २०३० को रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने धारणा राखे ।

    त्यस अवसरमा उनले बंगलादेशका प्रधानमन्त्री, इथोपियाका राष्ट्रपतिलगायत अन्य मुलुकका नेतासँगै ‘साउथ–साउथ एक्सन’ नामक प्रकाशनको विमोचन गरे ।

    सोही अवसरमा अफ्रिकी मुलुक नाइजरसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ । परराष्ट्रमन्त्री महरा र नाइजरका विदेशमन्त्री इब्राहिम याकुबुले सहमतिपत्रमा हस्ताक्षर गरे । योसँगै नेपालले विश्वका १५१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

    यसै अवसरमा परराष्ट्रमन्त्री महराले ओमानका विदेशमन्त्री युसुफ विन अलावी विन अब्दुलाहसँग भेटवार्ता गरे । त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    महासभाकै क्रममा उनीसँग बेलायतका एशिया प्रशान्त हेर्ने राज्यमन्त्री मार्क फिल्डले शिष्टाचार भेट गरे । सो अवसरमा द्विपक्षीय चासो र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    महासभामा भाग लिन आएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका विभिन्न मुलुकका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij