आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आपसी द्वन्द्वका कारण सप्तरी माओवादीको प्रतिकुल बन्यो

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • काठमाडौं ।  नेकपा माओवादी केन्द्र प्रतिकुल हुँदा, सप्तरी अनुकुल हुन्छ, माओवादी केन्द्र अनुकुल हुँदा सप्तरी प्रतिकुल हुन्छ । माओवादी केन्द्र शान्ति प्रकृयामा आएदेखि त्यस्तै देखिएको छ ।

    २०६४ सालको पहिलो सविधानसभा चुनावमा माओवादी पहिलो पार्टी हुँदा अर्थात देश माओवादीमय हुँदा सप्तरीमा एउटा पनि सीट जित्न सकेका थिएन । तर, २०७० सालमा देशको अवस्था माओवादी हकमा प्रतिकुल हुँदा दोस्रो सविाधनसभा चुनावमा सप्तरीमा तीन सीट जितेको थियो ।

    त्यस्तै, अहिले मधेश माओवादीको हकमा अनुकुल हुँदा सप्तरी प्रतिकुल भयो अर्थात स्थानीय तहको चुनावमा एउटा पनि सीट जित्न सकेन ।
    यस्तो किन ?

    यसको मुख्य कारण पार्टीको केन्द्र नेतृत्व र स्थानीय नेतृत्वबीच तालमेल हुन नसक्नु हो । जहिले त्यहाँको पार्टीमा गुटबन्दी भएर विवाद भइरहनुले पनि कमजोर भएको देखिन्छ । २०६४ सालको सविधानसभा चुनावमा कुनै सीट नजिते पनि माओवादीले त्यहाँ ३१ हजार ४० मत ल्याएको थियो ।

    २०७० सालको दोस्रो सविधानसभा चुनावमा निर्वाचन क्षेत्र नं. १, २ र ३ जितेको थियो । त्यो चुनावमा ३० हजार ८१६ मत ल्याएको थियो । त्योबेला सांसद उमेश यादव जिल्ला इन्चार्ज थिए । उनी इन्चार्ज भएको बेलामा जिल्लामा थुप्रै गतिविधिहरु भएको थियो । भातृ संगठन परिचालन हुनुको साथै गतिविधि तथा पार्टी कार्यालयहरु सञ्चालनमा थियो तर अशोक मण्डल इन्चार्ज भएपछि ती सबै हराएको स्थानीय पत्रकारहरु बताउँछन् । अशोक मण्डल इन्चार्ज भएपछि पार्टीको गतिविधि शून्य नै भएको थियो ।

    तर, यो स्थानीय चुनावमा ‘स्वीप’ नै भयो । नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा तहमा १६४ वडा रहेका छन् । तीमध्ये माओवादी केन्द्रले १४ वटा वडा जितेको भने तह एउटा पनि जित्न सकेन । कसैको प्रतिस्पर्धामासमेत आउन सकेन ।

    के भन्छन् नेताहरु ?

    यस्तो अवस्था हुनुमा मुख्य पार्टीभित्रको आन्तरिक कमजोरी नै हो । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं सप्तरीका सांसद उमेश यादव भन्छन्,– ‘दोस्रो सविधानसभा सम्पन्न भएयता जिल्ला कमिटिको बैठक कहिल्यै बसेन, टिकट वितरण गर्नका लागि एकपटक बस्यो तर त्यसअघि कहिल्यै बैठक बसेन, पार्टीको गतिविधि नै शून्य भएको कारणले नतिजा यस्तो आएको हो ।’

    तर, जिल्ला इन्चार्ज एवं सांसद अशोक मण्डल (अमर) भन्छन्– ‘पार्टीमा कुनै आन्तरिक विवाद छैन, आवश्यक परेको बेला जहिल्यै नै बैठक बसेको हो ।’ जिल्लामा पार्टी हार्नुको मुख्यमा कारणमा उनले फोरम नेपाल र राजपा नेपालले रकमको चलखेल गरेको कारण नै नरहेको दावी गरे ।

    फोरम र राजपाले आफ्ना पार्टी लगायत अन्य दलको उम्मेदवार नै खरिद गरेको दावीसमेत उनले गरे । एउटा उम्मेदवारलाई पाँच पाँचलाख रुपियाँ ती दलहरुले दिएर खरिद गरेको प्रमाणहरु फेला परेको दावी गर्दै उनले पार्टी नेतृत्व पनि त्यतिकै दोषी रहेको आरोप लगाए ।

    पार्टी नेतृत्व पक्षले अरु जिल्लाको तुलनामा सप्तरीप्रति ध्यान नदिएको कारणले यो अवस्था भएको गुनासो गरे । ‘यो चुनावको समयमा सप्तरीमा एउटा मन्त्री बनाउँदा राम्रो हुन्थ्यो, मोरङलाई बनाएर के फाइदा भयो,’ एक नेताले भने, ‘ओली नेतृत्वको सरकारको पालामा एउटा मन्त्री सप्तरीले प्राप्त गरेको थियो, त्यसअघि पनि पाएका थिएन र अब आउने दिनमा पनि नपाउने सम्भावना रहेको गुनासोहरु भइरहेको छ ।’

    टिकट वितरणमा पनि अनेक लफडाहरु पनि सप्तरीमा भएको थियो । कतिपय ठाउँमा माओवादी केन्द्रले नै माओवादी केन्द्रलाई हराएको पनि गुनसोहरु सुन्नमा आएको छ । जित्ने मान्छेलाई टिकट नदिएर सबैले आआफ्ना मान्छेलाई नै टिकट दिलाउन मारामार गरेको थियो ।

    केन्द्रबाट टिकट वितरण गएका पार्टीका नेताहरुको कुनै निर्णय हुन दिएन । त्यहाँका तीनजना सांसदले आआफ्नो क्षेत्रमा आफै टिकट वितरण गर्ने अडानमा बसे । अन्त्यमा केन्द्रीय प्रतिनिधि केही निर्णय नै गरिकन फर्केका थियो । त्यसमा केन्द्रबाट गएका नेता देवनाथ यादवले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

    सप्तरी र सिरहाको टिकट वितरणको जिम्मेवारी पाएका केन्द्रीय कार्यालय सदस्य विश्वनाथ साह भन्छन्, ‘सप्तरीमा यसरी स्वीप हुनु दुखद कुरा हो, यसमा हामी धेरै नै दुखी छौ, यसको जिम्मेवारी हामीले नै लिनुपर्छ तर यस्तो किन भयो यसको बारेमा छानविन गरेर मात्र केही भन्न सकिन्छ ।’ मतगणना सकिएपछि सप्तरीको विषयमा पार्टी गम्भीर भएर समिक्षा गर्ने बताउँदै उनले टिकट वितरणमा जिल्लास्तरबाटै अलिकति कमिकमजोरी भएको बताए ।

    सप्तरीमा लामो समयदेखि पत्रकारिता गर्दै आएका श्याम सुुन्दर यादव भन्छन्, ‘माओवादीको यस्तो हार पार्टीको आन्तरिक कारणले नै भएको हो ।’ यति ठूलो पार्टीको सप्तरीमा आफ्नो कार्यालय पनि नभएको उनले बताए ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मात्र सप्तरी गएर दुई दिन बसे तर त्यसबाहेकका अरु केन्द्रीय नेताहरु कोही पनि फर्केर सप्तरी गएका छैनन् । काँग्रेस, एमालेका केन्द्रीय नेताहरु पटक पटक सप्तरी पुगेका थिए ।

    पत्रकार यादवले भने– ‘चुनावको समयमा आएर माओवादी केन्द्रले जुन गतिविधिहरु जुन क्रियाकलापहरु गर्नुपर्ने थियो, तीमध्ये केही गरेनन्, बरु आपसीद्वन्द्वमा नेताहरु रमाईरहे र मतदातालाई खुल्ला छाडिदिए त्यो पनि हारको एउटा कारण हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij