आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गगनको क्षेत्रमा चुनावी शक्ति सन्तुलन

  • प्रकाशित मिति : मङ्लबार, अशोज २४, २०७४



  • एमाले-माओवादी चुनावी तालमेल टुंगो भएपछि आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई त्यसले कति क्षति पुर्‍याउँछ भन्ने आम चासो र चर्चा सुरू भएको छ।

    त्यसमा पनि कांग्रेसका को-को ठूला नेताहरूको जीत यो गठवन्धनका कारण घरापमा पर्न सक्छ भन्ने कौतुहलता छ।

    कुनै पनि चुनावी परिणामको आकलन सजिलो हुन्न। पछिल्ला केही महिनामा स्थानीय निर्वाचन भएकाले मतदाताको ‘मुड’ केही हदसम्म त्यसमा प्रतिविम्बित छ। चार वर्षअघि सम्पन्न संविधान सभा चुनाव परिणामले पनि आउने चुनावको विश्लेषणमा केही सहयोग पुर्‍याउँछ।

    संविधान सभा र स्थानीय निर्वाचनका साथै सम्भावित उम्मेदवारलाई हेर्दा त्यो क्षेत्रमा तत्काल चुनावी शक्ति सन्तुलन कस्तो छ भनेर विश्लेषण गर्न सकिन्छ।

    यहाँ हामी गगन थापाले चुनाव लड्ने काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी शक्ति सन्तुलन विश्लेषण गर्नेछौं।

    थापा २०७० सालको संविधानसभा चुनावमा क्षेत्र नम्बर ४ बाट पहिलोपटक लडेका थिए। उनले जम्मा २२ हजार ३३६ मत ल्याएका थिए।

    उनका निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार निर्मल कुँइकेलले ९ हजार १३५ मत ल्याएका थिए भने माओवादी उम्मेदवार नन्द किशोर पुनले ६ हजार ४ सय ६२ मत पाएका थिए।

    सो चुनावमा सबभन्दा धेरै मत ल्याउने र आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई सबभन्दा धेरै मतान्तरले जित्ने उनी दोस्रो सांसद हुन्। गत चुनावमा सबभन्दा धेरै मत प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएका थिए भने सबभन्दा धेरै मतान्तरले बाबुराम भट्टराई बिजयी भएका थिए।

    थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १३ हजार २ सय १ मतले पराजित गरेका थिए।

    यसपालि फरक पृष्ठभूमीमा चुनाव हुँदैछ। एमाले र माओवादीले चुनावी तालमेल गरेका छन्।

    अब थापाले यी दुई पार्टीका संयुक्त उम्मेदवारलाई जित्नुपर्ने छ।

    २०७० सालको चुनावमा एमाले र माओवादीले पाएको जम्मा मत जोड्दा १५ हजार ५ सय ६५ मात्र मत पुग्छ। ०७० सालको चुनाव परिणाम मात्र हेर्ने हो भने थापाले एमाले र माओवादीका संयुक्त उम्मेदवारलाई पनि सजिलै जित्ने देखिन्छ।

    तर पछिल्लो स्थानीय निर्वाचनमा यो क्षेत्रको चुनावी शक्ति सन्तुलन धेरै फेरिएको छ। यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर १, ७, ८ र ३० पर्छन्। त्यस्तै बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा पर्छन्।

    काठमाडौँ महानगरका ४ वटा वडामा कांग्रेस वडाअध्यक्षहरूले जम्मा ७ हजार ७ सय २८ मत ल्याएका थिए। त्यस्तै बुढानीलकण्ठ नगरपालिकाका ८ वडामा कांग्रेस वडाअध्यक्ष उम्मेदवाहरूले जम्मा ६ हजार ३ सय ४८ मत ल्याएका थिए।

    काठमाडौं र बुढानीलकण्ठको मत जोड्दा कांग्रेसका पक्षमा १४ हजार ७६ मत पुग्छ। यिनै वडामा एमाले र माओवादीका वडाअध्यक्षहरूले पाएको मत जोड्ने हो भने २० हजार ७ सय ४८ मत पुग्छ। त्यसमध्ये ४ हजार मत माओवादीको हो।

    अर्थात, पछिल्लो स्थानीय निर्वाचनमा ४ नम्बर क्षेत्रमा एमाले-माओवादीले कांग्रेसभन्दा ६ हजार ६ सय ७२ मत धेरै ल्याएका थिए।

    गत स्थानीय निर्वाचनमा काठमाडौं महानगपालिकाका वडामा विवेकशील र साझा पार्टी पनि महत्वपूर्ण ‘प्लेयर’ थिए। वडामा यी पार्टीका खासै उम्मेदवार थिएनन्। तर मेयरमा यी दुई पार्टीका उम्मेदवारको मत जोड्दा ५ हजार ५ सय मत पुग्छ।

    यसपालि पनि विवेकशील‍-साझाले ४ नम्बर क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ। मेयरमा धेरै मत ल्याए पनि पछिल्लो संभिधानसभा निर्वाचनमा भने विवेकशील उम्मेदवारले जम्मा ४ सय २२ मत मात्र पाएका थिए।

    यसपालि विवेकशील-साझा उम्मेदवारले कति मत ल्याउँछन् यकिन छैन। हामीले गरेको स्थानीय निर्वाचनको मतपरिणाम विश्लेषणमा विवेकशील-साझाले एमालेभन्दा कांग्रेसको धेरै मत काटेको थियो।

    त्यसको अर्थ गगन थापाले यसपालि ४ नम्बर क्षेत्रमा चुनाव जित्न एमाले र माओवादीको मत मात्र तान्नुपर्ने छैन, विवेकशील-साझालाई गएको मत पनि फर्काउनुपर्नेछ।

    विवेकशीललाई एकछिनका लागि नगन्ने हो भने, थापाले एमाले-माओवादीको ४ हजार जति मत तान्नुपर्नेछ।

    विवेकशील-साझाले जति मत बढायो, उनले थप मत तान्नुपर्नेछ।

    २०७० सालको चुनावमा थापाले प्रशस्त कांग्रेस इतर मत तानेका थिए। उदाहरणका लागि २०६४ सालको चुनावमा क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार सुप्रभा घिमिरेले १३ हजार ४ सय ५१ मत ल्याएर बिजयी भएकी थिइन्। उक्त चुनावमा एमालेकी बिद्या देवी भण्डारीले ९ हजार ८ सय ४२ मत ल्याएकी थिइन्।

    २०७० सालको चुनावमा पनि एमालेको मतमा खासै परिवर्तन देखिएन। एमाले उम्मेदवार निर्मल कुँइकेलले ९ हजार १ सय ३५ मतनै ल्याएका थिए।

    जबकि, गगन थापाले सुप्रभाले ल्याएको भन्दा झन्डै ९ हजार मत बढाएका थिए।

    एमाले माओवादी गठवन्धनसँगै काठमाडौंको ४  नम्बर क्षेत्रमा पक्कै पनि थप प्रतिस्पर्धा बढ्नेछ तर थापाको अहिले कायम लोकप्रियता हेर्ने हो भने, यहाँ उनलाई हराउन सजिलो छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij