प्रकाशित मिति : बिहिबार, कार्तिक २, २०७४
आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् ।
यसअघि, २९ असोजमा समानुपातिकतर्फ मनोनयन सम्पन्न भइसकेको छ भने ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन भएसँगै निर्वाचनको सुनिश्चितता हुने भन्दै त्यसलगत्तै राजीनामा दिने तयारी माओवादी मन्त्रीहरुको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनको सुनिश्चितता हुनासाथ माओवादी मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने बताइन् ।
माओवादी केन्द्रका मन्त्रीले मंगलबार नै राजीनामा दिएर सरकारबाट बाहिरिने तयारी गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन मिति पछि सार्ने कदम चाल्न लागेको आशंका गर्दै अन्तिम समयमा राजीनामा दिनबाट पछि हटेका थिए ।
बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले आफूहरुलाई सरकारमा बस्न कति पनि मन नभएको भन्दै ५ कात्तिकसम्ममात्र सरकारमा बस्ने बताए ।
‘हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन, हामी ४ कात्तिकमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन सकिएलगत्तै ५ कात्तिकसम्म सरकारमा बस्छौं । त्यसपछि सरकार छोड्छौं’–राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले भने ।
राजधानी दैनिकबाट साभार ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij