आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा दलहरु

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३, २०७४



  • काठमाडौं, कात्तिक ३ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने चटारोमा छन् ।

    आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत् पहिलो चरणको निर्वाचनका लागि दलहरुले शुक्रबार (आजैं उम्मेदवार चयन गरिसक्ने गरी गृहकार्यमा जुटेको जनाएका छन् ।

    आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

    त्यस्तै, मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेस र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ ।

    पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले यही कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

    दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति कात्तिक १६ गते रहेको छ ।

    नेपाली कांग्रेसले शुक्रबारै उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । केही दिनदेखि निरन्तर बस्दै आएको कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले सबै उम्मेदवारको नाम टुंगो लगाउने नेता एनपी साउदले जानकारी दिए ।

    कांग्रेसले यसअघि केही जिल्लाका उम्मेदवारको नाम टुंगो लगाइ सार्वजनिकसमेत गरिसकेको छ ।

    शनिबार (भोलि) कात्तिक ४ गते भाइटीका भएकाले दलहरु शुक्रबारै उम्मेदवार टुंगो लगाउने गरी कसरतमा जुटेका हुन् ।

    मुलुकमा यतिखेर प्रमुख सत्तारुढ दल कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन र प्रमुख विपक्षी दल नेकपा एमालेको नेतृत्वमा वाम गठबन्धन बनाउने कसरतमा अन्य दलसहित गृहकार्य र बहस सुरु भएको छ ।

    यसपटक दलहरुबीच भएका चुनावी गठबन्धनका कारण अन्य दललाई पनि मिलाउनुपर्ने भएकाले उम्मेदवार चयन गर्न सकस भएको हो ।

    एमालेले पनि शीघ्र उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवारको टुंगो लगाउने गरी सो पार्टीको नेतृत्वमा गठन भएको वाम गठबन्धनअन्तर्गत् एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक जारी रहेको र सम्भवतः शुक्रबारै उम्मेदवार टुंगो लगाउने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन हुनेछ ।

    त्यस्तै, सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेशसभा सदस्यका लागि निर्वाचन हुनेछ ।

    त्यसैगरी, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा प्रजातान्त्रिकलगायत दल पनि उम्मेदवार चयन गर्न व्यस्त छन् ।

    प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने दलहरुले यसअघि असोज २७ गते नै आ–आफ्नो पार्टीको बन्दसूचीको नामावली आयोगमा बुझाइसकेका छन् ।

    निर्वाचनको तयारीका लागि आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका आवश्यक व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए ।

    आयोगले समानुपातिक निर्वाचनका लागि शुक्रबारसम्म एक करोड मतपत्र छापिसकेको जनाएको छ ।

    साथै, अन्य निर्वाचन सामग्री सम्बन्धित क्षेत्रमा पुर्‍याउने, निर्वाचन सचेतना कार्यक्रम जनस्तरसम्म लैजाने, निर्वाचन अधिकृत नियुक्त गर्नेलगायत सम्पूर्ण तयारी भएको आयोगले जनाएको छ ।

    संविधानको नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कुल ७५३ ओटा स्थानीय तहको निर्वाचन यसअघि सम्पन्न भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij