प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०७४
वाम गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रका नेता÷कार्यकर्ताले विभिन्न जिल्लामा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध ‘विद्रोह’ गरेका छन्।
कतिपय ठाउँमा एकअर्काविरुद्ध बागी उम्मेदवारी परेको छ भने कहिँ पार्टीभित्रै अर्को पक्षका नेता बागी उम्मेदवार बनेका छन्।
ठाउँठाउँमा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध ‘विद्रोह’ भएपछि निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न दिएको समयसीमाभित्र बागी उम्मेदवारलाई मिलाएर आधिकारिक उम्मेदवारको पक्षमा माहौल बनाउन गठबन्धनका नेताहरु लागिरहेका छन्। निर्वाचन आयोगले बुधबार उम्मेदवारी फिर्ता लिने समय तोकेको छ।
३२ जिल्लाका ३७ प्रतिनिधि सभा सदस्यमध्ये एमाले र माओवादीले २१ र १६ सिट बाँडेका थिए। त्यस्तै ७४ प्रदेश सभा सिटमध्ये एमालेको भागमा ४१ र माओवादी केन्द्रले ३३ सिटमा उम्मेदवारी दिने दुई पार्टीबीच केन्द्रीय स्तरमा सहमति भएको थियो।
तर पार्टीले केन्द्रमा गरेको सो सहमति तल्लो तहसम्म पुग्दा कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण बनेको छ।
दुबै पार्टीका नेता/कार्यकर्ताले मध्यपश्चिमका पहाडी जिल्लामा केन्द्रीय निर्णयविरुद्ध ‘विद्रोह’ गर्दै उम्मेदवारी दिएका छन्।
आजका अन्य समाचारहरू:
मुगुमा एमाले र माओवादी दुबैले केन्द्र र प्रदेशमा फरक फरक उम्मेदवार उठाएका छन्। दुई पार्टीबीच मुगुको प्रतिनिधि र प्रदेश सभा दुबैमा एमालेलाई सघाउने निर्णय भएको थियो।
तर यहाँ माओवादी नेता/कार्यकर्ताले पनि केन्द्र र प्रदेश दुबैमा उम्मेदवारी दिएका छन्।
गठबन्धन उम्मेदवारको रुपमा एमालेबाट प्रतिनिधिसभामा गोपालबहादुर बम र प्रदेशसभा–१मा दानसिंह परियार तथा प्रदेश सभा– २ मा चन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् भने माओवादीबाट प्रतिनिधि सभामा सुरबहादुर बुढा र प्रदेशसभा– १ मा सन्तोषकुमार मल्ल र क्षेत्र नम्बर २ मा मंगलबहादुर शाहीलाई उम्मेदवार बनेका छन्।
वाम गठबन्धनको सहमतिअनुसार जाजरकोटमा प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशका दुवै सिट एमालेको भागमा परेको थियो तर यहाँ एमालेले प्रतिनिधि सभामा पनि उम्मेदवारी दिएको छ। प्रतिनिधिसभाका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतविरुद्ध एमालेका गोविन्द्रविक्रम शाहले उम्मेदवारी दिएका छन्।
त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ मा एमालेका निरज आचार्य र माओवादी केन्द्रका गणेशप्रसाद सिंह र क्षेत्र नम्बर २ मा एमालेका करबीर शाही र माओवादी केन्द्रका नरबहादुर कार्की उम्मेदवार बनेका छन्।
हुम्ला, कालिकोट, बझाङमा वाम गठबन्धनका उम्मेदवार विरुद्ध उम्मेदवारी परेको छ।
रुकुम पूर्वमा माओवादीका नेताले नै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनले रुकुम पूर्वमा माओवादी उम्मेदवार उठाउने सहमति गरको थियो।
टिकट वितरण जनभावनाअनुसार नभएको भन्दै माओवादीका २ नेताले प्रतिनिधिसभा र प्रदेशसभा (क) बागी उम्मेदवारी हालेका छन्।
रामेछापमा पनि माओवादी उम्मेदवारविरुद्ध सोही पार्टीका अर्का नेताले बागी उम्मेदवारी दिएका छन्। रामेछापमा वाम गठबन्धनका आधिकारीक उम्मेदवार श्याम श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङले उम्मेदवारी दिएकी छन्। प्रदेश सभामा पनि दुबै क्षेत्रमा माओवादी नेता÷कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
एमाले महासचिव ईश्वर पोखरेलले ‘विद्रोही’ उम्मेदवारलाई मिलाउन अलिअलि समस्या देखिएको बताए।
‘हामी सबै ठाउँमा के भएको हो भनेर सूचना लिँदैछौं, जिल्ला तहमा ‘कम्युनिकेसन ग्याप’ भएर समस्या भएको छ भने कतिपय ठाउँमा गृहकार्य नपुगेको देखिन्छ। उम्मेदवारी फिर्ता लिने दिनसम्म मिलाउने प्रयास जारी छ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij